सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८७) - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८७)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

कट्ववम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः।
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः।।९।।
यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।।

चर्को औ अमिलो, तीखो अति रूखो, पोल्ने र पीरो सब
व्याधि, शोक र दुःखदायक यिनै आहार हुन् राजस।
चीसो, बासी, अशुद्ध, शुष्क र जुठो दुर्गन्ध फैलाउने
चीज् हुन् तामस यिन्‌महाँ रुचि लिने हो तामसी गुण् हुने।।६।।

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते।
यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः।।११।।
अभिसंधाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरतश्रेष्ठ त यज्ञं विद्धि राजसम्।।१२।।

गर्नैपर्छ भनी बुझेर फलको आशा नराखी जब
कोही यज्ञ गरिन्छ शास्त्रविधिले त्यो यज्ञ हो सात्त्विक।
सेखी जित्‍न कि लक्ष्य राखी फलको जो गर्छ यज्ञादिक
मानिस् हो त्यही राजसी प्रकृतिको त् यज्ञ हो राजस।।७।।

विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।१३।।
देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्चते।।१४।।

श्रद्धा शास्त्रविधान छैन जसमा मन्त्रैबिना चल्दछ
भोजन्, दान र दक्षिणा पनि रहित् त्यो यज्ञ हो तामस।
देव, ब्राह्मण, विज्ञजन् र गुरुको पूजा तथा शुद्धता
हिंसा त्याग र ब्रह्मचर्य, ऋजुता तप् हुन् यिनै देहका।।८।।

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते।।१५।।
मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः।
भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते।।१६।।

हित्‌कारक्, प्रिय, सत्य औ नबिझिने वाणी तथा शास्त्रको
अध्यापन् अनि अध्ययन् गरिलिनू तप् हुन्छ यो वाक्यको।
मन्‌को निर्मलता, सुशीलपन, मन् वश्‌मा हुनु मौनता
राख्‍नू निर्मल भावना यी सब हुन् मन्‌का तपस्या कडा।।९।।

श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः।
अफलाकाङ्क्षिभिर्युक्तैः सात्त्विक परिचक्षते।।१७।।
सत्कारमानपूजार्थ तपो दम्भेन चैव यत्।
क्रियते तदिह प्रोक्तं राजसं चलमधुवम्।।१८।।

श्रद्धायुक्त मनुष्य योगसँग नै यी तीन् किसिम्‌को तप
फल्‌को आश नराखी गर्दछ भने त्यै तप् भयो सात्त्विक।
स्याबासी लिन, सेखी जित्‍न अथवा सम्मानका आशमा
अस्थिर् जो तप हुन्छ राजस भनी जानिन्छ त्यो लोकमा।।१०।।

(क्रमशः)