नियात्रा : ढुङ्गाको कुरो गर्दै जाँदा - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

नियात्रा : ढुङ्गाको कुरो गर्दै जाँदा



~प्रतीक ढकाल~

वास्तवमै हामी ‘चामे’ आइपुग्यौँ । थान्चोकबाट सुस्तरी हिँड्दा पनि केही बेरमै आइहाल्यो चामे । बीचमा एउटा सानो ठाउँ आयो –‘त्रिच्यूनगाल्ता’ । देखिए ५/७ वटा घरहरू– अनि यसैले चामे आउन लागेको सङ्केत दियो ।

चामेको प्रवेशद्वारको रूपमा निर्मित एउटा सुन्दर ‘गेट’ले सुरुमै स्वागत गऱ्यौँ । हामीले पनि स्वागत स्वीकाऱ्यौँ र बजार क्षेत्रमा प्रवेश गऱ्यौँ । तस्बिर खिच्यौँ । पुनः मर्स्याङ्दीको झोलुङ्गे पुल तरेर ‘साङ्

चामेको प्रवेशद्वार    फोटोः लेखक

सो गेस्ट हाउस’ का अगाडि आइपुग्यौँ ।

हाम्रो छेउमै छ अर्को स्वागतद्वारका रूपमा बनाइएको एउटा अर्कै माने जो आफ्नो सुनौलो रङको जलपमा चम्किरहेको छ ।

‘चामे’ त आफैँ पनि मनाङको सदरमुकाम । जिल्लाको झण्डैझण्डै मध्य भागमा अवस्थित गाउँ । अनि, यो क्षेत्रमा भएका सबै सरकारी सुविधाहरू एकत्रित भएको ठाउँ । २७१० मिटर उँचाइमा रहेको यो ‘शहर’ मा लजहरू, टेलिफोन, प्रहरी चौकी, हेलिप्याड, एक्यापको कार्यालय, एक्यापकै सूचना केन्द्र, ठूलो गुम्बा र सुरक्षित पिउने पानीका स्टेसनहरू रहेका देखिए । त्यो बाहेक पनि अन्य सरकारी अड्डाहरू त हुने नै भए । यी सबैको योगले ‘चामे’ निकै राम्रो ‘पहाडी’ बजार बन्न पुगेको देखियो ।

चामेको चहलपहल   फोटोः लेखक

उत्तरतिर हेर्दा टोपी खस्ला जस्तो लाग्ने निकै अग्लो ढुङ्गे पहाड देखिँदैछ । ती ढुङ्गामा अनौठा अनौठा धर्साहरू कोरिएका देखिँदैछन् । कुनै समयमा यही बाटो हुँदै नागहरू स्वर्गतर्फ लागेका थिए रे । र, त्यही बेला नागहरू हिँड्दा ढुङ्गामा यी डोबहरू बसेका हुन् रे भन्ने मान्यता रहेछ स्थानीय लोकजीवनमा अझै पनि । दक्षिणतर्फ गजधम्म परेर बसेको छ– लमजुङ हिमाल । उत्तरतिरको पहरो र दक्षिणतिरको हिमालले ‘चामे’को आकाशलाई नै साँघुरो बनाइदिए जस्तो लाग्छ रे । कर्मचारीहरू भन्दै थिए– “हिउँदमा त बिहान ११ बजेतिर मात्र घाम

लमजुङ हिमाल (६९८३ मिटर) फोटोः लेखक

देखा पर्ने र दिउँसो २/३ बजेतिर नै अस्ताइहाल्ने हुँदा यहाँको त क्षितिज नै सानो छ जस्तो लाग्छ हामीलाई त ।”

हिँड्नु पर्ने बाटो पनि अति नै सुन्दर छ । हिमालहरू झलक्क खुलेका छन् र हिँड्दा हिँड्दै हामीले ‘तालेखु’ गाउँलाई भेटिसकेका छौँ ।

