राम रहीमको आश्रमको खानतलासी सुरु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

राम रहीमको आश्रमको खानतलासी सुरु



भदौ २२, काठमाडौं ।
बलात्कारको आरोपमा सजाय खेपिरहेका कथित धर्मगुरु राम रहीमको सिरसास्थित डेरा मुख्यालयमा बिहिबार खानतलासी सुरु भएको छ । उच्च न्यायालयका तर्फबाट खानतलासीका लागि नियुक्त गरिएका अदालतका प्रतिनिधि पानीपतका सेवानिवृत्त न्यायाधीश एके पवार बिहिबार बिहानै सिरसा पुगेका छन् ।

डेरावरिपरि १६ नाका लगाइएको छ । जिल्लामा प्यारामिलेट्री फोर्सका ४१ कम्पनीहरू खटिएका छन् । विभिन्न जिल्लाबाट बोलाइएका पुलिस टोली पनि तैनाथ छन् । बम निरोधक दस्ताका ५० सदस्यका साथै ४० कमान्डो फोर्स पनि खटाइएका छन् ।’’

भारतीय सञ्चार माध्यमका अनुसार खानतलासीका लागि स्याटेलाइट नक्साका आधारमा एउटा कार्ययोजना तयार पारिएको छ ।

डेरा सच्चा सौदाको छात्रा आश्रमको दराज राखिएको ठाउँबाट राम रहीम बस्ने गरेको गुफासम्म पुग्ने एउटा भूमिगत चोरबाटो बनाइएको रहस्य युवतीहरूलाई त्यहाँबाट अन्यत्र सार्न पुगेको बाल कल्याण टोलीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

राम रहीम जेल चलान भएपछि बाल कल्याण विभागको टोली अनुसन्धानका लागि छात्रा आश्रममा पुगेको थियो । त्यहाँ उनीहरूले युवतीहरूसँग बयान लिए र आश्रमका सबै कोठाको निरीक्षण गरे । यस क्रममा एउटा कोठाको दराजमा ताल्चा लगाइएको पाइयो । टोलीले आश्रमका व्यक्तिहरूलाई उक्त ताल्चा खोल्न भन्यो ।

तर आश्रमका सञ्चालकले डेढ घन्टासम्म कुरा टारिरहे । पछि गएर टिमले ताल्चा फोडेर हेर्दा दराजमा एउटा ढोका भेटियो, जसलाई देखेर टोलीका सदस्यहरू छक्क परे । जब उनीहरू ढोकाको भूमिगत बाटोबाट अगाडि बढे, उक्त बाटो सोझै गुरमित राम रहीमको गुफासम्म पुगेको देखियो ।