कविता : “गाउँको वृद्धालय”
— प्रोल्लास सिन्धुलीय
बूढाबूढीमात्र छौँ गाउँमा
छोराछोरीहरू छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नातिनातिनाहरू छैनन्
आँगनको डिलमा फूल छ
तर, टिप्ने कलिला आँखाहरू छैनन्
त्यो अम्बाको बोट—
जसमा
चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरू
त्यो पाक्दै–खस्दै गर्न थालेको पनि वर्षौं भयो
बिहान जसरी रित्तो ब्युँझन्छ
उस्तै गरी सुत्छ
रित्तोरित्तो साँझ
डाँडामै छाडेर डाँडामाथिको घाम
आफैँ अनाथ भएका छन्स
हरमा छोराछोरीहरू
आउँछन्—
अभावले चिथोरेको अनुहार
देखाउँछन्, जान्छन्
एउटा कैदीजस्तो जिन्दगी दिन्छु
हिँड् भन्छन्
वनै मगमगाउने वनफूल
‘गमलामा सजाउँला’ ठान्छन्
पिँजडाको लोभ देखाउँछन्
गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई
यी डाँडा–पाखाहरू
टारी–फाँटहरू
जङ्गल–चौतारीहरू
अनि, बाँडेर कहिल्यै नरित्तिने मन
कसरी अटाउनू
उनीहरूको साढे दुईआने सहरमा ?
बाँच्नुको दुःख बिल्कुलै छैन यता
पोथ्राको गुँड हेरेर पनि
जिन्दगी चलेकै छ
— बच्चा काढ्छन्
— मुखको गाँस खुवाउँछन्
— उडाउँछन् हाँगाहाँगा पछ्याउँदै
त्यही हाँगामा तुर्लुङ्ग
झुन्ड्याइदिन्छन् अन्तिम श्वास
तथापि
आस गर्दैनन् बच्चाहरूसँग
बूढीलाई
रातो लगाएरै मर्ने रहर छ
उसको जीवनको रङ खोसेर
उडिहाल्ने पो हुँ कि जस्तो हुन्छ कैलेकैले
उस्तै त्रास भक्कानो बाँधेर
बर्बराइरहन्छु—
भित्रिएकी थिइस् तँ अघिअघि
बाहिरिने पालो मेरो अब !
जत्ति बूढो भए’नि नसुक्ने
पसिनाको गन्ध उस्तै छ
जत्ति हिउँद खेपे’नि उर्लिरहने
आँसुको भेल उस्तै छ
एक–अर्काका
ससाना दुःखहरूसँग
जिस्किरहन्छौँ, झस्किरहन्छौँ
तर, सास छउन्जेल
यो मन्दिर छाडेर कतै जाँदैनौँ
यौटा पशुपति
म उनको यतै छु
यौटी गुह्येश्वरी
उनी मेरी यतै छिन् ।
००
(प्रथम कविता, कविता महोत्सव ०७२)