सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-११) - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-११)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत।
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।३०।।
स्वधर्ममपि चावोक्ष्य न त्वं शोचितुमर्हसि।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यतक्षत्रियस्य न विद्यते।।३१।।

जीवात्मा सब प्राणीको सुन सखे ! मर्दैन कैले पनि
त्यस् कारण् सब जीवजन्तुहरूको के शोक गर्छौ तिमी।
यस्‌बाहेक स्वधर्मको पनि कुरो सोचेर साहस् गर
छोडी धर्म लडाइँ छेत्रीहरूको कल्याण केमा छ र ? ।।१८।।

यदृच्छ्या चोपपन्नं स्वर्गद्वारमपावृतम्।
सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम्।।३२।।
अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि।
ततः स्वधर्म कीर्तिं च हित्वा पापमवाप्स्यसि।।३३।।

आयासै नगरी उपस्थित छ यो, यो स्वर्गको द्वार हो
धर्मी क्षत्रिय मात्र भेट्तछ सखे ! यस्तो असल् युद्ध यो।
साँचै नै अब धर्मयुद्ध तिमीले गर्दै गरेनौ भने
आफ्नू धर्म र कीर्तिहीन बनिई पापी बनौला सखे।।१९।।

अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम्।
संभावितस्य चाकीर्तिर्मरणादतिरिच्यते।।३४।।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।३५।।

गर्नेछन् जनले घृणा गरि सधैं निन्दा पनि त्यस्‌पछि
नामी व्यक्ति भएर निन्दित हुनु, हो मृत्युभन्दा बढी।
भन्नेछन् सब ती महारथीहरू भाग्यो डराई भनी
जो डर्थ्यो तिमीदेखि हेर उहि नै हेप्‍नेछ निम्जो गनी।।२०।।

अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिताः।।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम्।।३६।।
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्षसे महीम्।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः।।३७।।

तिम्रा शत्रुहरू अनेक् तरहका दुर्वाच्यले बेसरी
गर्नेछन् अपमान, पार्थ ! भन लौ कुन् हुन्छ दुःख् त्यस्‌गरी।
मर्दा स्वर्ग पुगिन्छ, जित्न सकिए भोगिन्छ पृथ्वी सब
त्यस्‌ले लौ उठ पार्थ ! लड्नतिरको पक्का लिई निर्णय।।२१।।

(क्रमशः)