सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२७) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२७)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अपरे नियताहाराः प्राणान्प्राणेषु जुह्वति।
सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः।।
यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम्।
नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तम।।३१।।

अल्पाहार लिई कुनै यति यहाँ अन्तस्करण् वृत्तिमा
होम्छन् इन्द्रियवर्ग पाप उनको नासिन्छ त्यै कर्ममा।
खान्छन् अमृत-यज्ञ शेष जसले मिल्छन् परब्रह्ममा
यो लोकै पनि हुन्न यज्ञ नगरे मिल्थ्यो र अर्को कहाँ।।१७।।

एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे।
कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे।।३२।।
श्रेयान्द्रव्यमयाद्यज्ञातज्ज्ञानयज्ञः परंतप।
सर्व कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते।।३३।।

यस्तै अनेक यज्ञहरूको वेद् गर्दछन् वर्णन
यिन्‌को सिद्धि छ कर्ममा भनि बुझे छुट्छन् सबै बन्धन।
ज्ञानै यज्ञ छ श्रेष्ठ, द्रव्यहरूका सब् यज्ञभन्दा बुझ
टुङ्गो लाग्छ समस्त कर्महरूको ज्ञानैमहाँ नै अब।।१८।।

तद्विद्वि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः।।३४।।
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि।।३५।।

तत्त्वज्ञानीकहाँ गई विनय ली, ढोगी, शरण्‌मा पर
गर्नेछन् उपदेश राखी करुणा तत्त्वज्ञले निश्चय।
जुन् जानेपछि भ्रम् रहन्न अहिले जस्तो कुनै दिन् अनि-
देख्‍नेछौ सब जीव आफुसरि नै फेरी म जस्तै पनि।।१९।।

अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः।
सर्व ज्ञानप्लवेनैव वृजिनं संतरिष्यसि।।३६।।
यथैधांसि समिद्धोऽग्निर्भस्मासत्कुरुतेऽर्जुन।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।३७।।

पापीको पनि पापी हूँ भनि स्वयम् ठान्छौ भने तापनि
तर्नेछौ यही ज्ञान नाउ चढी यो संसार सागर् तिमी।
बल्दो अग्नि बनाइदिन्छ जसरी काष्ठादि भस्मीकृत
ज्ञानाग्नि पनि पार्छ पार्थ ! त्यसरी सब् कर्म भस्मीकृत।।२०।।

 (क्रमशः)