सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

न हि प्रपश्यामि ममापनुद्यात् यच्छोकमुच्छोषणमिन्द्रियाणाम्।
अवाप्य भूमावसपत्नमृद्धं राज्यं सुराणामपि चाधिपत्यम्।।८।।

एकच्छत्र समस्त विश्वभरिकै साम्राज्य पाए पनि
देवादि गण स्वर्गका वशमहाँ आई झुके तापनि।
मेरो शोक हटाउने किसिमको केही कुरो देख्तिनँ
शोक्‌ले इन्द्रियवर्ग निष्क्रिय भयो घुम्दै छ मेरो मन।।५।।

संजय उवाज
एवमुक्त्वा हृषीकेशं गुडाकेशः परंतप।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह।।९।।
तमुवाच हृषीकेशः प्रहसन्निव भारत।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिंद वचः।।१०।।

भन्छन् सञ्जय सुन्नुहोस् नृप ! यसो भन्दै गई आखिर
जे होस् नाथ म युद्ध गर्दिनँ भनी ती पार्थ लागे चुप।
यस्‌देखि पछि कृष्णले मुसुमुसु हाँसेर शोकाकुल
अर्जुन्‌लाई बुझाउँदै समरमा आज्ञा भयो यो सब।।६।।

श्री भगवानुवाच
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे।
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः।।११।।

जस्‌को शोक गरिन्न शोक उसकै गर्छौ तिमी अर्जुन !
गर्छौ पण्डितझैँ कुरा पनि म ता के हो कुरै बुझ्दिनँ।
पण्डित् भन्न मिनेल पार्थ ! किनकि छौ व्यर्थ नै चिन्तित
बाँचून् वा कि मरून् कुनै जगतमा गर्दैन शोक् पण्डित।।७।।

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम्।।१२।।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।

यस्‌भन्दा पहिले पनि म, तिमी औ यो राजवर्गै पनि
कैले कोही थिएन ठान्नु भुल हो, हुन्छौ पछाडि पनि।
जुन् रीत्‌ले बदलिन्छ जीवहरूको कौमार्य यौवन् जरा
त्यस्तै देह बदल्छ जीव, यसमा के शोक गर्ने वृथा।८।।

(क्रमशः)