थान्चोककी माइलीलाई विहान ७:०० बजे छोडेर हिँडेका हामी ठीक १२:०० बजे ‘भर्ताङ्’ आइपुगेका छौँ । बाटोको एकातिर स्याउको बगैँचा र अर्कोतिर सुन्दर सल्लाघारीलाई पार गरेपछि आइपुगिएको यो ठाउँ वास्तवमै अति सुन्दर रहेछ । समय पनि भएको छ र ठाउँ पनि राम्रो पाइएको छ । अब यहीँ नै बिहानको खाना खाने तयारीमा जुटेका छौँ हामी ।

ऊ अघि हामीलाई उछिनेर आएको मेक्सिकन जोडी त यहीँ पो रहेछ । अब उनीहरूले पनि यहीँ नै ‘लन्च’ गर्ने होलान् । छाँट हेर्दा त्यस्तै देखिन्छ । केटो लम्रङ्ग पल्टेको छ बेञ्चमा र केटीले चाँहि जुम्रा हेरिदिए झैँ कपाल खेलाइदिँदैछे । जुम्रै त के होलान् र यत्तिको खाइखेली गरेर हिँडेको ‘गोरा’को कपालमा !

हाम्रा लागि ढिँडो मस्किँदैछ अहिले । हामी सबैले फापरको ढिँडो खाने कुरामा ‘सहमति’ गरेका छौँ । आखिर हाम्रो ‘सहमति’ हुने मुख्य विषय पनि यही ‘खाने’ विषय त हो नि । अनि हामी मात्र किन यो ‘राष्ट्रिय–नीति’ भन्दा भिन्न भैरहनु पऱ्यौँ र ?

खासमा ढिँडो खानभन्दा पकाउन दुःख हुँदो रहेछ । म छेउमै बसेर हेर्दैछु–  बडो कठिन काम रहेछ यो ढिँडो ‘मस्काउने’ कार्य । अनि फेरि सोचेँ– अरूलाई सजिलो हुने गरी पनि के खाने त ? खानै परेपछि त अरूलाई दुःख दिएरै ‘गौरवशाली’ ढङ्गबाटै खानु पऱ्यौँ नि ! जस्तो कि हाम्रा सरकारी कार्यालयहरूमा खाने गरिन्छ । जस्तो कि ‘चन्दा’ को एउटा चिठी पठाएर क्रान्तिकारी ढङ्गबाट ‘खाने’ गरिन्छ । जस्तो कि हज्जारौँ मौरीलाई ‘चिल्ली र विल्ली’ पारेर उसको ‘मह’ खाने गरिन्छ ।

आज ‘भान्से’लाई दुःख दिएर ढिँडो खाने भइयो । तर यो त वहाँहरूको ‘पेशा’ नै हुनाले त्यो दुःखको शुल्क पनि ‘मेनु’ मै जोडिएको हुन्छ भन्ने कुरामा हामी ढुक्क छौँ ।

ठ्याक्कै डेढ घण्टा लागेछ– यो ढिँडोको ‘कार्य सम्पन्न प्रतिवेदन’ पेश गरेर झोला बोकुन्जेल सम्ममा । पेट अघाएर हो वा साँच्चै नै राम्रो भएर हो मैले त ‘बाटो’लाई अझ राम्रो देख्‍न थालेँ । ‘सिभिल वर्क’ त निकै नै भएको देखियो ।

अनि तरियो एउटा झोलुङ्गे पुल । २०४२/४३ मा तयार भएको रे ।

यो पुल तरेर केही बेर हिँडेपछि हाम्रा दायाँ हाततिर एउटा अचम्मको पहाड देखियो । झण्डै ४५० को ढल्काइमा रहेको एउटै ढुङ्गो पूरै पहाडको रूपमा देखिएको छ अहिले हाम्रासामु । यो ढुङ्गाको विचित्रतालाई हेर्दैछौँ । हेर्दै हेर्दै सोच्दै पनि छौँ– वास्तवमा ढुङ्गाका कारणले ठूला ठूला कीर्तिमानी कुराहरू पनि बनेका होलान् नेपालमा । तर हामीले त्यतातिर ध्यान दिएका छैनौँ क्यारे । एउटै ढुङ्गोमाथि बसेको भनिएको शहर ‘पनौती’, एउटै ढुङ्गाको टेकोमा अडिएको हाम्रो ‘झुलाघाट’, दासढुङ्गा, छातेढुङ्गा, चिप्लेढुङ्गा, नागढुङ्गा, ढुङ्गेअड्डा, सुत्केरी ढुङ्गा, ढुङ्खर्क, ओखलढुङ्गा, ढुङ्गेसाँघु कति हो कति छन् ‘ढुङ्गा’ सँग सम्बन्धित ठाउँ र नाउँहरू । अझ ढुङ्गेल र ढुङ्गाना पनि कतै यस्तै कीर्तिमानी थरहरू त होइनन् कहीँ ? खै, हामीले त खोजे झैँ नै लाग्दैन ।

