सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१५) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१५)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते।
सङ्गात्संजायते कामः कामात्क्रोधोऽभिजायते।।६२।।
क्रोधाद्भवति संमोहः संमोहात्स्मृतिविभ्रमः।
स्मृतिभ्रंशाद्‌बुद्धिनासो बुद्धिनाशात्प्रणश्ति।।६३।।

सम्झ्यो योग भने अलीअलि गरी सङ्गत् उतै बढ्दछ
सङ्गत् ल्याउँछ काम, काम अनि ता रिस्राग जन्माउँछ।
त्यस् रिस्‌बाट बनिन्छ मोह, त्यसले भ्रम् पार्छ, भ्रमले अनि
बुद्धि भ्रष्ट बनाइदिन्छ यसरी नासिन्छ जीवन् पनि।।३४।।

रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।।६४।।
प्रसादे सर्वदुःखानां हानिरस्योपजायते।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते।।६५।।

रागद्वेषविहीन इन्द्रिय लिई जो भोग्छ भोगादिक
आत्माकै वशमा ती इन्द्रिय हुँदा त्यो व्यक्ति हो निर्मल।
निर्मल् चित्त भएपछि सकल दुःख् उस्‌का त्यसै हट्तछन्।
जस्‌को चित्त प्रसन्न बन्छ त्यसको स्थिर् बन्छ बुद्धि स्वयम्।।३५।।

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम्।।६६।।
इन्द्रियाणां हि चरतां यन्मनोऽनु विधियते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।६७।।

मन् वश्‌मा नरहे बनिन्न कहिल्यै स्थिर् बुद्धि औ चिन्तन
चिन्तन् छैन जहाँ अशान्ति छ वहाँ, सुख् हुन्न शान्तिविना।
चञ्चल् इन्द्रिय एउटैसँग पनि मन् लागिहाल्यो भने
बुद्धिलाई उडाइ लान्छ त्यसले जल्‌यानझैँ वायुले।।३६।।

(क्रमशः)