२०७६ असार २, सोमवार

कथा : मिथ्यापवाद

May 17, 2019
79 Views

सञ्जु बजगाई

नोरिनको घरैछेउ जम्काभेट भयो। उसले हत्ते गरी। आज मैले इन्कार गर्न सकिनँ। बिना योजना नोरिनको घर पुगेँ। मन तमतम्याइलो भयो। डर लागे जस्तो, कस्तो कस्तो !

नोरिन ! उसको सुन्दरता देखेर मित्रताको हात कसले बढाउला ? फुस्रो देखिन्छ उसको अनुहार। काला कत्लाले छोपिएको छ नाकको आधा भाग। बुर्का नै त होइन तर भुइँसम्म घिस्रने साधारण खाले कालो रङको परम्परागत ‘अबाया’ उसको बाह्रैमासको पहिरन हो। हिजाबका रङहरू बदल्छे कहिले काहीँ। उसका आँखामा सुन्दरता झल्किन्न– खैरा, चिम्सा र मधुरा देखिन्छन्। आवाजमा कुनै आकर्षण छैन। रोगीको जस्तो भासिएको स्वर छ। साँच्चै भन्नुपर्दा उसको व्यक्तित्व देखेर नयाँ मान्छे नजिकिँदैन। मलाई उसको प्रकटनप्रति दया लाग्छ। लन्डन बस्ने भन्नु मात्र ! कारागारमा बन्दी भएकी अशक्त जस्तै देखिन्छे। तर, उसको बोलीको सरलता र व्यवहारमा भेटिने आत्मीयतामा शङ्का गर्न सकिन्न; आफ्नै नातेदारको जस्तै लाग्छ यद्यपि म शङ्काबाहिर निस्कन भने अझै सकेकी छैन।

म अहिले नोरिनकै घरमा छु भन्ने कुरा आफैलाई पत्यार भएको छैन। उसको आतिथ्य स्विकार्दै गमक्क परेर बसेकी छु उसको आरामदायी सोफामाथि। सबथोक बिर्सिएर सिलिङ लाइटको सुन्दरतामा मेरा आँखा एकटक भएका छन्। ‘वाल पेपर’को छिरबिरे बुट्टामा मन पुगेको छ। कस्तो मेरै रुचि अनुसारको ! सेतो भुइँमा निला बुट्टाहरू !! कुनामा राखेको एक्वरियममा सलबलाएका माछाहरूले मेरो ध्यान खिचेका छन्। बन्द एक्वरियमलाई समुद्री संसारकै स्वतन्त्रता मानेर पौडिरहेका रङ्गीन माछाहरूको खुबी मान्नै पर्ने ! म एक्वरियम अगाडि उभिएर माछाहरूसँग रमाउन थालेँ। नोरिन भने जुस ल्याउँछु भनेर अर्कै कोठातिर लागी ।

नजिकै बसुन्जेल नोरिन र मैले आउजाउ कहिल्यै गरेनौ। उसले त भेटे नै पिच्छे कहिले अफगानी चिया पिएर जाने आग्रह गर्थी, कहिले उसले पकाएको ‘कुब्ली पुलाउ’ लिएर जाऊ भन्थी अनि कहिले ‘मन्टु’ खाएर जान कर गर्थी। मेरो प्रिय म-म नै उसको भाषामा ‘मन्टु’ थियो। मुख रसाउँथ्यो सम्झिँदै। तर मेरो लोग्‍नेले भनेका र अड्कल गरेका कुराले उसको घर जाने मलाई हिम्मत दिँदैनथ्यो। म बाटैबाट छुट्टिन्थे।

कत्ति विरोधास्पद छ मेरो चरित्र ! नोरिनप्रति मनभरि शङ्का बोकेर उसकै बैठक कोठाका हरेक कुना नियालिरहेकी छु। सोकेसमा किताबका ठेली छन्। मोटा–मोटा किताबका ठेली देख्दा अचम्मित भएँ म। सबै किताबका बाहिरी गातामा अरबी अक्षर देखिन्थे। मैले नबुभ्ने। आइप्याड, ल्यापटप, आइफोन र कारको चाबी सोफा छेउको टेबलमा असरल्ल थिए। प्रिन्टर र फ्याक्स मेसिन पनि देखेँ मैले। महँगा खेलौना कोठामा यत्रतत्र छरिएका थिए। कोठाको सजावट निकै सानदार थियो। पस्तुन ढाँचाका ठूल्ठूला लोभ लाग्दा कार्पेट ओछ्याएका। नोरिनको कोठा भनेर पत्याउनै नसकिने !

