रामचन्द्र भन्छन्- देउवाकै कारण सबै सकियो, यसमा प्रचण्डको दोष छैन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रामचन्द्र भन्छन्- देउवाकै कारण सबै सकियो, यसमा प्रचण्डको दोष छैन



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । गठबन्धन टुट्नुमा देउवाकै कमजोरी रहेको उनले बताएका छन् ।

उनले देउवालाई पार्टीबाट कुनै दवाव नभएको पनि बताएका छन् । उनले अन्तिम समयमा देउवाकै हठका कारण गठबन्धन टुटेको टिप्पणी गरेका छन् ।

पौडेलले आफू पनि गठबन्धन बचाउन अन्तिम समयसम्म खटेको बताउंदै यो अप्रिय भएको बताए । उनका अनुसार सभापति देउवालाई पार्टीभित्रबाट कुनै त्यस्तो दबाब थिएन जसरी गठबन्धन एकाएक टुट्यो ।

सभापति देउवाकै कारण कांग्रेसले सबै गुमाएको उनको तर्क थियो । आफूले देउवालाई अन्तिम समयसम्म यो गठबन्धन टुटाउन हुँदैन भनेको स्मरण गराउँदै सबै सकिएको बताए ।

सभापतिलाई देउवाका निकट नेताहरूले पनि अन्तिम समयमा उनलाई ढोका दिएको पौडेलले बताए । उनले गठबन्धन टुट्नुमा प्रचण्डको दोष नभएको पनि बताए ।

आगामी राष्ट्रपतिका सबैभन्दा बलिया दावेदार मानिएका पौडेलले अब राष्ट्रप्रमुखको जिम्मेवारी प्राप्त गर्ने सम्भावना समाप्त भएको छ।

पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्वाचनपूर्वको ‘भद्र सहमति’ देउवाले यसपटक कार्यान्वयन गरिदिएको भए देउवा दोस्रो कार्यकाल स्वतः प्रधानमन्त्री बन्थे नै। बन्न सहज हुने थियो।

प्रचण्ड गठबन्धनबाटै प्रधानमन्त्री बनेपछि प्रचण्डकै प्रस्तावमा राष्ट्रपति नेपाली कांग्रेसले प्राप्त गर्ने थियो। प्रचण्डको साथ पाउँदा माधव नेपालले राष्ट्रपतिमा गर्नसक्ने सम्भावित दावीपनि कमजोर हुने थियो।

यो स्थितिमा नेपाली कांग्रेसका सबैभन्दा बरिष्ठ नेता र पटक–पटकको प्रयासका बाबजुद प्रधानमन्त्री बन्ने अवसर नपाएकाले गठबन्धनबाट निर्विकल्प राष्ट्रपतिको उम्मेदवार पौडेल बन्ने थिए।

उम्मेदवारमात्र होइन, राष्ट्रपति निर्वाचित हुन पौडेललाई कठिनपनि हुने थिएन। मतभार पनि सत्तागठबन्धनकै बढी भएकाले उनी सहज रुपमा राष्ट्रपति निर्वाचित हुने थिए।

यो उमेरसम्म प्रधानमन्त्री बन्न नपाएकाले पौडेलले सत्तागठबन्धन बाहिरबाटसमेत सहानुभूतिको मत प्राप्त गर्ने सम्भावनापनि थियो।

राष्ट्रपति हुने पक्कापक्की भएपछि उनी प्रधानमन्त्रीको दौडबाट पछि हटेका थिए। नत्र निर्वाचन सकिएपछि आफैँ प्रधानमन्त्री बन्छु भन्दै दौडधुपसमेत सुरु गरेका थिए।