सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२८) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।
तत्स्वयं योग संसिद्धः कालेनात्मनि विन्दति।।३८।।
श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति।।३९।।

कोही छैन पवित्र ज्ञानसरिको हे मित्र ! यस् लोकमा
योग्‌ले सिद्ध बने पछाडि ऊ स्वयम् झल्कन्छ आत्मामहाँ।
श्रद्धालु अनि संयमी भई सधैँ जो उस्‌तिरै झुक्तछ
उस्‌ले पाउँछ ज्ञान, ज्ञानी बनिई निश्चिन्त भै बस्तछ।।२१।।

अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति।
नायं लोकोऽस्ति नपरो न सुखं संशयात्मन।।४०।।
योगसंन्यस्तकर्माणं ज्ञानसंछिन्नसंशयम्।
आत्मवन्तं न कर्माणि निबध्‍नति धनंजय।।४१।।
तस्मादज्ञानसंभूतं हृत्स्थं ज्ञानासिनात्मनः
छित्त्वैनं संशंय योगमातिष्ठोत्तिष्ठ भारत।।४२।।

श्रद्धा ज्ञानविहीन, सब्‌तिर सधैँ सन्देह गर्ने जन
चाँडै नष्ट बनिन्छ, हुन्न उसको सुख्‌शान्ति भोग्ने दिन।
यस् लोक्‌मा पनि पाउँदैन उसले सुख्‌शान्ति जीवन्‌भर
यो लोकै नबने परत्र उसको झन् के गरी बन्छ र ? ।।२२।।
जो आसक्ति लिँदैन कर्मफलको सन्देशले मुक्त छ
आत्मा चिन्दछ कर्मबन्धन छुनै सक्तैन उस्‌लाई त।
त्यस् कारण् अनभिज्ञताजजनित त्यो मन्‌भित्रको संशय
काटी ज्ञान कटारले उठ तिमी सत्कर्म योगी बन।।२३।।

ॐ तत्सदिति श्रीमद्भागवद्‌गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसन्यासयोगो नाम चतुर्थोऽध्यायः।।४।।

 (क्रमशः)