फोर्ब्सको सूचीमा आठ वर्षीय बालक: युट्युबबाट कमाए अर्बौं - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

फोर्ब्सको सूचीमा आठ वर्षीय बालक: युट्युबबाट कमाए अर्बौं



बीबीसी- खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन् । र्‍यान वल्र्ड अर्थात’ र्‍यानको संसार नामक कार्यक्रम चलाउने गरेका र्‍यान युट्युबबाट सन् २०१९ मा २.६ करोड अमेरिकी डलर कमाउन सफल भएका छन् । उनले सन् २०१८ मा २.२ करोड डलर कमाएका थिए ।

फोब्र्स म्यागजिनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० जनाको सूचीमा उनलाई राखेको छ । जुन २०१८ देखि जुन २०१९ सम्मको अनुमानित कमाइको आधारमा फोब्र्सले त्यो निष्कर्ष निकालेको हो । उनीपछि बढी रकम कमाउनेमा ड्यूड पर्फेक्ट दोस्रो स्थानमा र नास्ट्या तेस्रो स्थानमा आएका छन् । उनीहरूले क्रमशः दुई करोड र एक करोड ८० लाख अमेरिकी डलर कमाएको फोब्र्सको सूचीमा उल्लेख छ ।

विवरणअनुसार सन् २०१९ का १० उत्कृष्ट युट्युबरहरूले अनुमानित कुल १६ करोड २० लाख डलर रकम कमाएका छन् । ड्यूड पर्फेक्टले ३० वर्ष उमेर काटेका पाँच साथीहरूले नेर्फ गन र अन्य खेलौनाहरू लिएर विभिन्न प्रकारले तारो हानिरहेको देखाउने गरेको छ ।

नास्ट्याले दक्षिण रुसमा जन्मिएकी सेरब्रल पल्सी अर्थात् मस्तिष्कको पक्षाघात भएकी एनास्तासिया राड्जिन्स्कायालाई देखाउने गरेको छ । त्यस्तै जेफ्री स्टारको युट्युब च्यानलमा उनले शृंगार गर्न सिकाएका दर्जनौं भिडिओहरू छन् । फोब्र्सले विज्ञापन, प्रायोजित सामग्री र अन्य सरसामान बिक्रीबाट आउने आम्दानीको हिसाब अनुमान गरेको छ । त्यो कर तिर्नुअघि युट्युब च्यानल सञ्चालकले कमाउने रकमको अनुमान हो ।

र्‍यान को हुन ?

र्‍यान आफ्ना आमा, बुवा र जुम्ल्याहा दिदीबहिनीहरूसँग अमेरिकाको टेक्सासमा बसोबास गर्छन् । उनी दिनहुँजसो युट्युबमा भिडिओ हाल्ने गर्छन् । युट्युबमा उनलाई दुई करोड जनाभन्दा बढी प्रयोगकर्ताले सब्स्क्राइब गरेरै पछ्याएका छन् । दशौं लाख मानिसले उनका भिडिओ प्रत्येक दिन हेर्ने गर्छन् । केही भिडिओ त एक अरबभन्दा बढी पटक हेरिएको छ ।

उनले आफ्ना भिडिओहरू ‘मनोरञ्जक र रमाइला’ हुने गरेकोले धेरै मानिसले मन पराउने गरेको गत वर्ष अमेरिकी टेलिभिजन एनबीसीलाई बताएका थिए । उनको सबैभन्दा धेरैले रुचाएको भिडिओलाई एक अर्ब ९० करोड जनाले हेरिसकेका छन् ।

पाँच मिनेट लामो त्यो भिडिओमा उनी बगैंचामा दौडिरहेको र त्यहाँ भित्र खेलौना भएका प्लास्टिकका अण्डाहरू खोजिरहेको देखिन्छ ।

सन् २०१७ र २०१८को बीचमा उनको अनुमानित आम्दानी दुई गुनाले बढेको थियो । त्यसपछि उनले आफ्नो खातको नाम ‘टोएज रिभ्यू’ राखेका छन् । पहिले त्यसको नाम र्‍यान वल्र्ड थियो ।
‘युट्युबर्स’ पुस्तकका लेखक एवं इन्टरनेट संस्कृतिबारे कलम चलाउँदै आएका क्रिस स्टोकेल वाल्करले भने, ‘युट्युब च्यानल खोलेर अनेक काम गर्ने मानिस सफल हुँदैनन् ।

९६.५ प्रतिशत युट्युबरहरू विज्ञापनबाट धेरै कमाएर अमेरिकाको गरिबीको रेखा पनि पार गर्न सक्दैनन् । किनभने धेरैभन्दा धेरै मानिस आइरहेकाले प्रतिस्पर्धा एकदमै बढ्दैछ ।’

अमेरिकी नीति अनुसन्धान संस्था पिउ रिसर्च सेन्टरका अनुसार बालबालिकाहरू समाटिएका युट्युब भिडिओलाई अन्य भिडिओलाई भन्दा तीनगुना बढी मानिसहरूले रुचाउने गर्छन् ।