सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७२) - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७२)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

महाभूतान्यहंकारो बुद्धिरव्यक्तमेव च।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचरा।।५।।
इच्छा द्वेषः सुखं दुःखं संघातश्चेतना धृतिः।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम्।।६।।

पृथ्वी, जल् अनि तेज, वायु, नभ यी पाँचै महाभूत हुन्
बुद्धि औ प्रकृति, अहङ्‌कृति तथा दस् इन्द्रियै साथ मन्।
शब्द, स्पर्श र रूप, गन्ध, रस हुन् मात्रा महाभूतका
इच्छा, द्वेष र दुःखसुख्, धृति शरीर् औ चेतना देहका।।४।।
यस्ता रीत्‌सित क्षेत्रको स्वरूप यो उस्‌का विकारैसित
तिम्रा बोध निमित्त वर्णन भयो सङ्‌क्षिप्त रूप्‌ले बुझ।
यो हो साङ्ख्य मतानुरूप गणना छन् तत्त्व एक्‌तीस् यहाँ
यिन्‌बाटै बुझ सृष्टि भो जगतको मैले दिँदा चेतना।।५।।

अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम्।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः।।७।।
इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च।
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम्।।८।।

ज्ञान्‌को लक्षण भन्दछु अब सखे मन् स्थिर् गराई सुन
गर्वाभाव, दया, क्षमा, सरलता साथै अदम्भीपन।
शुश्रूषा गुरुको र शौच, स्थिरता, मन्, इन्द्रियै संयम
यावत् इन्द्रिय भोग्य वस्तुहरूमा वैराग्यशाली मन।।६।।

असक्तिरनभिष्वङ्गः पुत्रारगृहादिषु।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु।।९।।
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि।।१०।।

जन्मै, मृत्यु, जरा र व्याधिहरूमा दुःखादि दोष् पाउनु
पत्‍नी पुत्र गृहादिका विषयमा वास्ता नली बर्तनु।
एकै ठान्नु अनिष्ट इष्ट र सधैं स्थिर् भक्ति मेरो गरी
एकान्तस्थलसेवी बन्नु, छलिनु भीड्भाड्देखि अति।।७।।

(क्रमशः)