सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६८) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ द्वादशोध्यायः

अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः।।१।।

सोध्छन् पार्थ प्रभो ! सगुण् स्वरूपको कोही भजन् गर्दछन्
कोही निर्गुणका उपासक बनी ध्यानस्थ भै बस्तछन्।
कुन् चैं भक्त वरिष्ठ हुन्छ यिनमा कुन् मार्ग हो उत्तम ?
कुन् चैं पक्ष लिए पुगिन्छ प्रभुका पद्‌मा सजिलोसँग।।१।।

श्रीभगवानुवाच
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते।
श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः।।२।।

आज्ञा भो अनि कृष्णबाट दिनहूँ मैमा लगाई मन
जस्‌ले भज्दछ भक्तिविह्वल हुँदै त्यै भक्त हो उत्तम।
हे कौन्तेय उपासना सगुणको सोझो र सार्थक् हुँदा
निर्गुण्‌का तुलनामहाँ सगुणको मानिन्छ उत्कृष्टता।।२।।

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम्।।३।।
संनियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः।
ते प्राप्‍नुवन्ति मामेव सर्वभूतहिते रताः।।४।।

जस्‌ले इन्द्रियवर्ग निग्रह गरी मन् बुद्धिदेखि पर
सर्वव्यापी, अवर्णनीय अर अचल्, निर्गुण् तथा अक्षर।
नित्यानन्द स्वरूप भज्दछ, सधैँ सम्झन्छ हित् लोकको
यस् रूपको समबुद्धि साधक ममा मिल्नेछ त्यो सत्य हो।।३।।

क्लेशोधिकतरस्तेषामव्यक्तासक्तचेतसाम्।
अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते।।५।।

निर्गुण्‌मा गति देहवादी जनको पुग्दैन नै हत्पत
त्यस्‌ले निर्गुण पन्थ अर्जुन ! अधिक् मानिन्छ कष्टप्रद।
मान्छन् ब्रह्ममयै चराचर जगत् निर्गुण् उपासक् जन
सब्‌का हृत्पटभित्र चित् स्वरूपको सम्झेर दिव्यासन।।४।।

(क्रमशः)