अँ, बरु ‘ढुङ्गाना’ भन्दाखेरि एउटा कुरा सम्झेँ। ‘अनन्त पाइला’ का लेखक चितवने धनराज गिरीले एक पटक नगेन्द्रराज शर्मा लगायतका वरिष्ठ साहित्यिक पत्रकारहरूको जमघटमा बडो ठट्यौलो पाराले सोधेछन्– “हामी सबै पञ्चायतले दमन गऱ्यौँ दमन गऱ्यौँ त भन्छौँ तर सबैभन्दा बढी ‘दमन’ कसले सहेको छ भनेर बताउन सक्छौँ त ?”

सबै जना गम्भीर भएछन् । खूब दिमाग खियाएर सोचेछन् र विभिन्न नामहरू भन्दै गएछन् । पछि धनराजजीले नै खुलासा गरेछन्– “जुनसुकै काल होस्– चाहे पञ्चायतकाल, चाहे प्रजातन्त्र; चाहे लोकतन्त्र होस् चाहे गणतन्त्र– अनवरत ‘दमन’ सहेकी नेपालकी एक मात्र मान्छे हुन्— ‘भुवन ढुङ्गाना’। उनका त श्रीमान् नै दमननाथ ढुङ्गाना । अब भन्नोस् त, उनले जति ‘दमन’ अरू कसले सहेको होला ?”

त्यसपछि ठूलो हाँसो मच्चिएको थियो रे । पछि हामी चितवनमा आएको बेला गिरीजीले आफ्नै मुखले यो किस्सा सुनाउँदा पनि म, किशोर नेपाल, सुमन घिमिरे र युग पाठक मज्जाले हाँसेका थियौँ ।

मलाई त साँच्चै खोजी पस्ने हो भने संसारको सबैभन्दा ठूलो ढुङ्गो पनि नेपालमै पाइन्छ कि जस्तो लाग्छ । पहाडको रूपमा हेर्ने हो भने दक्षिण मोहोडाबाट ‘ल्होत्से’ हिमाललाई हेर्न जानोस् न । यतापट्टि त हिउँ पनि हुँदैन । पूरै नाङ्गो ढुङ्गो देखिन्छ– सिङ्गै पहाड । ल्होत्से, ल्होत्से शार र ल्होत्से मिडल तीनवटै चुचुराहरू बोकेको ढुङ्गो एउटै देखिन्छ । कति ‘गौरवशाली’ होला यो ढुङ्गो जसले आठ हजार मिटरभन्दा अग्ला तीन तीनवटा हिमालहरूलाई एक्लैले बोकेको छ ! ८५१६ मिटर अग्लो ल्होत्से, ८४१३ मिटर अग्लो ल्होत्से मिडल र ८४०० मिटर अग्लो ल्होत्से शार एउटै ढुङ्गाको टुप्पामा रहेका छन् । तल फेदिदेखि माथि चुचुरोसम्ममा कतै पनि ढुङ्गामा ‘गाँस’ परेको देखिँदैन । अनि यस्तो विशाल ढुङ्गो कीर्तिमानी नहोला त ? ठीक छ, धेरै र कलात्मक ढुङ्गा चीनको ‘स्टोन गार्डेन’मा होलान् । तर ठूलो चाहिँ यही नै होला भन्ने मलाई लाग्छ । कसैले यो विषयमा पनि खोजीनीति गरिदिए हुन्थ्यो नि !

