प्रतिनिधिसभा बैठक अवरोधः सही कि गलत ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रतिनिधिसभा बैठक अवरोधः सही कि गलत ?



काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए ।

काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्छन् भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको जनाएको छ । सोही विषयमा निरन्तर अवरोधपछि आजको बैठक स्थगन गरिएको थियो ।

सो विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सङ्घीय संसद् भवनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गरे ।  नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्न पाउनुपर्ने बताए । ‘सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ’, उनले  भने।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आज बिहान सभामुखलाई जनताका समसामयिक आवाजका विषयमा प्रतिपक्षी दलका नेताले बोल्नुहुन्छ भनी समय उपलब्ध गराउन माग गरिए पनि समय नपाइएको बताए ।

‘सभामुखले जबर्जस्ती प्रधानमन्त्रीलाई बोल्न समय दिनुभयो । हाम्रो दलका नेताले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्दा सुल्टो पनि हुन्थ्यो र उठेका जनआवाजका विषयका जिज्ञासा सम्बोधन पनि हुन्थे’, प्रमुख सचेतक खाँणले भने ।

सङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले भने संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे ।  ‘प्रतिनिधिसभा भनेको जनता र जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो हो । प्रक्रियागत ढङ्गले कसले अघि बोल्ने र कसले पछि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग हो’, उनले भने ।  उनले सो घटनाको भर्त्सना समेत गरे ।

(रासस)