व्यङ्ग्य कविता : आऊ मिलेर घाँस चरौँ
-टङ्क आचार्य
बुद्धिमा बिर्को भरौँ
आङ कन्याऔँ छारो उडाऔँ
संसारभन्दा फरक परौँ
जाबो दुई खुट्टाले मात्र के टेक्नू
अब चारै पाउ टेक्ने सुर गरौँ
आऊ मिलेर घाँस चरौँ
खेतमा अन्न किन फलाउनू
कुविचार रोपौँ र भ्रम छरौँ
पुर्खाहरूलाई तिरस्कार गरौँ
आधुनिकता फलाकौँ
भावी सन्ततिले नसिक्न लायक
गतिलो उदाहरण बनौँ
के खन्नु खेत बारी र माटो
मयल र मोसोले चोसो भरौँ
आऊ मिलेर घाँस चरौँ।
आफूले जानिएन भन्दैमा
अरुले भनेको नटेरौँ
आफ्नो र अर्काको छुट्याएर
रुढिवादी नबनौँ
नयाँ नयाँ वादको भुइँफुट्टा बनौँ
एक्काइसौँ शताब्दीमा पनि
केको एकताको डोरीमा लठारिनु
अलग – अलग रेखा कोरौँ
टुक्रा – टुक्रा बनौँ
फिस्टाको फिलो भाग गरौँ
चिरहरण होऊँ चिराचिरा परौँ
आऊ मिलेर घाँस चरौँ ।
आऊ बेइज्जत कमाऔँ
पीडा, रोदन र क्रन्दन बनौँ
अरुले नै घोट्ने र
अरुकै निधारको चन्दन बनौँ
दुनियाँले चिताउन नकस्ने
असजिलो बन्धन बनौँ
लडेको लोटा नउठाऔँ
वेदान्त दर्शनको खेती गरौँ
उँभो चन्द्रमा अरुले नै चढे
भिन्दै गरौँ उँधो झरौँ
टाउकाको गिदीको वास्ता नगरौँ
छाती र नाइटो हुँदै तल झरौँ
उभिँदा अरुले देख्लान्
कृपया घोप्टो परौँ
आऊ मिलेर घाँस चरौँ।