संस्मरण : सधैँ मुस्कुराइरहने राजा वीरेन्द्र
– रोशन दाहाल
“अब मैले कहिल्यै पनि राजा वीरेन्द्रको मुस्कान हेर्न पाउने छैन।” राजा वीरेन्द्रबिनाको राजदरबार छिरिरहँदा मलाई लागिरहेको थियो।
सदाझैँ आज पनि म राजा वीरेन्द्रको मुस्कानको नक्कल गर्ने प्रयास गर्दै थिएँ। तर आफू पूरै असफल भएको पाइरहेको थिएँ। तल र माथिको ओठलाई जबर्जस्ती तन्काउन त खोजेकै हुँ। ओठ तन्काउनेबित्तिकै मुस्कान नहुँदो रहेछ। दुई मुस्कानबीच आकाश–पातालको फरक थियो। त्यो मुस्कानमा खुसी थियो, अहिलेको मुस्कानमा उदासीपन।
राजा वीरेन्द्रलाई मैले धेरैपटक नजिकैबाट देखेको थिएँ। हरेकपटक मेरो ध्यान उनको मुस्कानमा जान्थ्यो। साह्रै मन पर्थ्यो मलाई।
गज्जबको प्रभाव परेको थियो उनको मुस्कानको मेरो कलिलो मस्तिष्कमाथि। दिनभरजसो उनकै जसरी मुस्कुराउने प्रयास गरिरहेको हुन्थेँ। ऐना हेरेर उनलाई मैले देख्दा खेरीको जस्तै गरी दाँत नदेखाई आफ्ना तल र माथिको ओठ तन्काएर मुस्कुराउन खोजिरहेको हुन्थेँ।
आज पनि म जबजब मुस्कुराउँछु, राजा वीरेन्द्रकै याद आउँछ। जब अरू कोही मुस्कुराएको देख्छु, त्यसबेला पनि उनकै याद आउँछ। लाग्छ, उनी सबैको मुस्कानमा बाँचेका छन्।
मुस्कानसँगै मलाई उनको शालीन व्यक्तित्व पनि अत्यन्तै मन पर्थ्यो। बेलाबेलामा त्यस्तै गरी हिँड्ने प्रयास पनि गर्थेँ। मुस्कुराउने प्रयास चाहिँ सधैँ गरिरहेको हुन्थेँ।
पहिलोपटक राजा वीरेन्द्रलाई देखेको दिन म दसैँको नवरात्रिमा चण्डी पाठ गर्न भनेर दरबार गएको थिएँ। प्रत्येक वर्ष एक सय आठजना ब्राह्मणद्वारा चण्डी र चारजना ब्राह्मणद्वारा वेद पाठ गराउने चलन थियो दरबारमा। एकपटक पाठ गर्न छानिएपछि अर्कोपटक त्यही प्रवेशपासका आधारमा नयाँ पास बनाएर पाठ गर्न जान पाइन्थ्यो। म त्यसबेला सात कक्षामा पढ्थेँ, नेपाल वेद विद्याश्रममा। गौशालामा अवस्थित यो विद्यालय वि.सं. २०३१ सालमा विशेषगरी दरबारमा वैदिक कामका लागि र सक्षम पण्डितहरू उत्पादन गर्ने उद्देश्यले खोलिएको हो। दरबारमा कुनै पनि काम पर्दा बटुकहरू त्यहीँबाट लैजाने चलन थियो।
दरबारका बडागुरुज्यूले चण्डी पाठ गर्न लगाएर आफैँ परीक्षा लिन्थे। हेरेर सररर पाठ गर्न सक्ने बटुकलाई पास दिलाउने व्यवस्था गर्थे। मैले उनले लिएको परीक्षा सजिलै पास गरेको थिएँ। जम्मा सात कक्षा पढिरहेको भए पनि त्यसभन्दा पहिला मैले गैँडाकोटको रामानुज वेद विद्याश्रममा तीन वर्ष संस्कृत अध्ययन गरेको थिएँ। त्यसैले मलाई संस्कृतका श्लोकहरू मजाले पढ्न आउँथ्यो। पास गर्न गाह्रो भएन।
