नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने



नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । उक्त पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ।

सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको हो।

प्रतिपक्षमा बस्ने जानकारी नागरिक उन्मुक्ति पार्टीले गराएकाले त्यही अनुसारको व्यवस्था गराएको संसद सचिवालयले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूले सरकारलाई विश्वासको मत दिने भए पनि सरकारमा नजाने बताइन्। ‘हामीले रेशम चौधरीको रिहा नभएसम्म सरकारमा नजाने निर्णय गरेका छौं। तर सरकारलाई विश्वासको मत दिन्छौं,’ उनले भनिन्।

संसदको पहिलो अधिवेशन सुरू हुनुअघि संसद सचिवालयले राजनीतिक दलहरूलाई सत्तापक्ष र प्रतिपक्षको लहरमा कता बस्ने भनेर सोध्ने गर्छ। त्यही क्रममा सचिवालयले तीन दिनअघि नागरिक उन्मुक्ति पार्टीलाई बस्ने ठाउँबारे सोधेको थियो।

संसद सचिवालयका अनुसार अहिलेसम्म नेपाली कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपालाई प्रतिपक्षको लहरमा राखिँदैछ।