सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१३) - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१३)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

यावानर्थ उदपाने सर्वतः संप्लुतोदके।
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः।।४६।।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।४७।।

पानीले परिपूर्ण कूपसँग लोक् सम्बन्ध जुन् राख्तछ
ज्ञानी ब्राह्मणका निमित्त त्यति नै वेद्को पनि मूल्य छ।
गर्नैपर्दछ कर्म पार्थ ! फलमा हक् छैन तिम्रो तर
फल्‌को आश लिएर कर्म नगरे, छोडे अकर्मै अब।।२६।।

योगस्थः कुरु कर्माणि सङ्‌गं त्यक्त्वा धनंजय।
सिद्ध्यसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते।।४८।।
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनंजय।
बुद्धौशरणमन्विच्छ कृपणाः फलहेतव।।४९।।

निःसङ्गी भई, योगमा रही, तिमी कर्तव्य पालन् गर
सिद्धि होस् कि नहोस् नसोच तिमीले योग्‌को यही अर्थ छ।
धेरै नै पछि पर्छ कर्म, जब यो दाँजिन्छ बुद्धिसँग
त्यस्‌ले अर्जुन बुद्धिकै शरणमा जाऊ सडोस् कर्मठ।।२७।।

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्।।५०।।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्त्वा मनीषिणः।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम्।।५१।।

उस्‌ले छोड्दछ पापपुण्य यही नै यो बुद्धियोगी छ जो
त्यस्‌ले आश्रय योगकै गर तिमी यै कर्म चातुर्य हो ।
ज्ञानी निस्पृह बुद्धियोगीहरूले त्यागेर फल् कर्मको
काटी बन्धन जन्म औ मरणको पद् पाउँछन् मोक्षको।।२८।।

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति।
तदा गन्तासि निवेदं श्रोतवस्य श्रुतस्य च।।५२।।
श्रुतिविप्रतिपन्ना ते यदा स्थ्यास्यति निश्चला।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि।।५३।।

हट्ला अर्जुन बुद्धिबाट जहिले त्यो मोहपर्दा सब
हुन्छौ तत्क्षण नै विरक्त तिमी ती वेद्का विधानैसित।
तिम्रो बुद्धि छ वेदवाक्यहरूले कुण्ठित् गरेको त्यही
बस्नासाथ समाधिमा स्थिर भई, योगी हुनेछौँ तिमी।।२९।।