परदेशिएका कलाकारलाई विदेशमा हुने कार्यक्रममा सम्बोधन मै हेपिएको हो त ?पुरा पढ्नुहोस् केहि कलाकारहरुको विचार सहित - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

परदेशिएका कलाकारलाई विदेशमा हुने कार्यक्रममा सम्बोधन मै हेपिएको हो त ?पुरा पढ्नुहोस् केहि कलाकारहरुको विचार सहित



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो कार्यक्रमको नाम “१०कलाकार १प्रश्न” हो।

प्रस्तुति:  समिर प्रकाश पाण्डे

यो साताको प्रश्न यसप्रकार छ ।

विदेशमा हुने कलाकारलाई ‘लोकल’ वा  ‘स्थानीय’ अनि नेपालबाट लिएर आउने कलाकारलाई ‘राष्ट्रिय स्तर’को भनेर सम्बोधन गर्दा कस्तो महसुस हुन्छ ?विशेष गरेर परदेशिएका कलाकारलाई विदेशमा हुने कार्यक्रममा सम्बोधन मै हेपिएको हो त ?

बिमल डाँगी (गायक) हाल अमेरिका:यो पुरानै रोग हो,अरू जिल्लाबाट आएका कलाकारलाई राष्ट्रिय कलाकार अनि आफ्नै जिल्लाका कलाकारलाई स्थानीय भन्ने चलन जस्तै नै हो यो,तर कतिपय आयोजकले अन्जानबस पनि यस्तो गर्दछन् भने कतिले जानाजान कलाकारलाई गिराऊन/होच्याऊन पनि यस्तो गरेको पाइएको छ,त्यसैले जो कलाकार जहाँ भए पनि उसको कलाकारीताको मूल्याङ्कन गरेर सम्बोधन गरिनु पर्छ भन्ने मान्यता छ ।

कल्पना श्रीपाल (गायिका)हाल यु. के:पहिलाे कुरा त देश छाडेर परदेशी हुनु नै कलाकार काे लागि अत्यन्तै दुखदायी कुरा हाे तर कलाकारितामा लागिसकेपछि स्वतह रूपमा हामी भावुक र भावनात्मक हुने गर्दछौँ ,जसले गर्दा न कसैलाई केही भन्न सकिन्छ न केही गर्न नै ,न त कसैले भनेको सहन नै सकिन्छ । अर्काको ठाउँमा भनाइ खाने ,सुन्नु पर्ने धेरै कुरा हुन्छ ।पहिलो कुरा त अर्काकाे ठाउँमा भाषाकाे कारण दुख,दाेस्राे समाजमा घुलमेल हुन गार्‍हो हुन्छ ।त्यही माथि यहाँ आइसकेपछि सिधै १/२ महिनामा नै स्थानीयकाे दर्जा पाइदाे रहेछ।विभिन्न सङ्घ संस्थामा कार्यक्रम हुन्छ अनि बाेलाउनु हुन्छ अनि सम्बाेधन पनि स्थानीय कलाकार भनेर गरिन्छ अनि पारिश्रमिक पनि साेहि अनुसार दिने गरिन्छ ।अत्यन्तै दुख लाग्छ ।केही समय आफ्नो पारिवारिक ,आफ्नै केही बाध्यता ले गर्दा बिदेशीनु पर्ने हामी कलाकारलाई यस्ता व्यवहारले गर्दा आफ्नो अस्तित्व अनि पहिचान नै गुमेकाे आभास दिलाउदाे रहेछ र साेच्ने गर्दछु मैले कलाकारिता क्षेत्रमा दिएको १०/१२  वर्ष केही समय बाहिर बस्दा त विलीन भएर जाँदाे रहेछ।

माधव सिक्देल (मोडल तथा गायक) हाल  जापान:नमजा त अवश्य लाग्छ किनभने परदेशमा रहेरपनि हाम्रो लोक संकृतिलाई चिनाउने बचाउन भूमिका खेल्दै आएको जस्तो लाग्छ  नेपालबाट आउँदा राष्ट्रिय परदेशमै रहँदा स्थानीय भनिरहँदा कता कता नमजा लाग्छ सम्बोधन कै क्रममा पनि केही ठाउँमा ख्याल नगरेको पाउँछु ।

