पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर - संसदीय समिति - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर – संसदीय समिति



काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिने विवादित पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

सङ्घीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधीन पुल निर्माणमा गम्भीर त्रुटिहरू भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न सरकारलाई निर्देशन दिएको हो। उपत्यका सडक विस्तार आयोजनाको निर्देशनविपरीत गुणस्तरहीन काम गरेको पाइएकाले त्यस कम्पनीलाई कार्बाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो।

समितिले त्यस पुलको स्थलगत निरीक्षणसमेत गरी उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेपछि मात्र  पुलको निर्माण कार्यअघि बढाउने निर्देन दिएकामा त्यसविपरीत कम्पनीले काम अघि बढाएकाले कार्बाही गर्न सिफारिस गरेको हो। दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको भरमा आफूखुशी गर्ने त्यस कन्स्ट्रक्सन कम्पनीलाई कार्बाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ।

त्यस पुलको पुन: डिजाइन नगरी काम अघि नबढाउन पनि समितिले सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्य जीपछिरिङ लामाले त्यो पुलको निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिनु भएको थियो। उहाँले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि त्यो पुलको निर्माण कार्य गुणस्तरीय ढङ्गले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पार्नु यो।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो र यसले अन्य कैयन आयोजनाहरूको काम पनि सुरु गरेको छ र बीचैमा अलपत्र छाड्ने काम गरिरहेको छ।