नवरात्रिको पहिलो दिन राजाले सबै ब्राह्मणहरूलाई टीका लगाइदिइसकेपछि बल्ल चण्डी पाठ सुरु हुन्थ्यो।
त्यो दिन उनी करिब दुई बजेतिर यज्ञस्थल आइपुगे। राजा भनेका कस्ता हुन्छन् होला, कसरी हिँड्छन् होला भन्ने लागिरहेको थियो। त्यसैले पनि ममा उनीप्रति विशेष कौतूहलता जागिरहेको थियो।
दरबारमै काम गरिरहेका पण्डितमध्ये कसैले राजा आउँदै गरेका जानकारी दिए। हामी शान्त भएर उभियौँ।
लाग्यो, राजाभन्दा पहिला मुस्कान छिऱ्यो। त्यसपछि राजा शालीनताका साथ भित्र छिरे। उनी यज्ञस्थलमा बसे, सबै ब्राह्मणहरूलाई टीका लगाइदिए र सुपारी तथा कपडा दिए। त्यसपछि फर्किए। यतिबेलासम्म मैले उनको मुहारबाट मुस्कान हराएको एकछिन पनि देखिनँ। मैले उनीबाट टीका लगाइरहँदा पनि मलाई लाग्यो, उनको हातभन्दा पहिला मुस्कान मेरो निधारमा आयो। मैले टीका होइन, उनको मुस्कान लगाएँ।
म अन्य धेरै नवरात्रिहरूमा पनि धेरैपटक चण्डी पाठ गर्न गएँ। हरेकपटक उनलाई देख्दा उनी मुस्कुराइरहेका नै पाएँ।
दरबारभन्दा बाहिर पनि दुईपटक उनलाई नजिकैबाट देखेको थिएँ।
राजाबाट खिम्ती प्रथम जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रम थियो। हामी चारजना बटुक पत्रकारहरूसँगै अघिल्लो दिन राति त्यहाँ पुगेका थियौँ। राजाद्वारा उद्घाटन हुने कार्यक्रम भएकाले सो कार्यक्रममा जान आश्रममा हामीलाई शुक्ल यजुर्वेदको सबैभन्दा लामो राष्ट्रसम्बन्धी मन्त्र कण्ठ गर्न लगाइएको थियो र जसले सबैभन्दा पहिला याद गर्छ उसैलाई छान्ने भनिएको थियो। त्यसमा म पनि परेको थिएँ र जान पाएको थिएँ।
भोलिपल्ट दिउँसो एउटा हेलिकप्टरले तीन–चार फन्का लगायो त्यस ठाउँको। त्यसको केही समयपछि अर्को एउटा हेलिकप्टर आएर बस्यो। राजा हेर्न भनेर गाउँका थुप्रै मान्छेहरू अलिकति टाढा उभिइरहेका थिए। त्योबेला पनि राजाको मुस्कान कायमै थियो। जन्मिँदै मुस्कान लिएर जन्मिएका जस्ता।
उनले कार्यक्रम उद्घाटन गर्ने समयमै हामीले वेदका मन्त्र पाठ गर्नुपर्ने हुन्थ्यो। हामी सबै बटुकलाई हेर्दै उनी मुसुक्क हाँसे। मलाई साह्रै खुसी लाग्यो। उनले उद्घाटन कार्यक्रम सकिसकेपछि पनि मन्त्र लामो भएकाले हामीले एकछिन पाठ गरिरह्यौँ।
यसपटक भने उनको मुस्कानको प्रभाव गहिरोसँग पऱ्यो मलाई। म जतिखेर पनि उनकै मुस्कानको नक्कल गर्न थालेँ।
अर्कोपटक हायात रेजेन्सीको उद्घाटन कार्यक्रम थियो। हामी त्यहाँ पुगेर लामो समय बसेपछि राजारानी नै आइपुगे। कार्यक्रममा लामै समय बसे उनीहरू।
