लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन रद्द गर्नुहोस् - रवीन्द्र मिश्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन रद्द गर्नुहोस् – रवीन्द्र मिश्र



काठमाडौँ-  स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले माग गरेका छन्।

संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोकसेवा आयोगको पनि ध्यानाकर्षण गराए। लोकसेवा आयोग स्वतन्त्र संवैधानिक अङ्ग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ।

संसदीय समितिले दिएको सो निर्देशन फिर्ता लिन दबाव दिँदै बुधबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका युवा/विद्यार्थीहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोक सेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सो निर्देशन नमान्न दबाब दिन पनि आह्वान गरे।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो। संसदीय समितिको सो निर्देशनले युवा, विद्यार्थीहरूलाई प्रतिस्पर्धाको आधारमा लोकसेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् गरेको संयोजक मिश्रको भनाइ छ। मिश्रले राज्यले लोकसेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा/विद्यार्थीहरूमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप पनि लगाए।

प्रदर्शनका क्रममा युवा/विद्यार्थीहरुले लोकसेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म सङ्घीय संसदको राज्य व्यवस्था  तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्‍ने चेतावनी पनि दिएका छन्।