रुसले आक्रमण नगर्नेमा युक्रेन ढुक्क, अमेरिकालाई बेकारको 'खसखस' ! - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

रुसले आक्रमण नगर्नेमा युक्रेन ढुक्क, अमेरिकालाई बेकारको ‘खसखस’ !



युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए ।

बिहिवार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आफ्नो विश्वास रहेको बताएका थिए ।

तर रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ । शुक्रवार रुसी विदेश मन्त्रीले मस्कोले युद्ध नचाहेको बताएका थिए ।

रुसले युक्रेनसँगको सीमा नजिकै एक लाख सेना तैनाथ गरेको छ । जेलेन्स्कीले गत वर्षको रुसी सैन्य उपस्थितिको तुलनामा अहिले बढी खतरा नदेखेको बताएका छन् ।

नेटोको उपस्थिति बलियो बनाइँदै

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको उपस्थिति बलियो बनाउन सेनाको सानो टुकडी पूर्वी युरोपमा पठाउने बताएका थिए ।

उनले सेनाको उपस्थिति कहाँ हुनेछ वा उनीहरू कहिले त्यहाँ पुग्नेछन् भन्ने विषय भने स्पष्ट पारेनन् ।

यसै हप्ता करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको थियो ।

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मुख्य मागलाई अस्वीकार गरिदिएको छ र समाधानका लागि रुसलाई “गम्भीर कूटनीतिक बाटो” प्रस्ताव गरिरहेकोमा जोड दिएको छ ।

पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई पश्चिमा राष्ट्रहरूले बेवास्ता गरेको आरोप लगाए ।

तर पुटिनले भावी बाटो तय गर्नु अघि अमेरिकाको प्रतिक्रियालाई अध्ययन गर्ने बताएको उनका फ्रान्सेली समकक्षीसँग भएको टेलिफोन वार्ता पश्चात् क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आक्रमण भए रुसको अर्थतन्त्रलाई निशाना बनाइने

यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो ।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । बिहीवार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए ।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन ।” तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे ।

विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए ।

-बीबीसीबाट