भैरहवा औद्योगिक राजधानी : भुसाल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भैरहवा औद्योगिक राजधानी : भुसाल



भैरहवा । प्रतिनिधि सभाका सांसद एवं एमाले उपमहासचिव घनश्याम भुसालले रूपन्देहीको भैरहवालाई औद्योगिक राजधानी बनाइनु पर्ने बताएका छन् । यहाँ बढ्दै गइरहेको आर्थिक गतिविधि तथा तीव्र औद्योगिक बिस्तारका आधारमा भैरहवालाई औद्योगिक राजधानी बनाइनुपर्ने उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघको ५९ आंै साधारण सभा तथा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै उनले भैरहवालाई औद्योगिक राजधानी बनाउनको लागि उद्योगमैत्री नीति र वातावरण तयार पार्नुपर्नेमा समेत जोड दिए । ‘रूपन्देहीको बुटवल राजनीतिक राजधानी हो । भैरहवा पाँच नम्बर प्रदेशको मात्र होइन सातवटै प्रदेशको औद्योगिक राजधानी हो ।’

उनले भने – ‘भैरहवामा औद्योगिक विकासका लागि यस क्षेत्रलाई सुरुमा लोडसेडिङमुक्त बनाइनु पर्छ ।’ भैरहवालाई लोडसेडिङ्गमुक्त बनाउनको लागि आफूले पहल गरिरहेको उनले बताए । विद्युत अभावका कारण विशेष आर्थिक क्षेत्र संचालन हुन नसकेको र अरू उद्योगमा समेत विद्युत पुराउन नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले छिट्टै विद्युत समस्या हल गर्न पहल गर्ने आश्वासन दिए ।

उद्योगी व्यवसायी तथा भैरहवावासीले भोग्दै आएको विद्युत समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले भैरहवा लोडसेडिङ्गमुक्त हुनासाथ औद्योगिक राजधानी हुने दावीसमेत गरे ।

यस्तै अर्को एक प्रसंगमा उनले भैरहवाको डण्डा नदीलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने बताए । हाल नगरपालिकाले डण्डा नदी व्यवस्थापनमा गरिरहेको पहलमा थप आर्थिक सहायता बढाउन पहल गर्ने उनले बताए ।  कार्यक्रममा बोल्दै प्रदेश सांसद सन्तोष पाण्डेले भैरहवामा निमार्णाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै काम दू्रत गतिमा अगाडि बढाउन माग गरे । उनले विमानस्थल निर्माणको क्रममा जग्गा अधिग्रहणमा परेकाहरूलाई मुआब्जा वितरणमा ढिलाई गरिएको भन्दै मुआब्जा वितरण चुस्त पार्न माग गरे ।

कार्यक्रममा संघका अध्यक्ष रामकुमार शर्माले भैरहवामा आर्थिक र पर्यटकीय संभावनाहरू प्रशस्त रहेको भन्दै राज्यले यस क्षेत्रमा योजनाबद्ध रूपमा लगानी बढाउन नसकेको बताए । उनले विद्युत, आयात निर्यातजस्ता समस्याहरू समाधान गर्न माग गरे ।

कार्यक्रममा रुद्र बिलास स्मृति पुरस्कारबाट पत्रकार दिपेश पछाईलाई सम्मानित गरिएको छ । प्रत्येक बर्ष फरक–फरक विद्यामा वितरण हुँदै आएको यो पुरस्कार यो बर्ष पत्रकार पछाईलाई प्रदान गरिएको हो । यस्तै सबैभन्दा बढी निकासी गर्ने उद्योगी तथा पूर्व अध्यक्ष, पुराना सदस्य, महिला उद्यमीहरूलाई समेत सम्मान गरिएको थियो ।

निर्वाचन आज
सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज (शनिवार) मतदान हँुदै छ । अधिवेशनबाट आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्वका लागि पदाधिकारीमा दुईवटा प्यान प्रतिस्पर्धामा छन् ।

हालका वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्मा र उद्योगा उपाध्यक्ष कुलप्रसाद नयौपानेको नेतृत्वमा उद्योगी व्यवसायीहरू दुई प्यानलमा विभाजित भएका हुन् । शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नवराज न्यौपाने, वाणिज्य उपाध्यक्षमा बिनोद खरेल, उद्योग उपाध्यक्षमा शान्ता जिसी, महासचिवमा इम्तियाज अहमद, सचिवमा पशुपति कान्दु र कोषाध्यक्षमा रवि कुमार श्रेष्ठ रहेका छन् । न्यौपाने प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भीष्मप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा अरूण कुमार गोयन्का, महासचिवमा नेत्रप्रसाद आचार्य, सचिवमा विजय पाण्डे र कोषाध्यक्षमा दिलीप कुमार कान्दु रहेका छन् ।

सदस्य वाणिज्यतर्फ त्रिलोकीप्रसाद तेली, मृगेन्द्र गोविन्द श्रेष्ठ, गंगा सागर अग्रहरी, संजय कुमार बेरीवाल, सब्बिर अली पठान, हरिश कुमार सेठिया, अर्जुन कार्की, संचित खन्ना, सतिस कुमार कौसल, रियाज वारिस, धर्मविर शर्मा, हरिप्रसाद पाण्डे, गोपाल भण्डारी, कृष्ण प्रसाद अधिकारी, रामबचन तेली, भवानी बुर्लाकोटी, प्रितम रौनियार, कमल प्रसाद मरासीनी र गौरव श्रेष्ठको उम्मेदवारी छ ।

वाणिज्यमा १० पदको लागि १९ जनाको उम्मेदवारी परेको हो । उद्योग सदस्यतर्फ ५ सिटको लागी ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यतर्फ मगंल भण्डारी, सुजित कुमार श्रीवास्तव, भुवन कुमार कान्दु, उमा शंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, रमेस घिमिरे, गोविन्द ज्ञवाली र विकास कुमार गोयन्काको उम्मेदवारी परेको छ । संघमा २३ सदस्य र २ हजार १ सय ६६ मतदाता रहेका छन् ।