असीम महत (गायक) हाल बहराईन:अत्यन्तै वास्तविकतामा आधारित प्रश्न वास्तवमै स्थानीय भन्नुमा त आपत्ति छैन तर मेहनतकाे कदर नहुदा हेपिएकाे अनुभव हुन्छ । हामीले ड्युटी देखि लिएर सबै कुरालाई व्यवस्थापन अनि कडा मेहनतका साथ प्रस्तुति दिएका हुन्छौं तर सम्बाेधन जुन भाषाले गरिए पनि स्थानीय भनेर प्रस्तुति गरिसकेपछि गरिने व्यवहारले अति नै मन दुखेर आउँछ।मेराे बुझाइमा स्थानीय शब्दले भन्दा हामीलाई गरिने व्यवहारले हामीलाई हेपिएकाे महसुस हुन्छ ।

सकुन्तला थापा (गायिका) हाल ईटाली:खै मैले आज सम्म आफूमा त्यस्तो पाएकी छैन, म विदेशमा छु कुरा आएको बोलाएको ठाउँमा आफ्नै डिमानडमा जाने गर्छु नेपालीहरूले हामीलाई स्थानीय संम्झनु भनेको हामी नजिक छौ त्यसैले होला । अर्को कुरा म कार्यक्रम भएको ठाउँमा अथवा बोलाएको सबै कार्यक्रमहरूमा जान पाउदिन किनकि समय मिल्दैन  काम गर्नु पर्छ तर पनि समय मिले सम्म म जाने गरेकी छु जति कार्यक्रममा जान्छु राम्रो सम्मान र माया पाएकि छु । मेरो बिचारमा स्थानीय र राष्ट्रिय भनेर छुटाए जस्तो लाग्देन ।

महेन्द्र विश्वकर्मा (सर्जक) हाल कतार:विदेशमा मात्रै नभएर नेपालभित्रै पनि हुने विभिन्न कार्यक्रममा राष्ट्रिय कलाकार र लोकल वा स्थानीय कलाकार भन्ने चलन पछिल्लो समयमा जताततै सुनिन्छ । कलाकार भैसके पछि सबै राष्टिय हुनुपर्ने हो ।एउटा कुरा त के भने कुन आधारमा राष्ट्रिय र स्थानीय भनेर छुट्याईयो यो छुट्याउनेहरुले नै जानुन । अर्को कुरा पछिल्लो समयमा हाम्रा कलाकारहरू आयोजकले आफूलाई अलि बढी नै महत्त्व दिउन् या टाढा बाट आएको कलाकारलाई आयोजकले पनि बढी नै सम्मान महत्त्व दिएर राष्ट्रिय भन्दिउन त भनेर पनि भनेको हुनसक्छन् तर म भने यस्लाई एउटा कलाकारले अर्को कलाकारलाई स्वीकार वा सम्मान गर्न नसक्नु वा नखोज्नुको उपजको रूपमा लिन्छु ।

