खुत्रुके
– रमेशचन्द्र घिमिरे
घाँटीजस्तो टाउको अनि मुखजस्तो दुलो
हेर्दाखेरि पुड्के पुड्के भुँडी मात्रै ठूलो
भोको छ कि अघाको छ केही थाहा छैन
भित्र धेरै अँधेरो छ, हेर्दा देखिँदैन
सानो भाइले पिरोलेर किन्दिनु भो बाले
यो खुत्रुके कस्तो लाग्यो भन्देऊ बाबु लाले
कुमालेले बनाएछन् माटो पोली बोक्रो
कसो गरी बन्यो कुन्नि भित्रपट्टि खोक्रो ?
हात-खुट्टा केही छैन न त नाक् छ कान छ
खुवाउँदै जानुपर्ला जैलेसम्म खान्छ
“टेबुलतिर छरिएका मोहर र सुका
मिल्काउनु हुन्न कान्छा खुत्रुकेमा लुका
भाग्यमानी त्यै हो जसले पैसा बचाई राख्छ
ऐले पैसा जोगाए पो पछि काम लाग्छ”
सम्झाउँदै भन्नुभयो हाम्रा हजुरबाले
तर कुरो नबुझेर ट्वाल्ल पर्यो लाले
“कता पाउने सुका अचेल मोहर खोज्ने कता
हजुर बा नि के भन्नुन्छ ? छक्कै पर्छु म ता”
यसो भन्दै रुपियाँ र सिक्का पैसा खोजी
खुत्रुकेमा राख्छु भन्दै टक्टक्यायो गोजी
टिङ्लिङ् टिङ्लिङ् बज्यो अनि भाइ खुसी भयो
एउटा एउटा गर्दै गर्दै पैसा राख्दै गयो
हामी पनि त्यसै गरौँ पैसा खसालौँ
आजैबाट बचत गर्ने बानी बसालौँ ।
-0-