यो सब देखेर डाहा नभए पनि औडाहा अवश्य भयो मलाई। मेरो बुझाइभन्दा धेरै पर थियो नोरिनको घरको सान। लोभी आँखा पापी मन ! ‘शान’लाई छोडेर ‘मान’ का कुरा सम्झिँदै चित्त बुझाएँ। छिनभरमै क्रिस्टलको झलल्ल परेको ग्लास टल्कियो परैबाट। नोरिनले जुस ल्याएर मेरो अगाडि राखिदिई सकेकी थिई।

“फ्रेस अरेन्ज जुस।” जुस पिउने अनुरोध गर्दै मेरो छेउ आई ऊ।

“कति छिटो ल्यायौ त !” मैले गिलास उठाउँदै औपचारिकता पुरा गरेँ।

हामी सोफामा बसेर जुस पिउँन थाल्यौँ। नोरिन सोफामाथिका कुसनहरूलाई एकातिर खप्टिएर मेरो नजिक भई बसेकी थिई। भौगोलिक दूरी थिएन उसको र मेरो बीचमा। एउटै सोफामा बसेका थियौँ। यस्तो लाग्थ्यो ऊ मसँग हरेक मिनेट नजिक भएर साट्न चाहन्थी। संस्कारको कुरा त होला नि ! नत्र सामान्य बोलचालमा सीमित रहेको हाम्रो सम्बन्धलाई यति महत्त्व कसले दिन्थ्यो ? उसले मलाई हितैषी सम्झिएकी रहिछ। म फुरुङ्ग भएर जुस पिउन लागेँ।

“पहिले बसेको ठाउँबाट सरेछौ नि !” एक हातले जुसको ग्लास उठाउँदै नोरिनले सोधी।

“सरेको एक महिना जति भयो।” मैले जुसको घुड्को निल्दै भनेँ।

“त्यसैले त फर्किएपछि पनि मैले तिमीलाई निकै दिन देखिनँ।” उसले भनी।

“फर्किएपछि ? कहाँ गएकी थियौ र ?” मैले अचम्म मान्दै सोधेँ।

“अमेरिका…!” उसले भनी।

म झसङ्ग भएँ। एकाएक अमेरिका शब्दले मेरो शङ्का चुलियो। अमेरिका र लन्डनको ओहोर–दोहोरमा धेरै कुराहरू जोडिने सम्भावना देखेँ मैले। म जुसको गिलास हातमा खेलाउन थालेँ। एक मन त बहाना बनाएर निस्की जाऊँ जस्तो लाग्यो। भोलि सोधपुछ भए के भन्नु ? मनमा अनौठो तरलता पैदा भयो। नोरिनको अनुहार हेर्दा पत्याउनै सकिन्न। नपत्याउने खोलाले त बगाउँछ नि ! आफ्नो उखान कसरी बिर्सनु ? शङ्कालु हावा भरिएर मन फुलेको बेलुनझैँ भयो। म बसिरहेको ठाउँबाट जुरुक्क उठेँ।

“बल्ल मेरो घर आएकी छ्यौ, म मन्टु बनाएर ख्वाउँछु तिमीलाई।” म उठ्नासाथै उसले भनी।

“हैन…हैन, मसँग धेरै समय छैन। फेरि अर्को दिन आउँछु।” म तर्किएँ।

म धेरै नजिकिन चाहन्नथेँ। ‘यिनीहरूको त केही ठेगान हुँदैन। कहाँ के ताकेका हुन्छन् पत्तो हुँदैन, सङ्गत नगर्नु।’ मेरो लोग्‍नेले मलाई पहिले नै सतर्क गराएको सम्झिएँ। सबै कुरालाई मिचेर यहाँसम्म आइपुगी सकेँ।  अझ खाजा पानीतिर अल्झिनु उचित ठानिनँ मैले।