त्यो दिन मैले सबैभन्दा धेरैबेर नियालेँ राजालाई। हँसिलो र मुस्कुराइरहेको अनुहार त छँदैथ्यो, उनको शालीन व्यक्तित्व पनि मलाई अत्यन्तै मन पऱ्यो। फूलजस्तो व्यक्तित्व ! हलुका। हिँड्दा खेरी पनि हिँडेकै छैनन् जस्तो लाग्ने।
त्यस दिनदेखि मैले उनको मुस्कानका साथै हिँड्ने शैलीको पनि अनुसरण गर्ने प्रयास गरेँ।
वर्षैपिच्छे सराध्ये हुन्थ्यो दरबारमा। हामी जान्थ्यौँ। दरबारमा सराध्येमा मासु चढाइन्थ्यो र मासु पाक्थ्यो पनि। हामीलाई ‘आश्रमबाट मासु नखानू है’ भनेर पठाउँथे गुरुहरूले। दरबारमा भने हामी ‘आश्रममा गुरुहरूलाई नभनिदिनुहोला है’ भनेर टन्न मासुभात खाएर फर्कन्थ्यौँ।
मेरा लागि दुई तरिकाबाट दरबार फलिफाप भइरहेको थियो। एउटा, म सधैँ राजाजस्तै मुस्कुराउने प्रयास गर्थें। त्योबेला मलाई आफू ठूलो मान्छे भएको अनुभव हुन्थ्यो। फेरि विद्वान मान्छे नहाँसी पनि बस्दैन र धेरै पनि हाँस्दैन बरु मुस्कुराउँछ भनेर सुनेको थिएँ। त्यसैले राजाजस्तै गरी मुस्कुराइरहँदा आफू विद्वान भएको अनुभव गर्थें। मन त्यसैत्यसै फुरुङ्ग हुन्थ्यो।
अर्को फाइदा थियो, बेलाबेलामा दरबार जान पाइन्थ्यो। देशकै सबैभन्दा ठूला व्यक्तित्व राजालाई नजिकैबाट देख्न पाइन्थ्यो। दरबारभित्र छिर्न पाउँदा गर्वको अनुभूति हुन्थ्यो।
जब राजाको वंश नाश भयो रे भनेर सुनेँ, त्योबेला सबैभन्दा पहिला मलाई राजा वीरेन्द्रको मुस्कान याद आयो।
– – – –
हामी हत्याकाण्ड भएको त्रिभुवन सदनमा छिर्दा त्यहाँ खासै मान्छेहरू थिएनन्। दरबारमा घटना घटेको एघारौँ दिन हामीलाई रुद्री पाठ गर्न भनेर लगिएको थियो।
त्यहीँको एकजना मान्छेले हामीलाई बिलियर्ड हल, दीपेन्द्रको कोठा, रानी ऐश्वर्य ढलेको ठाउँ, निराजन लुकेको ठाउँ, दीपेन्द्र ढलेको ठाउँ सबै देखाए।
सबै सामानहरू अस्तव्यस्त अवस्था थिए। भुइँमा रगतका टाटाहरू देखिन्थे। भित्ताहरूमा गोली लागेका निशानहरू थिए। कोमल शाह लुकेको भनिएको सोफाको एकछेउमा गोली लागेर छरपस्ट भएको देखिन्थ्यो। कार्पेट बेरिएको अवस्थामा थियो। बिलियर्ड हलको ढोकाबाट भित्र छिर्दा देब्रेतिरको झ्यालको सिसा फुटेको थियो।
त्रिभुवन सदनको सबैभन्दा कमजोरी भनेको जहाँबाट भित्र छिऱ्यो, त्यहीँबाट निस्कनुपर्ने रहेछ। यदि निस्कने अर्को ठाउँ हुन्थ्यो भने कम्तीमा पनि निराजन भागेर निस्कन सक्ने रहेछन्।
ती मान्छेले हामीलाई बताएअनुसार निराजन बाहिर निस्केर झाडीजस्तो ठाउँमा पुगी लुकेका थिए। पार्टीको बीचमा उठेर कोठामा पुगेका भनिएका दीपेन्द्रले फर्कने क्रममा रानीलाई सिँढी उक्लँदै गर्दा गोली हानेका थिए।
