…यहाँ अझै धेरै गर्न बाँकी छ !
सयाैँ पटक मैले पसिना र रगतको
सिँचाइ गरेर फलाएकी
छु एकमुठ्ठी सुनका
झोप्पाहरु
कयौं पटक बगाएकी छु
आँखाबाट झरना
मैले टुकी नभएको
उज्यालोमा चलाएकी
छु खुट्टा रेटिएका अपाङ्ग
कलम !
मैले ताराहरु बटुलेर
लेखेकी छु
धेरै पटक
माटोको नाम
मैले हिलाेको
गाजल लगाएको छु
धुलोको पाउडर घसेकी छु
निचोरेर एउटा लालिगुँरास
आेठको लालि हराउन दिएकी
पनि त छैन
मैले घाम नपुगेको
भुगोलमा पुगेर
कयौं रातहरु बिताएकी छु !
टिमुर पानीसँग परिचय छ
मेरो जिब्रोको
पत्थरसँग मित्रता छ
यी हातहरुको
पानीसँग रमाउँछ मेरो
पेट
खुट्टा नभएका पहाडहरुसँग
हिड्छ यो मन
आँखा नभएको बूढो
पीपलसँग जुनेली रातमा
संवाद गर्छन् यी आँखाहरु
हो, रहरहरु थुप्रै छन् यो मनमा
दु:खसँग घुलिएका जहरहरु
पनि छन्
पानीले पखाल्न नसकिने
पिरामिड जस्ता सफरहरु छ
तर विदेशीएको छैन मन
माटोको विछ्याैंनामा
हावाको सिरकसँग
मेरा पैतालाका डोबहरु
र मेरा पसिनाहरु !
सागरहरु भएको
माटोमा मस्त निदाई
रहेछु म
यो माटो मेरो हो
यो देश मेरो हो म मनै हुँ
लाग्छ मैले यहाँ
अझै धेरै गर्न बाँकी छ !!!!!