“केही त खाएरै जानुपर्छ।” नोरिनले मेरो ब्याग तानेर एकातिर थन्क्याउँदै कर गर्न थाली।

उसको आतिथ्य देखेर क्षणभरका लागि भए पनि म पत्याउन चाहन्नथेँ अनेक थरीका आक्षेप। नोरिनको जस्तो आत्मीयता मैले आफ्नाबाट पनि पाएकी छैन। कस्तो असजिलो ! मित्रता गर्न लायक देखिनेहरूमा आत्मीयता भेट्दिनँ, आत्मीयता भेटिएकासँग मित्रता गर्न शङ्का गर्नुपर्ने ! कस्तो समयसँग बँचेकी छु म ? किन मान्छेले मान्छेलाई ‘ट्याग’ झुन्ड्याई दिन थालेका ? ती पनि निरीह मान्छेहरूलाई ! त्यो मान्छे, जोसँग संसारको असमान संरचना नकार्ने क्षमता छैन। त्यो मान्छे, जसको इच्छा र रहरको अर्थ छैन। त्यो मान्छे, जो आफ्नो श्रमको मूल्य अनुपातको जीवन बाँच्छ बाध्य छ। म पनि यिनैमध्येकै एक हुँ। फरक छैन। तर पनि, नोरिनसँगको मित्रतालाई खुलस्त स्विकार्न किन हिच्किचाइरहेकी छु ? शङ्का गरीगरी साथी बन्नुपर्ने ! कस्तो विडम्बना ! उकुसमुकुस भएँ म।

मेरो ब्याग नै तानेर राखिदिएकी थिई नोरिनले। उसको जिद्दीपनसँग हार खाएर बसेकी थिएँ म। ऊ गफका सिलसिला बढाउँदै थिई। टेबलमाथिको फोनको घन्टी बारम्बार बज्‍न थाल्यो हाम्रो गफको सिलसिलै भङ्ग गर्ने गरी। नोरिनले बाध्य भएर फोन उठाई र अर्को कोठातिर लागी। ‘पानी…पानी’ भनेको जस्तो सुन्थे। के भन्थी उही जानोस्। तर, हाउभाउ हेर्दा कसैसँग बहस भएको हो भनेर स्पष्ट बुझिन्थ्यो।

“हराम…!…..” यस्तै के–के भन्दै नोरिनले फोनको स्विच अफ गरी।

“सबै ठीकै त छ ?” मैले असजिलो मान्दै सोधेँ।

“मेरो लोग्‍नेको फोन कल थियो।” उसले रुखो स्वरमा भनी।

“ए…!” मैले भनेँ।

“तिमीलाई मैले सुनाएकी छैन ?”, फनफनाउँदै नोरिनले भनी– “मेरो लोग्‍ने अमेरिकामै बस्छ।”

मैले कहिल्यै नसोधेको प्रश्नको जबाफ दिँदै थिई ऊ। संयोगवश नोरिनको कुरा र मेरो लोग्‍नेको अडकल मिल्दोजुल्दो हुन पुग्यो। उसको लोग्‍ने पक्कै पनि कैला आँखा भएको, हल्का दाह्रीजुँगा पालेको अधबैँसे पठान  हुनुपर्छ। अमेरिकाको कुनै राज्यमा बसेर हुक्का तान्दै होला त्यो यतिबेला। हुक्का तानेर छोडेको धुँवाको अमूर्त आकार हेरेर आफ्ना कामको निर्णय गर्छन् रे त्यस्ताले त। या त त्यो कसैको तलबी कामदार हुनुपर्छ– इसारामा चल्ने। घरपरिवार छोडेर कसरी बसेको होला त्यो पठान ? मेरो बुझाइले भ्याएसम्मका कुरा खेले मनमा।

“दुई जना दुईतिर बस्न कस्तो गाह्रो।” नोरिन भने आफ्नै कुरा थप्दै गइरहेकी थिर्ई।

“हो नि।” म सार मात्र मिलाई रहेकी थिएँ।

“अमेरिका गएर बस्नुभन्दा त अफगानिस्तान नै फर्कनु बेस।” तिक्तता पोख्‍न थाली उसले।

“बस्नलाई अमेरिका भन्दा अफगानिस्तान राम्रो हो र ?” उसका कुरा पत्याउन नसकेर मैले व्यङ्ग्य गरेँ।

