ड्रोन आक्रमण गरी पुटिनको हत्या प्रयास- रुसद्वारा विश्वयुद्धको चेतावनी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ड्रोन आक्रमण गरी पुटिनको हत्या प्रयास- रुसद्वारा विश्वयुद्धको चेतावनी



रुसले बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी गरेको छ । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको आरोप लगाएको छ ।

रुसी समाचार एजेन्सी एवं सञ्चारमाध्यमले क्रेमलिनको भनाइ उदृत गर्दै ड्रोन आक्रमण भएका बेला पुटिन त्यस भवनमा नभएको र भौतिक क्षतिबाट पनि जोगिएको उल्लेख गरेका छन् ।

‘क्रेमलिनले यी कार्यहरूलाई नियोजित आतंकवादी कार्यको रूपमा मूल्यांकन गरेको छ र विजय दिवस, मे ९ को परेडको पूर्वसन्ध्यामा राष्ट्रपतिको हत्या प्रयासको रूपमा मूल्यांकन गरेको छ,’ रुसी सरकारी समाचार संस्था आरआईएले लेखेको छ ।

घटनापछि पुटिनले आफ्नो कार्यतालिका भने परिवर्तन गरेका छ्रैनन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उनले काम गरिरहेका छन् ।

रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले भोलोदिमिर जेलेन्स्कीको पतनका लागि आह्वान गरेका छन् । “हामी कीभ आतंकवादी शासनलाई रोक्न र नष्ट गर्न सक्षम हतियारहरू प्रयोगको गर्न माग गर्नेछौं,” पुटिनका निकट सहयोगी मेदवेदेवले भने । रुसका प्रधानमन्त्रीसमेत रहेका मेदवेदेवले विश्वयुद्धको खतरा बढेको चेतावनीसमेत दिएका छन् ।