सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

ॐ श्री परमात्मने नम:
अथ श्रीमद्भागवतद्‌गीता
अथ प्रथमोऽध्याय:

धृतराष्ट्र उवाच

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:।
मामका: पाण्डवाश्चैव किमकुर्वत संजय।।१।।

धर्मक्षेत्र भनी प्रसिद्ध कुरूको जुन् भूमि हो सञ्जय !
त्यस्‌मै युद्ध हुने कुरो स्थिर भई जम्मा भए हुन् सब ।
मेरा पुत्र र पाण्डुपुत्रहरूले के गर्न थाले अब
भन्दै सञ्जयलाई युद्धविवरण् सोध्छन् ती अन्धा नृप ।।१।।

सञ्जय उवाच

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा।
आयार्यमुपसङ्गम्य राजा वचनमब्रवीत्।।२।।

भन्छन् सञ्जय सुन्नुहोस् कुरुपते ! भन्छु नछोडी अब
पाण्डव्‌को सब सैन्य वज्रसरि नै दुर्भेद्य देख्छु म त ।
देखी यो दृढ वज्रव्यूहरचना त्यस् पाण्डवी सैन्यमा
द्रोणाचार्य समीप गै विनयले भन्छन् सुयोधन् त्यहाँ ।।२।।

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ।।३।।

हेर्नुहोस् न तपाईँका अति चतुर् चेला द्रुपद्पुत्रले
कस्तो बुद्धि पुऱ्याई चक्र रचि यो सेना खडा गर्दिए।
त्यस्‌ले पाण्डवको असङ्ख्य जनको सेना बन्यो दुर्जय
जस्तो लाग्छ मलाई दृष्टि दिनुहोस् त्यस् सैन्यसज्जातिर ।।३।।

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि।
युयुधानो विराटश्च द्रुपदश्च महारथ:।।४।।

भीम्‌जस्तै बलिया र अर्जुनसरी शूरा त्यहाँ छन् जन
ठूला बाण चलाउने र रणमा उत्साह राख्‍ने जन।
त्यस्‌मै वीर महारथी द्रुपद छन्, छन् वीरवर् सात्यकि
ख्यातिप्राप्त विराट भूपति त्यहीँ छन् धृष्टकेतु पनि ।।४।।

(क्रमश:)