“केलाई राम्रो मान्ने ? आत्मसम्मान या सुविधा ?” उल्टै मलाई पो कडा शैलीमा सोधी।

नोरिन यसरी बोल्छे होला भनेर मैले सोचेकै थिइनँ। ‘मोटर वे’मा कुदेको गाडीमा ‘इमर्जेन्सी ब्रेक’ लगाएझैँ  थियो उसको सोधाइ। मैले लाज पचाउँदै फिस्स हाँसे। आत्मसम्मान गुमाएर चुत्थो चरित्रको पक्षधर हुने सल्लाह दिन मिलेन। त्यसपछि उसका कुरामा अरू केही थपघट गरिनँ। उसैलाई बोल्न दिइरहेँ।

“तिमीलाई अफगानिस्तान फर्किन केले रोक्यो त ?” मैले केही बेर उसका कुरा सुनेपछि सोधेँ।

“मेरो लोग्‍नेले।” उसले रातोपिरो अनुहार पारेर भनी– “म अफ्गानिस्तान फर्किए मसँग सम्बन्ध विच्छेद गर्छु भनेको छ।”

“ओहो…किन त्यस्तो ?” कि वार कि पारका कुराले अचम्मै पार्यौ मलाई।

“मेरो लोग्‍ने भावुक हुन जान्दैन, छिनालेर बोलिजान्छ।” नोरिनले दुःखी हुँदै सुनाई।

“जिन्दगीमा उतार–चढाव भैरहन्छ। चिन्ता नगर समयले सबै ठीक गरिदिन्छ।” म विशुद्ध परामर्शदाताको भूमिका निर्वाह गर्न लागेँ।

“जिन्दगी आफ्नो मात्र कहाँ रह्यो र अब ? सानो छोरो छ। मैले हार खाए छोराको के हाल होला ? उसकै लागि सम्हालिएर बसेकी छु।”

“मलाई विश्वास छ सबै कुरा चाँडै ठीक हुनेछ।” नोरिनको नितान्त निजी विषयमा सान्त्वना स्वरूप मैले यति नै भनेँ।

“मेरो भाग्य नै उस्तो।” नोरिन उदास भएर भन्न थाली– “हामी त सानैदेखि सुख र दुःख दुवैलाई भाग्यको जिम्मामा छोड्ने बानी परिसकेका छौँ।”

“तिमी अमेरिका नै जाऊ न त, परिवार एकै ठाउँ बसेपछि सबै ठीक हुन्छ।” म उसको कुरा छोडेर समाधान औल्याउन लागेँ।

“कसरी बस्नु त्यहाँ गएर ? मेरो टाउकाको हिजाब हेरेर सिङ्गो मान्छेको मूल्याङ्कन गर्छन् अमेरिकीहरू।”

नोरिनले उसकै टाउको ढाकेको हिजाब नङ्ग्राउँदै भन्न थाली–“खुल्ला कपाल छोड्नेहरूको बौद्धिकता पनि देखियो।”

उसको आक्रोश कोप्रति हो बुभ्न सकिनँ मैले। झस्किँदै आफूले छोडिराखेको खुल्ला कपाल सुमसुम्याउन थालेँ म।

“मेरो हिजाब हेरेर तिमीले पनि केही त सोचेकी थियौ होला ?” नोरिनले मलाई ठाडै सोधी – “म अफगानी भनेर थाहा पाउँदा तिमीलाई मेरो जीवन शैलीमाथि शङ्का लागेन ? नढाँटी भन है।”

उसको प्रश्नले मलाई ठाडै कठालोमा समातेको थियो। मेरा कान राता भए। एक हिसाबले मेरो मनको शङ्का हुबहु बोलिरहेकी थिई ऊ। मेरो लोग्‍नेले त बोलचाल गर्न मनाही गरिदिएको थियो। अझ फोन नम्बर त दिँदै नदिनु भनेको थियो। छोराछोरी स्कुल छोड्ने बेलामा नोरिन र मेरो जम्काभेट भैजान्थ्यो। उसैले बोलाउँथी। कसरी नबोल्नु, वल्लो घर पल्लो घर बसेपछि ? म डराउँदै बोलेँ सुरुसुरुमा। पछि अलि बानी पऱ्यो। अहिले यी सबै कुरा हाकाहाकी उसलाई कसरी भनूँ, चुपचाप भएँ म।