जमीनमा पल्टेका गोला गोला ढुङ्गाहरूकै कुरा गर्ने हो भने पनि ‘गोक्यो’ बाट ‘पाँचपोखरी’तिर जानोस् न । अनि कति देख्‍नु हुन्छ ‘तीनतले घर’ जत्रा ढुङ्गाहरू– जताततै पल्टिरहेका । परबाट हेर्दा त आहाल बसेका भैँसी जस्ता पो देखिन्छन् त अझ !

हो, यो बाटो जानोस्– ठूला ठूला र कीर्तिमानी हुन सक्ने ढुङ्गाहरूलाई आफ्नै आँखाले हेर्नोस् र ‘पाँचपोखरी’ पुग्ने बेलामा दाहिनेतिर फर्कनोस् । मौसमले साथ दियो र ‘हुस्सु’ले ढाकेन भने तपाईंले सगरमाथाको ‘दर्शन’ गर्न पाउनु हुनेछ । त्यो पनि टाउको मात्र हो र ? त्यो पनि ‘कालापत्थर’बाट देखिने जस्तो ‘पासपोर्ट’ आकारको मात्रै हो र ? पूरै शिरदेखि पाउसम्मको सगरमाथालाई तपाईँले हेर्न पाउनु हुनेछ । नेपालभित्रै यस्तो ठाउँ छ । नेपालकै ढुङ्गाहरू यति ‘गौरवशाली’ छन् । अनि जो तीर्थ गर्न दक्षिणतिर जान्छ– भन्नोस् त त्यसले के पाउँदो हो ? प्रष्टै छ– त्यस्ता तीर्थयात्रीहरूले ‘शिर’ गुमाउँछन् र ‘पुच्छर’ मात्र हेरेर आउँछन् । ‘मुहान’ छोड्छन् र फोहोरिएको अलिकति ‘पानी’ बोत्तलमा भरेर ल्याउँछन् । देख्‍नु भएको छैन, दक्षिणभारतका बैष्णवहरू कसरी जीवनमा एकपटक मात्रै भए पनि ‘मुक्तिनाथ’ र ‘दामोदरकुण्ड’को दर्शन गर्न लालायित हुन्छन् ? हामी त साक्षात् ‘आमा’को काख छोड्छौँ र धेरै परकी, त्यो पनि नाताले ‘पर्ने’ मात्र ‘सानिमा’ को दर्शन गरेर आउँछौँ र तीर्थ गरेको भन्ठान्छौँ ।

‘हामी’ वास्तवमा भूपिकै ‘हामी’ हौँ । हामी वास्तवमा हाम्रा तीर्थहरूलाई पनि चिन्न नसक्ने ‘बेइमानी’ हौँ । हामी स्वरूपमा २ खुट्टे र बुद्घिमा ४ खुट्टे ‘प्राणी’ हौँ । खासमा हामी बाँच्‍नुको अर्थ पनि नबुझ्ने ‘जिन्दगानी’ हौँ ।

यस्तै ढुङ्गाघारीलाई चीनले ‘स्टोन गार्डेन’को रूपमा विकसित गरेको छ र बर्सेनी लाखौँ पर्यटकलाई आकर्षित गरिरहेछ । हामी त पाए भएका ढुङ्गा पनि ‘निकासी’ गर्न मात्र जान्दछौँ । हेर्नोस् त, भारतको बजारलाई ध्यानमा राखेर खोलिएका क्रसर उद्योगहरू कति छन् नेपालमा ? चुरेको वातावरण संरक्षणको विषयमा त स्वयम् राष्ट्रिपतिज्यूले समेत सरकारको ध्यानाकर्षण गर्नु पर्ने खण्ड आइपऱ्यौँ । आफ्नै नाम जोडिएको आयोजनामा समेत भ्रष्टाचार होला भन्ने कत्रो पीर महामहीम राष्ट्रपतिज्यूलाई । कँही कतै झिमिक्क आँखा झिम्काउनु समेत नहुने । पूरै बिस्कुन रुँगेझैँ रुङ्नु पर्ने कार्यक्रममा विनियोजित बजेटलाई पनि । हाम्रा पितापूर्खाले आफ्नै सम्पति खर्चेर धारा, पाटी, पौवा, मठ, मन्दिर आदि बनाएर छोडेर गए । तर हामी त ‘सरकारी कोष’ खर्च गर्दा समेत इमान्दार हुन सकेनौँ । हैन कति घट्दै गयौँ हँ हामी ? कति कृतघ्‍न हौँ हामी !

