प्रधानमन्त्रीसँग रविले भने- त्यसो भए सरकारलाई हाम्रो समर्थन रहन्न - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रधानमन्त्रीसँग रविले भने- त्यसो भए सरकारलाई हाम्रो समर्थन रहन्न



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार बेलुकासम्म गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका स्रोतले बताएको छ। रवि आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री हुन चाहन्छन्।

‘साँझसम्म गृहमन्त्री नदिएको खण्डमा सरकारलाई हाम्रो समर्थन रहँदैन, हामी बाहिरिन्छौँ’ लामिछानेको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि शुक्रबार एकैपटक सांसद, मन्त्री र रास्वपाको सभापति पद गुमाउन पुगेका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएका उनले सोही दिन रास्वपाको पार्टी सदस्यता लिएर सभापति मनोनित भएका थिए। त्यसपछि उनी आफैं गृहमन्त्री बन्ने लबिइङमा छन्।

केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले भने गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रका नेताहरुले भने गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय छाड्न नसकिने बताउँदै आएको छ।