“तिमीलाई के ढाँट्नू ? मेरा अरू छिमेकीहरू मसँग बोल्न रुचाउँदैनन्।” उसले सबैको नामै तोकेर भनी।

“सोफिया र स्यारोन पनि !” मैले अचम्म मान्दै सोधेँ।

“जीवनमा आफ्नो जन्मभूमिकै नाम यस्तो भारी होला भनेर कसले सोच्छ र !” बोल्दाबोल्दै नोरिनका आँखा टिलपिल भैसकेका थिए।

ऊ रुन चाहन्थी होला यसबेला। धित मरुन्जेल रुन चाहन्थी। देश सम्झिनु भनेको अक्षरहरू बटुलेर बनेको शब्द मात्र सम्झनु हो र ! देश सम्झिँदा पुर्खा भेटिन्छन्, आमाबाबु देखिन्छन्, आफूले जन्मे–हुर्केको घर भेटिन्छ, साथीभाइ, रुखपात, जाडो–गर्मी, भोक–प्यास, उकाली–ओराली, खण्डहर, पाखा–पर्वत जे–जे छोडिएका छन् सबै भेटिन्छन्। साँचो भन्दा आफ्नो सिङ्गो अस्तित्व भेटिन्छ। नोरिनको मन पढ्न गाह्रो भएन मलाई।

“अफ्गानिस्तान आतङ्ककारीको घर, अनि अफगानी जनता सबै आतङ्ककारी ! अफगानी मूलकी भन्ने बित्तिकै म पनि आतङ्ककारी। केही नभए आतङ्ककारीकी बहिनी, बुहारी, छोरी…! बिल्ला त भिराएरै छोड्छन् मान्छेहरूले।” नमिठो भोगाइ सुनाई रहेकी थिई नोरिन।

छिमेकीको रुखो व्यवहार, उपेक्षा, घृणा र अविश्वास सबै सहेर जिन्दगी चलाउँदाको अनुभव मसँग थिएन– ‘अचानाको पीर खुकुरीलाई के थाहा ?’ वास्तविकता थियो उसका कुरामा। मेरो धारणा फरक छ र ? मेरो मनमा पनि आतङ्ककारी शब्द सलबलाई रहेकै छ। चिमोटेर मान्छे चिन्न सक्ने भए पो त ! म अक्क न बक्क भएकी थिएँ नोरिनका अगाडि।

“त्यही त यी सबै कुरामा हामी सामान्य मान्छेको पहुँच नपुग्‍ने, जे सुन्छन्, त्यसकै पछि लाग्छन्।” मैले भनेँ।

“तिमी कति भाग्यमानी ! इज्जत र स्वभिमान छ तिम्रो। आफ्नो देशको नाम लिन कोहीदेखि डराउनु पर्दैन।” नोरिन भावुक भएर बोल्न थाली।

“किन र ?” म उसको भावुकतासँग तानिँदै बोलेँ।

“तिम्रो देशमा परायाले शासन गरेको छैन होला हगि ?” उसले असाध्यै गम्भीर भएर सोधी।

“छैन।” मैले झट्टै जबाफ फर्काएँ।

“अरूका देशहरूको सार्वभौमिकताप्रति ईर्ष्या लाग्छ मलाई।” भुइँतिर घोप्टिएका उसका आँखाबाट तपतप आँसु चुहिन थाले।

उसले बोलेको वाक्यले उसको भोगाइको गहिराइ मैले के नाप्‍न सक्थेँ ! हे ईश्वर ! गरिबी भोगे पनि अर्काबाट लुछिएको सार्वभौम न मेरा पुर्खाले देख्‍नुपऱ्यो न त मैले नै। तर मलाई थाहा छैन राष्ट्रियता कुरामा कति दरिली छु आफू भनेर। देशको कुरो ल्याएर जोडिसकी नोरिनले। अरू के–के विषयमा कुरा ठोक्काउने हो ? म नोरिनतिर फर्किएर लाचारीको हाँसो फिस्स हाँसे। म चाहन्थे देश र राष्ट्रियताको कुरामा नोरिन अरू नबोलोस्।