साँच्चै हामी किन जे भेट्यो त्यही बेच्छौँ हँ ?

चीनको स्टोन गार्डेन  फोटोः लेखक

ढुङ्गाको यही विचित्रतालाई हेर्दै, ढुङ्गाको यस्तै विशालतालाई मनन गर्दै हामी अहिले पिसाङ्गेहरूद्वारा देउराली डाँडामा निर्मित एउटा धर्मशालामा आइपुगेका छौँ । वरिपरि काठे फलैँचाहरू बनाइएका छन् । यहाँ त सबैले पो नाम लेख्दा रहेछन् त । वरिपरि अँगारले कोरेर कुनै ठाउँ बाँकी छैन ।

वन घना नै छ । रूखका अग्लाइले भन्दैछ– हामी ‘खासै’ उँचाइमा पुगेका छैनौँ । जति जति जमीनको उँचाइ बढ्दै गयो– उति उति रुखको उँचाइ घट्दै जान्छ र धेरैमाथि पुगेपछि काई, लेउ र झ्याउ हुँदै अन्तिममा ढुङ्गाको ‘टिको’ मात्र हुन्छ भन्ने हामीलाई थाहै छ नि ! फेरि यसको विपरीत जति जति तराईको नजिक पुग्दै गयो, उति उति रुख अग्लिँदै जान्छन् र अन्तिममा त ‘सिमल’ कै रुख हुन भ्याउँछन् नि !

साढे दुई बजेतिर हामी ‘ढुकुरपोखरी’ आइपुग्यौँ । धमाधम निर्माण भैरहेका रहेछन्– होटलहरू । लौ न, यहाँ त आँगनमा समेत काठकै फल्याक ठोकेर पो भुइँ बनाएको देखियो त ! धेरै काठ पाइएर ‘प्रयोग’ गरेको होला कि ? कि अरू नै कुनै कारण होला हँ ?

छानो, घर, फर्निचर र भुइँ समेत काठकै फोटोः लेखक

मैले केही मान्छेलाई सोधेँ पनि । तर कसैले दिएको जबाफ पनि चित्त बुझ्दो थिएन । उनीहरूले भने –“अँ हो” अथवा “ठोकेको नि” अथवा “राम्रो देख्छ नि ।” मलाई यी कुनै जबाफ पनि चित्त बुझेन र स्मृतिको पर्दाबाटै ‘डिलिट’ गरिदिएँ ।

कास्कीमा ‘ढिकुरपोखरी’ नामको एक गा.वि.स. नै छ । २०४० को कुरो हो– म एकपटक त्यो भेगमा अलैँची लाग्‍न सक्ने ठाउँको सर्वेक्षण गर्न खटाइएको थिएँ । त्यही बेला त हो मैले सराङकोट, कास्कीकोट, भदौरे तामागी र ढिकुरपोखरी क्षेत्रको पैदल भ्रमण गरेको । अनि तत्कालीन यी ‘गाउँ पञ्चायत’हरू बारे जानकारी पाएको पनि । त्यसबेला मैले पूर्व र दक्षिण फर्केका अनि वन र बुट्यानले ढाकिएका भिराला पाखाहरूको सूची नै बनाएर तत्कालीन ‘कृषि शाखा’मा पेश गरेको थिएँ । पछि ‘कृषि शाखा’ले के गऱ्यो थाहा भएन । म त त्यस लगत्तै पाल्पा गइगएँ । जागिर खाने ठाउँमा परिवर्तन आएपछि हामी कर्मचारीले त हिँड्नै पऱ्यो नि !

