रूपन्देहीका तीन जना शहीद घोषणा - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

रूपन्देहीका तीन जना शहीद घोषणा



बुटवल । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामति कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यकाल सकिएकाले एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सूचना तथा सञ्चारमन्त्री बस्नेतले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय गरेको पनि बताए । सरकारले रूपन्देहीका तीन जना व्यक्तिलाई शहीद घोषणा गरेको छ । माओवादी जनयुद्धका क्रममा मारिएका बुटवल उपमहानगरपालिकाका बृजमान श्रेष्ठ, हाटी वनगाईका भागीरथी यादव र खुदावगरका बैतुल्लाह फकिरलाई शहीद घोषणा गरेको हो ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले मन्त्रीपरिषद्को निर्णयबाट शहीद घोषणा गरिएको बताए । ‘रूपन्देहीका तीन जना व्यक्तिलाई उहाँहरूको योगदानका आधारमा शहीद घोषणा गरिएको हो’, उनले भने । अघिल्लो मन्त्रीपरिषद् बैठकमा यी तीन जनासहित अन्य व्यक्तिलाई समेत शहीद घोषणा गरिएको थियो ।