सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८३) - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८३)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते।।७।।

आसुर् मानिसले प्रवृत्तिपथ यो किंवा निवृत्तिपथ
बुझ्दैनन् र बनिन्छ लक्ष्य उनको आजीविका केन्द्रित।
भित्री-बाहिरी शुद्धता विषयमा औ सत्यनिष्ठामहाँ
तिन्‌को प्रेम हुँदैन शुद्धि र सदाचारि सत्कर्ममा।।५।।

असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम्।
अपरस्परसंभूतं किमन्यत्कामहैतुकम्।।८।।

ईश्वर छैन जगत् असत्य भनी आसुर् पुरुष् भन्दछ
यस्‌को कारक छैन स्त्री-पुरुषका संयोगले बन्दछ।
प्राणीका विषयोपभोग सुखको आनन्ददेखि अरू
यस्‌को सार्थकता कहाँ छ र ? भनी भन्छन् ती आसुर्‌हरू।।६।।

एतां दृष्टिमवष्टभ्य नष्टात्मानोल्पबुद्धयः।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतो
हिताः।।९।।

यस्ता कुत्सित धारणाहरू लिई अन्तःकरण् नष्ट छ
तिन्‌को बुद्धि अतीव मन्द छ तथा ती निर्दयी छन् सब।
लोकैको अपकारमा रुचि लिने ती आसुरी मूर्खले
लिन्छन् जन्म, अहित् गरी जगतको नाश् गर्नकै हेतुले।।७।।

काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः।
मोहाद्‌गृहीत्वासद्‌ग्राहान्प्रवर्तन्ते
शुचिव्रताः।।१०।।

कैले तृप्ति नपाइने विषयका सुख्‌मा भई लम्पट
अज्ञानी बिनबिच्चका मतहरू स्वीकार गर्दै सब।
पाखण्डी, अभिमान अन्धजन ती उन्मत्त भै घुम्दछन्
घिन्‌लाग्दो व्यवहार हुन्छ तिनको दुष्कर्म नै गर्दछन्।।८।।

(क्रमशः)