सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५३) - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५३)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

मच्चिता मद्‌गतप्राणा बोधयन्तः परस्परम्।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ।।९।।
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम्।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते।।१०।।
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भावस्ता।।११।।

मैमा चित्त पुऱ्याई अर्पण गरी प्राणै पनि मैमहाँ
मेरा गुण्‌हरूको बखान कतिले गर्छन् परस्पर्‌महाँ।
मेरो नै महिमा स्मरण् गरी गरी व्याख्यान गर्छन् कति
मैमा नित्य रमाई मैमय भई सन्तुष्ट बन्छन् यति।।५।।
प्रीतिपूर्वक भज्दछन् अनि सधैँ लाग्छन् भने ध्यानमा
तत्त्वज्ञान म दिन्छु मिल्न ती पुगून् मैमा भनी अन्त्यमा।
तिन्‌कै माथि कृपा गरीकन बसी अन्तःकरण्‌भित्र म
नास्छु उज्ज्वल ज्ञानदीप बनिई अज्ञानरूपी तम।।६।।

अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान्।
पुरुषं शास्वतं दिव्यमादिदेवमजं विभुम्।।१२।।

यस्ता कृष्णजीका सुनेपछि कुरा कौन्तेय भन्छन् अब
जानें, हो प्रभु नै परम्‌पद, परब्रह्मै पनि हो सब।
हो अत्यन्त पवित्र शास्वत पुरुष् हो आदिदेवै अझ
व्यापक्, दिव्य, अनन्त शक्ति पनि हो भन्छन् मनीषी सब।।७।।

आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा।
असितो देवलो व्यासः  स्वयं चैव ब्रवीषि मे।।१३।।
सर्वमेददृतं मन्ये यन्मां वदसि केशव।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः।।१४।।

नारद, देवल, व्यास आदि मुनिले यस्तै भनेका थिए
ऐले मर्जी स्वयम् हुँदै छ प्रभुले शङ्का सबै मेटिए।
साँचो ठान्दछु गर्नुभो जति कुरा ऐले हजुर्ले सब
सक्तैनन् प्रभु देव दानव कुनै चिन्नै हजुर्‌लाई त।।८।।

(क्रमशः)