रमाइलोका लागि काँटीले घोचेको हुँ - सन्तोष कार्की - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

रमाइलोका लागि काँटीले घोचेको हुँ – सन्तोष कार्की



काठमाडौँ –

काठमाडौँमा युवतीमाथि शृङ्खलाबद्ध शङ्कास्पद सिरिन्ज आक्रमण गर्ने युवक पक्राउ परेका छन्। बयानका क्रममा उनले आफूले रमाइलोका लागि काँटीले घोचेको बताएका छन् । आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३० वर्षीय सन्तोष कार्कीलाई शुक्रबार राति प्रहरीले समातेर बयान लिइरहेको छ ।

डेढ महिनाअघि ढल्कु र पकनाजोल क्षेत्रको घटनामा सन्तोषले आफ्नो संलग्नता स्वीकार गरेको एक प्रहरी अधिकृतले बताए । सन्तोषलाई सीसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गरी प्रहरीले पक्राउ गरेको हो । कार्कीले महाराजगञ्जमा ‘गोल्डेन’ नामको क्याफे सञ्चालन गर्दै आएका थिए र उनको डेरा भने नैकापमा रहेको थियो ।

उक्त घटनामा प्रयोग गरेको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । साबिती बयानमा कार्कीले भने, ‘‘राति ९ बजेतिर पसल बन्द गरेपछि मोटरसाइलमा घुम्न जान्थेँ । राम्री युवती देखेपछि ढलानको काँटीले कम्मरमा घोचेर भाग्थेँ। यस्तो गर्दा निकै रमाइलो लाग्थ्यो । मैले चार जना महिलालाई काँटीले घोचेको हुँ ।’’

उनले आफूले गरेको कामबारे घरमा कसैलाई थाहा नभएको बताएका छन् । कार्की विवाहित हुन् । ढलानको काँटीले घोचेपछि सञ्चारमाध्यममा विभिन्न समाचार आएका थिए। ती समाचारले आफू निकै दुःखी भएको उनले बयानका क्रममा भनेका छन् । कार्कीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘‘समाचारमा आफूले गरेको कामको बारेमा लेखिएको पाएपछि निकै दुःख लाग्यो । मनमा छटपटी भयो । त्यसपछि मलाई ठूलो पश्चाताप भयो । मैले अरु आतङ्क फैलाउन खोजेको होइन । त्यसैले आक्रमण बन्द गरेँ ।’’

आफूले रोग सार्ने नियतले त्यस्तो कार्य नगरेको उनले बताएका छन् । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशङ्कामा पीडित महिलाहरूलाई एचआईभीविरुद्धको एआरटी औषधि र हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको थियो ।