लोकसेवा कार्यालयसामु विरोध प्रदर्शन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

लोकसेवा कार्यालयसामु विरोध प्रदर्शन



हिमालपोस्ट/काठमाडौँ-

लोकसेवाविरुद्धको प्रदर्शन अब कार्यालयमै पुगेको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाडौँको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार बिहान २ घण्टा प्रदर्शन गरिएको छ।

लोकसेवाले खुलाएको सो विज्ञापन संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले बिहीबार बिहान लोकसेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। प्रर्दशनका क्रममा उनीहरूले सो विज्ञापन खारेज गर्न माग गर्दै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए।

लोकसेवा आयोगको केन्द्रीय कार्यालयको मूल गेटमा बिहान नौ बजे पुगेका प्रर्दशनकारीहरूले संविधानप्रतिकूल हुनेगरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

सरकारको सिफारिसमा गत जेष्ठ १५ गते लोकसेवा आयोगले सो विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ। सो विज्ञापनको परीक्षा शुक्रबार (भोलि)बाट सुरु हुँदैछ।