अन्तिममा दीपेन्द्र ढलेको भनिएको सानो पोखरीजस्तो ठाउँमा एउटा ढुङ्गा उप्किएजस्तो देखिन्थ्यो।
ती सबै दृश्य हेर्दै गर्दा मलाई फिल्म हेरेजस्तो लागिरहेको थियो। आफ्नै खालको कल्पना गरिरहेको थिएँ। यी सबै कल्पना गरिरहँदा राजा वीरेन्द्रको मुस्कुराहट भने मेरो मस्तिष्कमा जस्ताको तस्तै थियो। मैले त त्यहाँको हल, रगत, पुल खेल्ने कुना, झ्याल, भित्ता, रुख, पोखरी, सिँढी सबै ठाउँमा राजाकै मुस्कान देखिरहेको थिएँ। सायद आफूभित्र जे छ त्यही बाहिर पनि देखिने होला।
उनले देशका लागि के गरे या गरेनन्, मलाई थाहा थिएन। मलाई यत्ति थाहा थियो, उनी देशका राजा हुन्, भगवान् विष्णुका अवतार हुन् र देशका सबैभन्दा ठूला मान्छे हुन्।
यतिचाहिँ सोचिरहेको थिएँ, “यदि देशकै सबैभन्दा ठूलो मान्छे त यहाँ सुरक्षित छैनन् भने…..!”
– – – –
अर्को एक वर्ष पनि चण्डी पाठ भयो। अर्का राजा ज्ञानेन्द्रलाई पहिलोपटक देख्दै थिएँ मैले। राजा वीरेन्द्र बितेकोमा छाएको उदासीपन अलिकति कम भइसकेको थियो।
आशा गरिरहेको थिएँ, “आज पनि पहिला मुस्कान आऊला। मुस्कानको पछिपछि राजा आऊलान्।”
तर त्यस्तो भएन। हुन त हरेक मान्छेको व्यक्तित्व फरकफरक हुन्छ, चाहे राजा होऊन् या रङ्क। त्यो मेरो आश नै गलत थियो।
राजा ज्ञानेन्द्र आउनुभन्दा पहिला पहिलाकै जसरी एकजना पण्डितले सूचना दिए। एकैछिनमा एक खालको निराशापनको तरङ्गले प्रवेश गरेजस्तो लाग्यो। त्यसको पछिपछि राजा ज्ञानेन्द्र आफ्ना केही सुरक्षाकर्मीसहित आए।
उनको अनुहारमा मुस्कान पाइनँ मैले। हुन त मैले राजाहरू सधैँ मुस्कुराउँछन् भनेर सोच्नु नै गलत थियो। त्यसमाथि त्यत्रो घटना घटेको केही महिनामै नयाँ राजा मुस्कानका साथ आउँछन् भनेर सोच्नु अतिशयोक्ति थियो होला।
गमक्क परेको उनको अनुहार रिसाएको जस्तो देखिन्थ्यो। अनुहारले पनि धेरै कुरा बताउँदो रहेछ। राजाहरू कोमल हुन्छन् भन्ने मेरो मानसिकता तुरुन्तै हटेर गयो।
– – – –
दरबार हत्याकाण्ड भएको पाँच वर्षपछि म बनारसमा थिएँ। त्यहाँ एकजना तान्त्रिक गुरु थिए, देशराज पाठक। बगलामुखीको ध्यान गर्थे। सोसम्बन्धी एउटा पुस्तक पनि लेखेका छन् उनले।
एकपटक मलगायत मेरा केही साथी उनको बगलामुखीको अनुष्ठानमा गएका थियौँ। अत्यन्तै कडाइका साथ अनुष्ठान गराउँथे उनी। सबैको मुखमा हेरिरहेका हुन्थे र कसैले मन्त्र गलत उच्चारण गरिरहेको छ भन्ने लाग्यो भने माला घुमाउँदैन थिए। हाम्रो डेढ माला पूरा हुँदा उनको एक माला पनि पूरा हुँदैनथ्यो।
