पत्नी र छोरी लिएर वर्षमान पुन उपचारका लागि चीन उड्दै - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

पत्नी र छोरी लिएर वर्षमान पुन उपचारका लागि चीन उड्दै



काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गरी फर्किएका थिए ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।

चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका छन् ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।