सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए



रुपन्देही । सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।  सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ ।

सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको हो ।

उक्त नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत गुरुयोजना बनाएर काम गर्न खोजिएको जानकारी दिँदै उत्खनन नभएका कतिपय क्षेत्रमा उत्खननको तयारी भएको बताए ।

उनले केही चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशम्शेरले उसै बखत उक्त क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएको उल्लेख गर्दै अहिले उत्खननका लागि संघीय सरकार र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग भएको बताए । खड्गशम्शेर पाल्पाबाट सैनामैना आएको बताइएको छ ।

नगरप्रमुख कार्कीले त्यसका लागि कम्तीमा रु ५० करोड आवश्यक भएको जानकारी दिँदै त्यस क्षेत्रको संरक्षण र संबद्र्धन गर्न स्थानीय समाजसेवी झपेन्द्र जिसीको संयोजकत्वमा ‘सैनामैनाको ऐतिहासिक महत्व र लोकसंस्कृति संरक्षण समिति’ गठन गरिएको छ भने ।

सो समितिले बढीमा एक महिनामा प्रतिवेदन तयार गर्ने छ । समितिमा संस्कृतिविद् तथा प्राध्यापक डा गितु गिरी, रामप्रसाद भट्टराईलगायत छन् । प्राध्यापक डा गिरीले लुम्बिनी विकास कोष ऐन– २०४२ ले लुिम्बनी र खास केही ठाउँ बाहेक अन्य ठाउँमा बुद्धकालीन सभ्यता छ वा छैन भन्ने विषयमा नबोलेकाले सैनामैनालाई बेवास्ता गरिएको बताए ।

“त्यो क्षेत्र प्रकृति र संस्कृतिको संगमस्थल हो ।” उनले भने, “सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटको आर्कषण बढाउन सकियो भने लुम्बिनी आउने सबै पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिन्छ ” ।

प्राध्यापक डा गिरीले बुद्धकालीन अवस्थाको चित्रणले यसको भिन्दै विशेषता ओगटे पनि यहाँ क्षेत्रमा सुकुम्वासीको अतिक्रमणले पनि समस्या देखिएको छ भने। रासस