रुद्र थापा (गायक) हाल युएई:म हाल युएईमा छु र यही जागिर गर्छु । युएईमा हुने प्रायजसो नेपाली सास्कृतिक कार्यक्रमहरूमा मलाई बोलाईन्छ र म भ्याए सम्म र सके सम्म सबै कार्यक्रममा सहभागिता जनाउछु । मलाई स्थानीय कलाकार भनेर बोलाउदा त्यति ठुलो आपत्तिको रूपमा त लिदैन किनकि स्थानीय कलाकार कस्तो स्तरको कलाकारलाई भन्ने र राष्ट्रिय कलाकार कस्तो स्तरको कलाकारलाई भन्ने भन्ने बारे धेरैलाई थाहा छैन । ३०-अगस्ट २०१३ मा युएईको आबुधाबीमा भएको बृहत् सास्कृतिक  कर्यक्रममा म कार्यक्रम कै लागि नेपाल देखि युएई प्रवेश गरेको थिए । त्यति बेला मलाई राष्ट्रिय कलाकार भनिन्थ्यो तर अहिले म युएई मै भएको कारणले स्थानीय कलाकार (local artist) भन्नहुन्छ कार्यक्रम आयोजक र अन्य साथीहरू । राष्ट्रिय कलाकारको सम्मानमा कार्यको लागि युएई छिरेको म कसरी स्थानीय कलाकार भए त?अब यसलाई कसरी लिने?
सम्पूर्ण कार्यक्रम आयोजक सङ्घ सस्थाका साथीहरूलाई मेरो प्रश्न…..
कस्ता खाले कलाकारलाई राष्ट्रिय कलाकार भनिन्छ र कस्ताखाले कलाकारलाई स्थानीय कलाकार भनिन्छ?
के नेपाल देखि कार्यक्रमको लागि विदेश आउने कलाकार जति सबै राष्ट्रिय कलाकार हुन त?
के विदेशमा बस्ने सबै कलाकार स्थानीय कलाकार हुन त?
कुन स्तरको कलाकार लाई राष्ट्रिय कलाकार भन्ने र कुन स्तरको कलाकारलाई स्थानीय कलाकार भन्ने भन्ने विषयमा राम्रो ज्ञान नभएका कारण यहाँ भेद छ ।गीत सङीत र कलाकारिता सम्बन्धी केही राम्रो ज्ञान भएको, केही आफ्ना श्रीजनाहरुलाई बजारमा ल्याएको र आफ्नो श्रीजनाले दर्शक तथा श्रोताको माया पाएको केही लोक प्रिय कलाकारलाई राष्ट्रिय कलाकारको राष्ट्रिय कलाकार भन्न मिल्छ चाहे त्यो कलाकार नेपाल मै बसोस चाहे त्यो कलाकार विदेशमा बसोस ।स्थानीय कलाकार त्यस्तो कलाकारलाई भन्न सकिन्छ जो सँग कलाकारिताको खुबी छ जसले आफ्नो कलाकारितालाई सुरुवात गर्दै छ र चर्चा कमाईसकेको छैन । चाहे त्यो नेपाल मै बसेको होस चाहे विदेशमा । दुबईमा बसेर कलाकारिता क्षेत्रमा मेहनत गरेर राम्रो चर्चा कमाइरहेका कलाकारहरुलाई दुबई मै हुने कार्यक्रममा बोलाईयो भने स्थानीय कलाकार भन्नू त्यति उपयुक्त होइन भन्ने लाग्छ मलाई ।

सन्तोष बानियाँ (सर्जक तथा गीतकार) हाल मलेसिया:सर्वप्रथम त राष्ट्रिय कलाकार मापन गर्ने  सम्यन्त्र के हो? कस्लाइ राष्ट्रिय कलाकार भन्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।काठमाडौमा बसेर गीत गर्ने पनि कलाकार नै हो अनि मोफसल र विदेश बाट गीत गर्ने पनि कलाकारनै हो।कलामा विकासे र लोकल हुँदैन मतलब नेपालमा राष्ट्रिय कलाकार राज्यले बनाएको छैन।विदेशमा मात्र होइन नेपालैमा गरिने कार्यक्रम मा पनि कलाकार बिच भेद छुट्ट्याइन्छ दुखद पक्ष।आयोजकले कुन आशयमा भन्छन् त्यो त थाहा भएन कहिले काहीँ नेपालमा नाम कहलिएका कलाकार जो परदेशमा वा गाउमा छन उसलाई पनि स्थानीय कलाकार भनेर भन्ने गरेको पाइन्छ त्यति बेलामा सार्है चित्त दुख्छ।अर्को कुरा कलाकारले आयोजकलाई कार्यक्रम मिलाइदिन पर्‍यो हजुर भन्दै हात जोड्ने गरेको पनि भेटियो त्यसैले पनि हो कि?तर मेरो हकमा त्यस्तो आज सम्म भएको छैन यदि हुन्छ भने पनि म सिधै अस्वीकार गर्छु।