“मेरो हिन्दुकुश पर्वत शृङ्खला, हरी नदी, बामियानका बुद्धका सालिक, मिनार–ए–जाम ! के भनूँ ? मेरो देश यी सबले कहाँ चिनिन्छ र ? मेरो देश त विस्फोट भएका बमका आवाजले चिनिन्छ। बारुद, बन्दुक र धारिला हतियारले चिनिन्छ। बाटातिर भेटिने मान्छेको रगतका खाटाहरूले चिनिन्छ। विनाश र विध्वंशले चिनिन्छ। कालो रहस्यात्मक भयले चिनिन्छ।” रोकिनुको साटो बहकिन थालेकी थिई नोरिन।

अरूका दाँजोमा आफूलाई सधैँ उच्च मूल्याङ्कन गर्ने बानी परेकी मान्छे हुँ म। कसरी सुनाऊँ ? मेरो देशका सडकहरू पनि मान्छेका रगतले पोतिएकै हुन् भनेर। भाइ–भाइसँगको झगडाले देश पुरै थलिएको छ। एउटै देशका भन्नु मात्र ! यो परदेशमा पनि आफ्नोपन भेट्नलाई आफ्नै जातको समूह चाहिन थालेको छ। हामी थेप्चा र चुचा नाकको विभाजनमा लागेका छौँ। संस्कार र संस्कृतिको बहिस्कारमा लागेकका छौँ। हामी राष्ट्रिय झन्डाको परिमार्जनमा लागेका छौँ। हामी हाम्रो सानो मुलुकलाई खण्ड–खण्ड विभाजन गर्न लागेका छौँ। साँच्चै भन्ने हो भने हामी कसैले कसैलाई सम्मान गर्न नसक्ने मनोदशा भित्रभित्रै पालेर बाँचेका छौँ। सरसर्ती सम्झिएँ मैले आफ्नो देशको हालत। मैले गम्भीर भएर सोच्‍न बिर्सिएको विषय नोरिनले उप्काएर छोडिदिएकी थिई। म जति सक्दो चाँडो उसको घरबाट निस्कने मौका पर्खन लागेँ।

“हेर त, मन्टु बनाउन मैले भेडाको मासु मोलेर राखेकी थिएँ।” एउटा प्रसङ्ग उप्काएर अर्कै प्रसङ्गमा हाम्फाल्न पुगी ऊ।

गम्भीर विषय उप्काएर नाथे ममको किमाका बारेमा कुरा तन्काउन सरम लाग्यो मलाई। उसको छ्यासमिसे कुराले ऊप्रतिको धारणा बदल्न पटक्कै सहयोग गरेन। एजेन्टले यस्तै नानाथरीका कुरा उप्काउँछन् रे ! के थाहा ऊ त्यही एजेन्टको भूमिका निर्वाह गरिरहेकी होस्। आतङ्क र आतङ्ककारीका विषयमा मेरो धारणा बुभ्न खोजेकी होस्। उसले मम पकाउन बसाएको पानीको भाँडो खटखटाएर उम्लिँदै थियो। उसका हरेक शब्दलाई म ध्यान दिएर सुन्दै गएँ।

“बीस वर्षअगाडि हामी लन्डन आउँदा मेरो ‘अब्बु’ले किनेर ल्याउनु भएको भाँडो आजसम्म चलाई रहेकी छु।”  उसले हौसिँदै बोली।

“ओहो ! तिमी त धेरै अगाडि पो आएकी रहिछ्यौ।” मैले भनेँ।

“यहाँ आउँदा म दस वर्षकी थिएँ।” बल्ल मैले सोध्‍न नसकेको प्रश्नको जबाफ दिँदै थिई।

“कति कलिली ! तिमीले युनिभर्सिटी लन्डनबाटै सक्यौ होली हैन।” मैले थपेँ।

म ऊबाट अरू कुरा सुन्न चाहन्थेँ, जसले मेरो मनको शङ्का हटाई दियोस् अनि उसको आत्मीयता स्विकार्न मलाई सहज होस्।