एकपटक आधा रातमा अनुष्ठान चलिरहँदा उनले प्रसङ्गवश हामीसँग राजा वीरेन्द्रका विषयमा एउटा कुरा सुनाए, “नेपाल नरेशलाई मैले आफ्नो आउँदै गरेको सङ्कट हटाउन बगलामुखीको ध्यान गर्न भनेको थिएँ। उनले नेपालकै ब्राह्मणबाट गराउँछु भनेर मानेनन्।”
उनका अनुसार राजा वीरेन्द्रका हातमा तीन मुख्य रेखाहरू थिएनन्।
मलाई उनका कुरा खासै चित्त बुझेन। मान्छे मरिसकेपछि उसका बारेमा जे भने पनि भइगो नि। मुख्य कुरा त त्यो रहस्य के थियो भनेर खोल्न सक्नु हो। त्यसैले मैले उनको कुरामा खासै ध्यान दिइनँ।
चार वर्षपहिला मैले एकजना उच्चकोटिका साधु तारा विहारी शरण (कारणवश नाम फेरिएको) बाट मेरो यस जिज्ञासाको उत्तर पाएँ। ती साधु र सन्त नरहरिनाथ दरबारमा शुक्रबार पार्टी हुनुभन्दा पहिला राजासँग भेट्न जाने गरेका रहेछन् बेलाबेलामा। राजा वीरेन्द्र र रानी ऐश्वर्याले बेलाबेला उनकै आश्रममा गएर आध्यात्मिक सल्लाह पनि लिने गरेका रहेछन्। मुक्तिनाथ यात्रामा जाँदा बास यात्रीहरूलाई बस्ने सुविधा होस् भन्ने हिसाबले आश्रमहरूमा कम्मललगायतका सामानहरूको पनि तिनै साधुको आग्रहमा व्यवस्था गरिदिएका रहेछन्। पछि मैले ती साधुसँगै मुक्तिनाथको यात्रामा जाँदा यो कुरा अन्य आश्रमबासीहरूबाट पनि थाहा पाएँ।
हत्याकाण्ड भएको शुक्रबार पनि ती साधु दरबार जान भनेर हिँडेका रहेछन्। गेटमा पुगेपछि एकजना सुरक्षाकर्मीले उनलाई त्यो दिन भित्र छिर्न दिएनछन्। त्यहीँबाट फर्काइदिएछन्। गाडीमा पुऱ्याउनै लगाए रे।
भोलिपल्ट बिहान उठ्दा साधुले घटनाका बारेमा थाहा पाएछन्।
मैले उनीसँग सोधेँ, “यस्तो कुराले कहाँ हुन्छ ? सक्नुहुन्छ भने स्पष्टै भन्नुस् न, के भएको थियो त्यो दिन।”
उनले सही उत्तर त दिएनन्, तर उनको कुराले मलाई अलिकति चित्तचाहिँ बुझ्यो।
उनले भने, “मलाई यस घटनाका बारेमा थाहा छ, तर यदि मैले भनिदिएँ भने पनि त्यो अमूर्त कुरा बनिदिन्छ। यस्ता घटनाले प्रमाण माग गर्छन्। प्रमाण मसँग छैन। म देख्न मात्रै सक्छु। फेरि हाम्रो आध्यात्मिक भाषामा भन्नुपर्दा राजाको आफ्नै कर्मको पनि दोष हुन्छ। हुनु नै थियो, भयो। अब यसमा बोल्नु या नबोल्नुले कुनै पनि अर्थ राख्दैन। तैपनि म यत्ति चाहिँ भन्न सक्छु, यसमा ठूलो षड्यन्त्र लुकेको छ।”
मैले दरबार हत्याकाण्डको रहस्यका बारेमा थाहा त पाउन सकिनँ, तर राजा वीरेन्द्रको मुस्कान भने कहिल्यै बिर्सन सकिनँ। म आफैँ मुस्कुराउँदा र अरू सबै मुस्कुराइरहेका देख्दा मलाई झल्झली राजा वीरेन्द्रकै याद आउँछ। लाग्छ, मेरा लागि वीरेन्द्र हरेकको मुस्कानमा बाँचेका छन्।