समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने



प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका छन्। जारी मत गणनाको परिणामअनुसार यीमध्ये अहिलेसम्म ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ एक सिट जितेर समानुपातिकतर्फ थ्रेस होल्डको सीमा पार गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछन्। त्यसो त प्रत्यक्षतर्फ सिट नजितेका दलले पनि समानुपातिक मतको थ्रेस होल्ड कटाएमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसद निर्वाचित गर्न पाउँछन्।

कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेस होल्डको सीमा मानिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यो हिसाबले थ्रेस होल्ड कटाउन ३ लाख २० हजार मत आवश्यक देखिन्छ।

अहिलेसम्म यो सीमा ७ दलले मात्र पार गरेका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले समानुपातिकतर्फ पनि थ्रेस होल्ड कटाएका हुन्। थ्रेस होल्ड (कूल सदर मतको ३ प्रतिशत) नकटाउने दलहरूले पाएका मत भने खेर जानेछ। किनभने थ्रेस होल्ड पार नगरेका दलले पाएका समानुपातिक मत गणना गरिँदैन।

अहिलेसम्मको तथ्यांकले ४७ दलमध्ये ७ दलले मात्र थ्रेस होल्ड कटाएकाले बाँकी ४० दलले पाएका मत खेर जाने देखिएको छ।

आयोगका अनुसार हालसम्म ९९ लाख ९३ हजार ५ सय ६८ समानुपातिक मत गनिसकिएको छ। कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार मान्दा अब ६ लाख ७६ हजार ४ सय ३२ मत मात्र गन्न बाँकी छ।

थ्रेस होल्ड कटाएका सात दलले अहिलेसम्म पाएका मत जम्मा ८७ लाख ९० हजार १ सय ३० छ भने यसबाहेक थ्रेस होल्ड नकटाएका दलले पाएका जम्मा मत १२ लाख ३ हजार ४ सय ३८ मतको हिसाब नहुने देखिएको छ। यी मत नगनिएको खण्डमा अन्य ठूला दललाई फाइदा हुनेछ ।

तर अहिलेसम्म २ लाख ८१ हजार ३ सय ४८ मत पाएको नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएको खण्डमा भने खेर जाने मत केही कम हुन्छ। बाँकी ३९ दलले भने थ्रेस होल्ड कटाउने सम्भावनै छैन।