सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८९) - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८९)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथाष्टदशोध्यायः

अर्जुन उवाच
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम्।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन।।१।।

सोध्छन् अर्जुन तत्त्व के छ भगवन् ! सन्न्यास औ त्यागको
सुन्ने चाह छ त्यो पृथक् गरि सबै आज्ञा भए नाथको।
सन्न्यासार्थ छ त्याग त्याग पनि त्यै सन्न्यासको बोधक
यस्‌ले भेद नछुट्टिँदा यी दुइमा साह्रै पऱ्यो अल्‌मल।।१।।

श्रीभगवानुवाच
काम्यानां कर्माणां न्यासं सन्न्यासं कवयो विदुः।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः।।२।।

आज्ञा भो अनि कृष्णबाट तिमीले जुन् प्रश्न राख्यौ यहाँ
त्यस्‌को उत्तरमा विभिन्न मतको उल्लेख गर्छु यहाँ।
छोड्नू नै सब काम्य कर्म कतिले सन्न्यास हो भन्दछन्
आशा त्याग समस्त कर्मफलको त्याग् हो कुनै भन्दछन्।।२।।

त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे।।३।।
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः संप्रकीर्तितः।।४।।

दोषी हुन् सब कर्म त्याज्य सब छन् भन्छन् कुनै पण्डित
तप् औ दान र यज्ञकर्म कतिले अत्याज्य भन्छन् तर।
मेरो मत् पनि त्यागका विषयमा जस्तो छ भन्छू अब
त्यो त्यागै पनि हुन्छ तीन् किसिमको विस्तारले त्यो सुन।।३।।

यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम्।।५।।
एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च।
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम्।।६।।

गर्नैपर्दछ यज्ञ, दान्, तप रूप जो कर्म हुन् ती सब
पार्छन्, यज्ञ र दान तप् पुरुषको अन्तःस्करण् निर्मल।
यी कर्मै पनि आश छाडी फलको, आसक्ति त्यागी सब
गर्नुपर्दछ योग्य हुन्छ त्यहि नै भन्नेछ मेरो मत।।४।।

(क्रमशः)