सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१८) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः।।८।।
यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः।
तदर्थ कर्म कौन्तेय मुक्तसङ्गः समाचर।।९।।

त्यस् कारण् तिमी कर्म नै गर सधैँ बेकाम भन्दा ठूलो
कर्मै गर्नु छ जीविका पनि कहाँ चल्ला ? अकर्मण्यको।
छोडी यज्ञविधान, कर्म सब हुन् संसार बन्धन् दिने
त्यस्‌ले कर्म तटस्थ भै गर तिमी, बाँधिन्छ फल् चाहने।।५।।

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक्।।१०।।
देवान्भावयतानेन ते देवा भावयन्तु व:।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ।।११।।

ब्रह्माले अघि यज्ञ नै सँग प्रजा पैदा गरी भन्नुभो
यज्ञैले बढ सब् जना अघि गरोस् इच्छा यसैले पुरो।
यज्ञैले गर देवपूजन अनि ती देवताले पनि
गर्नन् रक्षण यज्ञबाट सबको कल्याण होला भनी।।६।।

इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः।।१२।।
यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः।
भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।।१३।।

दिन्छन् वाञ्छित भोग देव गणले सन्तुष्ट भै यज्ञले
आफैँ भोग्छ नअर्पिई सब भने त्यो चोर नै हो सखे !
जो स्वीकार्दछ यज्ञ शेष त्यसका पातक् सबै छुट्तछन्।
पेट्कै निम्ति पकाउनेहरू भने पासै सधैँ भोग्दछन्।।७।।

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसंभवः।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।१४।।
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम्।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्।।१५।।

प्राणी बाँच्तछ अन्नमा र अनि त्यो उब्जन्छ पानी भए
पानी पर्दछ यज्ञले र अनि त्यो साधिन्छ सत्कर्मले।
वेद्‌मा हुन्छ विधान कर्महरूको, वेद् ब्रह्मको वाक्य हो
त्यस्‌ले व्यापक ब्रह्म यज्ञरूप हो भन्ने कुरो सत्य हो।।८।।

(क्रमशः)