सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२६) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२६)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

गतसङ्गस्य मुक्तस्य ज्ञानाविस्थितचेतसः।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते।।२३।।
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम्।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना।।२४।।

रागद्वेषरहित छ, चित्त जसको स्थिर् बन्छ ज्ञानैमहाँ
चेष्टा यज्ञ निमित्त गर्दछ भने छुट्छन् सबै बन्धन।
अर्पण औ हवनीय द्रव्यसँग नै आगो र होतातक
ब्रह्मै हुन् भनि बुझ्छ जुन पुरुषले त्यो हुन्छ ब्रह्मैमय।।१३।।

दैवमेवापरे यज्ञं योगिनः पर्युपासते।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति।।२५।।
श्रोत्रादीनीन्द्रियाण्यन्ये संममाग्निषु जुह्वति।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति।।२६।।

ईश्वर् पूजनरूप यज्ञ, कति ती योगीहरू गर्दछन्
कोही ब्रह्म निमित्त ब्रह्महवि नै ब्रह्माग्निमा होम्दछन्।
कोही संयम अग्निमा उसरि नै होम्छन् सबै इन्द्रिय
कोही इन्द्रिय अग्निमा विषयको गर्छन् हवन् नित्यशः।।१४।।

सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते।।२७।।
द्रव्ययज्ञास्तपोयज्ञा योग यज्ञास्तथापरे।
स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रताः।।२८।।

कोही योगी त ज्ञान प्रज्वलित त्यस् अध्यात्म योगाग्निमा
होम्छन् इन्द्रिय, प्राण, कर्म सब क्यै बाँकी नराखी यहाँ।
कोही गर्दछ द्रव्य यज्ञ र कुनै तप्, ज्ञान, यज्ञै पनि
अर्को गर्छ समाधि यज्ञ र कुनै स्वाध्याय यज्ञै पनि।।१५।।

अपाने जुह्वति प्राणं प्राणेऽपानं तथापरे।
प्राणापानगती रुद्ध्वा प्राणायामपरायणाः।।२९।।

होम्छन् प्राण अपानमा लगी अनि रोक्छन् दुवैको गति
होम्छन् फेरि अपान वायु लगी त्यो प्राण् वायुमा ती यति।
पूरक्, कुम्भक, रेचकादि विधिले खेल्छन् ती योगी जन
प्राणायाम निपुण् हुँदा शरीरका रोकेर वायुगण।।१६।।

(क्रमशः)