सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता स्थगित - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता स्थगित



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता स्थगित भएको छ । शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो ।

तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय सारिएको हो । आन्तरिक छलफलका लागि भन्दै वार्ता तत्कालका लागि स्थगित गरिएको बताइएको छ ।

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधि छलफलका लागि सिंहदरबार पुगेका थिए । तर, बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।

“दुवै पक्ष आन्तरिक तयारीमा छ । वार्ताले आकार लिएको छैन । हामी आन्दोलन परिचालन समितिको बैठक बस्छौँ । वार्ता समिति बनाउँछौँ,” उनले भने, “यताबाट वार्ता समिति बनेको छ । आन्तरिक गृहकार्यमा जान्छौँ । सरकार पनि आन्तरिक गृहकार्यमा छ । त्यसपछि औपचारिक संवाद सुरु हुन्छ । आन्दोलन जारी छ ।”

उनले वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन जारी रहने बताए । सरकार र शिक्षकबीचको वार्ताको अर्को समय निर्धारण गरिएको छैन ।