“लन्डनबाट होइन अमेरिकाबाट। ‘युनिर्भसिटी अफ टेक्सास’बाट गरेकी। मेरो ठुलोबुबा टेक्सासमा  बस्नुहुन्थ्यो। वहाँको ठुलो कारोबार थियो त्यहाँ। लन्डन आएर मलाई वहाँले नै लिएर जानुभयो। झन्डै दस वर्ष बिताएँ– ठुलोबुबासँग। विवाह भएपछि छुट्टिएकी।” उसले ममका पोका बनाउँदै भनी।

“तिम्रो विवाहचाहिँ अफगानिस्तानबाटै भयो ?” मैले सोधेँ।

“होइन। टेक्सासबाट। परिवारका सबैलाई त्यागेर आफूसँगै पढ्ने अमेरिकी मूलको केटासँग भागी विवाह गरेकी मैले। हेर न ! उसले पनि मेरो जन्मभूमिको कदर गर्दैन। प्रेम विवाहको परिणाम स्वरूप आज यो हैरानी खप्दै छु।” उसले फिस्स हाँस्दै सुनाई।

“तिम्रो लोग्‍ने अमेरिकी मूलको ?” विश्वास नलागेर मैले दोहोऱ्याएर सोधेँ।

“कैला आँखीभौँ गरेको विशुद्ध खैरे !” नोरिनले रङ तोकेरै भनी।

बल्ल ! बल्ल रहस्यको पोको फुट्यो ! मेरो मस्तिष्कमा नोरिनले भनेका कैला आँखीभौँहरू खेल्न थाले। मैले कल्पना गरेको अफगानी पठान पलभरमा हरायो। अरू कति खोतलौँ उसको निजी जीवन ? गफैगफमा सबै थोक भनिसकी उसले। आखिर मेरो धारणासँग केही मेल खाएन ! अल्पज्ञानबाट माथि उठ्न नसकेको मेरो पूर्वाग्रही सोचभन्दा नोरिनको वास्तविकता धेरै फरक थियो। मैले र मेरो लोग्‍नेले उमारेका शङ्काका भ्रूणहरूलाई अब म के गरूँ ? हामीले कोरेको अदृश्य क्यानभासमा ऊ आतङ्क, भय, र त्रासका रङहरूले पोतिएकी थिई। उसको देशको नाम सुनेकै आधारमा छिमेकी भएर लामो समय बसे पनि ऊ र मेरोबिच अदृश्य सिमाना रहिरह्यो। पहिरन हेरेर मैले उसँग दूरी बढाएकी थिएँ। टाउको छोप्‍ने हिजाबलाई हेरेर उसको बौद्धिकता नापेकी थिएँ। उसको सरलतालाई आतङ्ककारीको रणनीति बुझ्ने मेरो लोग्‍नेको मानसिकतालाई अब कुन नाउँ दिऊँ म ? मेरो लोग्‍ने मिथ्या ठहरियो। म आफू आफ्नै अल्पज्ञान देखेर ग्लानिले हतप्रभ भएँ।

नोरिनले ममका बाफ उड्दै गरेका डल्लाहरू प्लेटमा राखेर टेबलमा ल्याइसकेकी थिई। साथमा बदामको पिरो चटनी पनि थियो। अल्पज्ञानका आधारमा कसैको अस्तित्वलाई बहिष्कार गर्ने मेरो चरित्र नोरिनको सत्कारको लायक थिएन। उम्लिएको पानीमा पिल्सिएका ममका डल्लाहरू जस्तै पिल्सिन थालेँ म। पाकिसकेको ममको बासनिलो बाफ मेरो नाकैमा ठोक्किरहेको थियो।

“सुरु गर न !” नोरिन बोली।

त्यसैबेला मेरो लोग्‍नेको फोन कल आयो।

“म अहिले नोरिनको घरमा छु।” फोन उठाउँदै मैले भनेँ।

“तुरुन्त निस्किहाल त्यहाँबाट…।”

मेरो लोग्‍ने बड्बडाउन थाल्यो।

 

 

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares4 views
समाचार
shares4 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares11 views
अन्तराष्ट्रिय
shares11 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares10 views
समाचार
shares10 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…