झापामा छ एउटा ‘ढुकुरपानी’ भन्ने ठाउँ । दमकको नजिक पर्ने यो ‘ढुकुरपानी’, कास्कीको यो ‘ढिकुरपोखरी’ र अहिले हामी आइपुगेको ‘ढुकुरपोखरी’का बीचमा के कुनै साइनो होला त ? यो मथिङ्गल खियाउने कुरो त पक्कै पनि होइन । तर हामी हिँडिरहेका मान्छेका लागि त यसो ‘बाटो–कटनी’ को मेलो पनि त चाहियो नि । चुपचाप चुपचाप हिँडिमात्रै रहे त – बोर होला के रे ! अनि बल गरी गरी ‘कुरा’ झिक्या नि !

साह्रै नै रमाइलो, घमाइलो र हिँडिलो रहेछ यो बाटो । फराकिलो पनि उस्तै । पूरै तराईकै जस्तो दुबैतिर जङ्गल अनि बीचमा बाटो । साँच्चै भन्दाखेरि पूर्वपश्चिम राजमार्गबाट रूपन्देहीको रुद्रपुरतिरजाने ‘फायरलाइन’को बाटो जस्तो । यो फायरलाइन मात्र किन ? अमेरिकाकै जस्तो भने पनि हुन्छ । आखिर अमेरिकामा पनि यसरी नै बाटोको दुबै किनारामा वन हुर्काइएकै त हुन्छ नि ! थप विकास त देश अनुसार हुने भयो । नेताको ‘अनुहार’ अनुसार हुने भयो । ‘नीति’ अनुसार त नेपालमा को चलेको छ र ?

निर्माणाधीन बाटो   फोटोः लेखक

सानो तर सुन्दर पोखरी देखियो बाटोमा । शायद यही होला खास ‘ढुकुरपोखरी’ चाँहि । गीतमा, कवितामा सुनिएको थियो– मायालुलाई ‘इन्द्रेनी’ को हार लगाइदिने कुरा । अचम्मै लाग्यो– धर्तीमा देखियो त्यो । त्यस्तो क्षण हेर्न पनि यही पोखरीमा जुऱ्यो । पोखरीमाथि साँच्चै नै प्रकृतिले इन्द्रेनीको हार लगाइदिएको बेलामा आइपुगेका रहेछौँ हामी । धमाधम क्यामेरामा कैद गऱ्यौँ यो दुर्लभ दृश्य । धमाधम मनको कुनामा कैद गऱ्यौँ यो असाधारण कारिगरी । र, धमाधम स्मृतिको ‘चिप्स’मा ‘सेभ’ गर्न थाल्यौँ यो अनुपम सौन्दर्य ।

इन्द्रेनीको हार पोखरीलाई फोटोः लेखक

इन्द्रेनीमुनि अनि पोखरीको डिलमा उभिएर सबैले खिच्यौँ– एकअर्काको तस्बिर । अनि अवाक भएर धेरैबेरसम्म हेरिरह्यौँ– प्रकृतिको यो अद्भूत जादुगरीलाई ।

प्रकृति, तिम्रो कलाप्रति हामी नतमस्तक छौँ !

प्रकृति, तिम्रो क्षमताप्रति हामी नतमस्तक छौँ !!

प्रकृति, तिम्रो सिर्जनाप्रति हामी नतमस्तक छौँ !!!

प्रकृति, तिम्रो शालीनता, महानता, रहस्यमयता, सौम्यता, अगम्यता सबै सबैप्रति नै हामी अबोध बालकहरू सधैँ सधैँ नै नतमस्तक छौँ ।

अहिले हामी स्थानीय प्रविधिबाट बनेको एउटा काठेपुल तर्दैछौँ । यो पुल देख्दा पनि मलाई ‘फुँगिठाँगा’को काठेपुलको याद आइरहेछ । अहो, कस्तो हतारमा, अनि कस्तरी ‘सङ्कट व्यवस्थापन’ गर्ने शैलीमा बनाइएको थियो त्यो पुल । यता खुम्बु क्षेत्रका हिमालहरू आरोहण गर्ने पर्वतारोहीहरू काठमाडौँबाट हिँडिसके – उता बाढीले पुल नै फ्याँकिदियो । यस्तो ‘सङ्कटकालीन’ अवस्थामा तयार गर्न लगाइएको त्यो पुल । “पाइतालाका छापहरू”मा यो पुलबारे निकै लेखेको छु मैले ।