सुरज परियार (गायक तथा सर्जक) हाल साउदी:मेरो विचारमा भन्नु पर्दा अहिलेको माहोलमा कलाकार साथीहरू धेरै हुनु हुन्छ।त्यस माथि कोही विदेश त कोही स्वदेश। एउता कुरा विदेशमा हुने कलाकार ले पनि राष्ट्र झल्काउने खालकै गीत हुन्छन् र राष्ट्र हित कै लागि बनाइएको हुन्छ। कस्तो महसुस को कुरा आयो।महसुस त सारै दुखी महसुस नै हुन्छ किन कि,हामी बाहिर भएर भएर पनि आफ्नो क्षेत्रलाई निरन्तरता दिएका छाै ।  फरक यति नै हो उहाँ हरू नेपालबाट विदेश कार्यक्रममा आउँदा अलि इज्जत हुन्छ हामी दिनकै भेट हुने भएर नि होला यसरी छुट्याइएको । एकदमै सही प्रश्न उठाउनु भो विदेशमा हुने कलाकारलाई हेपिएको छ खासै राष्ट्रिय स्थानमा गनिएको पाइदैन। त्यसमा पनि यस्तो छ नेपालमा हुने कलाकारले हरेक महिना हप्ताको गीत बजार ल्याउन सक्नु हुन्छ हामी प्रदेशमा हुने कलाकार त्यही समयको ख्याल गरी काम गर्दा अलि ढिलै हुन्छ,फेरि स्टुडियो पनि हुँदैन कुनै देशमा। त्यसैले नि प्रदेशि कलाकार भनेको २/४ दिनका हुन भन्ने सोचेर प्रदेशमा रहने कलाकारको कुनै सम्बोधन नभएको जस्तो लाग्छ मेरो बिचारमा।

कोपिला दाहल सुवेदि (गायिका)हाल साईप्रस:रोजगारीको सिलसिलामा होस अथवा आफ्नो परिवार सँग हामी जुन विदेशमा आएर बसेको हुन्छौ अनि विदेशमा कुनै प्रोग्राम आयोजना गर्छौ त्यहीनीर चाहिँ हामी त्यहा बसुन्जेल त्यहीको हुन्छौ ,नेपालको भए पनि र हामी त्यहीकै हुने हुनाले अरू जुन नेपालबाट बोलाइने कलाकार हुनुहुन्छ उहाँहरू भनेको हाम्रो लागि पाहुना हो उहाँहरूलाई नेपाल देखि बिशेषगरी उहाँहरूको प्रस्तुति काे लागि प्रोग्राम आयोजना गरिएको हुन्छ । त्यही भएर पनि आयोजकहरुले हामी लाई स्थानीय भन्नुभएको हुनसक्छ । अर्को कुरा यहाँ आयो राष्ट्रिय कलाकारको कुरा , राष्ट्रिय कलाकार भन्नाले उहाँहरू पनि कलाकार हुनु भयो हामी पनि कलाकार उहाँहरूले पनि गाउनु हुन्छु नाच्नु हुन्छ अभिनय गर्नुहुन्छ । हामीले पनि गाउँछौँ नाच्छौ अभिनय गर्छौ ।कला त एउटै हो पक्कै पनि हो कलामा त छुट्टाईदैन यो राष्ट्रिय कलाकार हो अर्को स्थानीय कलाकार हो भनी । यदि अायाेजकहरुले छुट्टयाउनु हुन्छ भने त्यो सरासर गलत हाे स्थानीय राष्ट्रियस्थरकाे कलाकार भनेर विभेद गर्ने चाहिँ कार्यक्रम अायाेजकहरु अथवा व्यक्तिहरूकाे स्वाभाबमा र उहाँहरूले कलाकारलाई कसरी बुझ्नुभएको हुन्छ उहाँहरूको साेचँ मा भर पर्छ ।

मेरो बिचारमा भन्नू पर्दा हामीले कुनै पनि उद्देश्यले कार्यक्रम गरिएको हुन्छौ त्यसैले उहाँहरू भनेको हामीले निम्तो गरेको पाहुना हो । उहाँहरूलाई विशेष सम्मान गर्नु पर्छ र यही स्थानीय कलाकारहरुलाई पनि आयोजकहरुले सबैलाई सम्मान गर्नुपर्छ । नेपालदेखि ल्याएको कलाकारहरुलाई चाहिँ पाहुना भएर निम्त्याएको हुँदा चाहिँ खासै मलाई चित्त दुख्दैन साथीहरूलाई चित्त दुख्न पनि सक्ला ।