सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१७)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ तृतीयोऽध्याय
अर्जुन उवाच
ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन।
तत्किं कर्मणि घोरे मां नियोजसि केशव।।१।।
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्।।२।।
सोध्छन् अर्जुन बुद्धि उत्तम भए कर्मादिभन्दा अब
केका निम्ति मलाई कर्मतिर नै डोऱ्याउने केशव ?
मेरो बुद्धि बरालिइन्छ यसरी मिश्रित् कुरा गर्दिँदा
मेरो श्रेय हुने र गर्न सजिलो भन्नोस् न यौटै कुरा।।१।।
श्री भगवानुवाच
लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ।
ज्ञानयोगेन संख्यानां कर्मयोगेन योगिनाम्।।३।।
यस्मा अच्युत भन्नुहुन्, सुन है अर्जुन् ! दिई मन् यहाँ
मैले भर्खर नै भनेँ दुइ थरी निष्ठा छ यस् लोकमा।
यिन्मा साङ्ख्य मतानुयायीहरूको मत् साङ्ख्य योग् हो अनि
अर्को ख्यात छ कर्मयोगीहरूको मत् कर्मयोगै भनी।।२।।
न कर्मणामनारम्भान्नैष्कम्यं पुरुषोऽश्नुते।
न च संन्याससनादेव सिद्धिं समधिगच्छति।।४।।
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः।।५।।
केही काम नगर्नु होइन सखे ! निष्कामकर्मी हुनु
छोड्दा कर्म हुँदैन सिद्धि कहिल्यै, यो तथ्य जानी लिनु।
एकैछिन् पनि बस्न कर्म नगरी सक्तैन कोही पनि
खट्छन् बाध्य भई सबै प्रकृतिले गर्दा नचाहे पनि।।३।।
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरण्।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचरः स उच्यते।।६।।
यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते।।७।।
रोकी राख्तछ कर्म इन्द्रियहरू, मन्भित्र चैँ हर्दम
सम्झी राख्तछ स्वाद जो विषयको दम्भी त्यही हो जन।
मन्ले इन्द्रियवर्ग निग्रह गरी आसक्ति त्यागी सब
जस्ले थाल्दछ कर्म गर्न त्यहि नै हो श्रेष्ठ साधक् बुझ।।४।।
(क्रमशः)