समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने



प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका छन्। जारी मत गणनाको परिणामअनुसार यीमध्ये अहिलेसम्म ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ एक सिट जितेर समानुपातिकतर्फ थ्रेस होल्डको सीमा पार गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउँछन्। त्यसो त प्रत्यक्षतर्फ सिट नजितेका दलले पनि समानुपातिक मतको थ्रेस होल्ड कटाएमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसद निर्वाचित गर्न पाउँछन्।

कूल सदर मतको ३ प्रतिशत मतलाई थ्रेस होल्डको सीमा मानिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यो हिसाबले थ्रेस होल्ड कटाउन ३ लाख २० हजार मत आवश्यक देखिन्छ।

अहिलेसम्म यो सीमा ७ दलले मात्र पार गरेका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले समानुपातिकतर्फ पनि थ्रेस होल्ड कटाएका हुन्। थ्रेस होल्ड (कूल सदर मतको ३ प्रतिशत) नकटाउने दलहरूले पाएका मत भने खेर जानेछ। किनभने थ्रेस होल्ड पार नगरेका दलले पाएका समानुपातिक मत गणना गरिँदैन।

अहिलेसम्मको तथ्यांकले ४७ दलमध्ये ७ दलले मात्र थ्रेस होल्ड कटाएकाले बाँकी ४० दलले पाएका मत खेर जाने देखिएको छ।

आयोगका अनुसार हालसम्म ९९ लाख ९३ हजार ५ सय ६८ समानुपातिक मत गनिसकिएको छ। कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार मान्दा अब ६ लाख ७६ हजार ४ सय ३२ मत मात्र गन्न बाँकी छ।

थ्रेस होल्ड कटाएका सात दलले अहिलेसम्म पाएका मत जम्मा ८७ लाख ९० हजार १ सय ३० छ भने यसबाहेक थ्रेस होल्ड नकटाएका दलले पाएका जम्मा मत १२ लाख ३ हजार ४ सय ३८ मतको हिसाब नहुने देखिएको छ। यी मत नगनिएको खण्डमा अन्य ठूला दललाई फाइदा हुनेछ ।

तर अहिलेसम्म २ लाख ८१ हजार ३ सय ४८ मत पाएको नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएको खण्डमा भने खेर जाने मत केही कम हुन्छ। बाँकी ३९ दलले भने थ्रेस होल्ड कटाउने सम्भावनै छैन।