स्थानीय प्रविधिको मर्स्याङ्दी पुल  फोटोः लेखक

अहिले पनि यो पुल देख्‍नासाथ मलाई किन किन फुँगिठाँगा कै झल्को आयो । शायद यतातिर प्रचलित स्थानीय प्रविधि पनि उस्तै उस्तै भएर पो हो कि ? वा प्रयोग हुने काठ–पात उस्तै भएर पो हो कि ? रीति–रिवाज र संस्कृति समानताका कारणले पो मेरो मनमा उस्तै खालको प्रेम उर्लेर उस्तै उस्तै देख्छु कि ? वास्तवमा किन मैले अहिले त्यो पुललाई सम्झेँ ?  कारण थाहा छैन । यसबाट म के निष्कर्षमा पनि पुगेँ भने– मन भन्ने ‘चीज’ हामीले डोऱ्याएको बाटोमा मात्र हिँड्ने होइन रहेछ । र, ‘सम्झन’ यसलाई कुनै ‘कारण’ पनि नचाहिने रहेछ । यो त ‘मनमौजी’ तालले जता पनि डुलिहिँड्ने स्वतन्त्र पक्षी पो रहेछ ।

मलाई पनि ‘मन’ हुन मन लाग्यो । तर शरीर कहिले पो मन हुन सक्ला र ? के यो स्थूल शरीर पनि मन जस्तै ‘हलुङ्गो’ भएर बतासिन सक्ला त कुनै दिन ?

यो पुल, फुँगिठाँगा र मनको अन्तद्वन्द्वमै रुमल्लिएका बेला पुलको वल्लो छेउमा आइपुगियो । ओहो, अन्नपूर्ण हिमालको कति सुन्दर झलक देखियो यहाँबाट । यो पुल अनि त्यो सुन्दर हिमाल !

वाह ! स्वर्ग कँही छ भने यहीँ छ । मेरो मनले ‘ठाडो’ प्रस्ताव राख्यो र तात्तातै पारित पनि गऱ्यौँ । अरू साथीहरूका विस्फारित आँखामा हेर्दा पनि कतैबाट विरोधमा स्वर उठ्ला जस्तो देखिएन । क्यामेराका क्लिक क्लिक र झिलिक–मिलिकले पनि धमाधम समर्थनमै ‘भोट’ हाले जस्तो लाग्यो । यदि यो अहिलेको ‘दृश्य’ फेसबुकको भित्तो भएको भए साथीहरूले कति धेरै ‘लाइक’ ठोक्दा हुन् । कति धेरै ‘शेयर’ गर्दा हुन् । हामी त जम्मा नै ४ जना मात्र छौँ । दुई जना भरिया भाइहरूले त योभन्दा अगाडि पनि पटक पटक देखेका हुनन् – त्यसको हिसाब कोसँग छ र ?

लभ यु अन्नपूर्ण……. लाइक यु टु मच……. फोटोः लेखक

चारैजनाले आँखै आँखामा ‘शेयर’ गऱ्यौं । अनि, क्यामेराभित्रै धेरै पटक ‘लाइक’ ठोकेर फेरि बाटो लाग्दैछौँ । हाम्रो दाहिनेतिरको डाँडोमा पुरानो शैलीको बस्तीको झल्को दिने ‘माथिल्लो पिसाङ’लाई देखिरह्यौँ । देब्रेतिर हामी हिँडिरहेको बाटो नै भैगयो– जसले हामीलाई ‘तल्लो पिसाङ’तिर लैजाँदैछ । सोझै आफ्नो नाडीमा हेर्दा चाँहि दिउँसोको ४:४५ बजाएको एक थान घडी देखिन्छ । हामी यी तीनै दिशामा हेर्दै अगाडि बढ्दैछौँ । पिसाङको सुन्दरतासँगै मख्ख पनि पर्दैछौँ । घर्तीमा यस्ता यस्ता ठाउँहरू कसले बनायो होला– पिसाङ हिमालतिर हेरेर छक्क पनि पर्दैछौँ ।

 

-0-