रोनाल्डोले भने- विश्वकपको उपाधि मेस्सीले जित्नुपर्छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रोनाल्डोले भने- विश्वकपको उपाधि मेस्सीले जित्नुपर्छ



काठमाडौं । ब्राजिलियन ‘लेजेन्ड’ रोनाल्डोले अर्जेन्टिनी कप्तान लियोनेल मेसीलाई विश्वकपको उपाधि जितेर देखाउन चुनौती दिएका छन् । मेसीले असाधारण उपलब्धिहरू हासिल गरेका कारण उनी विश्वकप उपाधिको हकदार नहुने रोनाल्डोको भनाइ छ ।

सेमिफाइनल प्रवेश गर्नुअघि अर्जेन्टिनाले अन्तिम आठको खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा मेसीले खेलमा एक गोल र एक असिस्ट गरेका थिए । यो खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र नेदरल्यान्ड्सले २–२ को बराबरी खेलेका थिए ।

त्यो जितसँगै छैटौँपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले आज सेमिफाइनलमा लुका मोड्रिचको क्रोएसियाविरुद्ध खेल्दै छ ।

अर्जेन्टिनाले सेमिफाइनलसम्मको यात्रा तय गर्दा मेसीको जादुमयी प्रदर्शनको साथ पाएको छ । मेसीले कतारमा जारी प्रतियोगितामा चार गोल र दुई असिस्ट गरेका छन् । जारी विश्वकपमा फ्रान्सका किलियन एमबाप्पे मात्र मेसीभन्दा धेरै गोलमा संलग्न भएका छन् । एमबाप्पेले अहिलेसम्म पाँच गोल र दुई असिस्ट गरेका छन् ।

रोनाल्डोले सातपटकको बालोन डी‘अर विजेतालाई विश्वकपको उपाधि सहजै नजितिने भन्दै जितेर देखाउन चुनौती दिएका हुन् । “हामी सबै यसका लागि योग्य छौँ । तर, कसैले तिमीलाई केही दिने छैन । तिम्रै उपलब्धिहरूले पनि तिमीलाई विश्वकपका लागि योग्य बनाउँदैन । यसका लागि योग्न हुन जित्नैपर्छ मेसीले पनि,” रोनाल्डोले भने ।

रोनाल्डोले मेसी पहिलाको तुलनामा कम प्रभावकारी देखिएको भन्दै उनले अझै पनि खेललाई निर्णायक बनाउन सक्ने बताए । “अर्जेन्टिनाले राम्रो खेलिरहेको छैन । तर, उनीहरूले एक टिमको रूपमा एकताबद्ध भएर खेलिरहेका छन् ।

उनीहरूको प्रदर्शन आक्रामक छ र उनीहरूसँग मेसी पनि छन्, जसले बक्स वरपर बल पाए खेललाई निर्णायक बनाउन सक्छन्,” रोनाल्डोले भन्छन्, “तर, पहिलेको तुलनामा मेसीले खेलमा पार्ने प्रभाव केही कम भएको छ । करियरको सुरुआतमा मेसीले ३० मौका सिर्जना गर्थे र अहिले १० । तर पनि उनी अझै यो काम गर्दै छन् । बल पाएको बेला मेसी स्पेस खोज्छन् । मेसी निकै प्रभावकारी बनेका छन् ।”

रोनाल्डोले अर्जेन्टिनाले विश्वकपको उपाधि जिते आफू मेसीका लागि खुसी हुने बताए । “यदि, मेसीले विश्वकप जिते म उनका लागि खुसी हुनेछु,” उनले भने, “तर, अर्जेन्टिना र ब्राजिलबीच फुटबलमा ठूलो प्रतिद्वन्द्विता छ । म अर्जेन्टिनाका लागि खुसी हुनेछु भन्दिनँ ।”