प्रदेश सभा बैठकका लागि प्रदेश-५ मा तयारी तीव्र - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रदेश सभा बैठकका लागि प्रदेश-५ मा तयारी तीव्र



सी.पी. खनाल
बुटवल । २१ माघमा बस्ने प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकका लागि तयारी तीव्र पारिएको छ। व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारी हरि मैनालीको अध्यक्षतामा बनेको स्थानीय टोलीलाई संघीय संसद् सचिवालयको टोलीले सघाइरहेको छ।

 

प्रमुख जिल्ला अधिकारीसहित प्रदेश नम्बर पाँचको प्रदेश प्रमुखको कार्यालयका सचिव सनद दवाडी, संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्याल, डिभिजन भवन कार्यालय बुटवलका डिभिजन इन्जिनियर सुरेश ठाकुरलगायतको टोली प्रदेश सभा बैठकस्थल र सचिवालय तयार पार्न जुटेको छ।

‘हामी संसद् बैठकस्थलको संरचना र स्वरुपको काममा लागेका छौँ, सहसचिव सुरेन्द्र अर्यालले भने, ‘संरचनाकै कामलाई सक्दो छिटो सम्पन्न गर्ने गरी लागेका छौँ।’ अर्याल नेतृत्वको ४ सदस्यीय टोलीले संसद् बैठक बस्ने सभाहल संघीय संसद्को डिजाइनअनुसार नै तयार पार्दै छन्। प्रदेश सभा बैठक बस्ने सभाहलमा सांसद् बस्नका लागि छुट्टै खालको कुर्सी तयार गरिँदै छ।

 

‘स्थानीय व्यवस्थापनको जिम्मा पाएको टोलीले केही पनि संरचना तयार पारेको रहेनछ, अहिले अस्थायी हिसाबले कुर्सीहरु मिलाउनेछौं, निलो रंगका कुर्सी सांसद्हरुका लागि बनाइनेछ, भुइँमा पनि निलै कार्पेट ओछ्याइनेछ, उनले सभाहलको स्वरुपबारे बताए–‘८७ जना सांसद्का लागि निलो कुर्सी रहनेछ र त्यसको ठीक पछाडि छुट्टै क्याबिन बनाएर अरु १०० वटा कुर्सी राखिनेछ, जहाँ विशिष्ट पाहुना, कर्मचारी, पत्रकारका लागि छुट्टाछट्टै व्यवस्था गरिनेछ।’ संसद्‍मा सभामुख बस्ने कुर्सी ल्याइसकिएको छ।

 

रोष्टम पनि तयार पारिँदै छ। रोस्टमकै छेउमा कार्यव्यवस्था परामर्श समिति, संसद सचिवालयको टिम, साउन्ड रेकर्ड, कन्ट्रोल र व्यवस्थापन टोलीको लागि स्थान व्यवस्थापन हुनेछ। यस्तै, सभामुख बैठक कक्षमा प्रवेश गर्नुअघि वेटिङ रुम समेत तयार पारिएको छ।

 

संघीय संसद् सचिवालयले सातवटै प्रदेशको मापदण्ड एकैखालको बनाउन निर्देशन दिएबमोजिम सोहीअनुसारको व्यवस्थापनका लागि जुटेको उनले बताए।त्यसबाहेक प्रदेश सभा हलभन्दा बाहिर सांसद्को हाजिरी, मिडिया सेन्टर, स्वास्थ्य कक्ष, पिजन होलका लागि प्यासेज तयार पारिँदै छ।

 

उनका अनुसार प्रदेश सभा बैठकको गतिविधि सभाहल बाहिर स्क्रिनमार्फत प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइनेछ। यस्तै, पहिलो बैठकको कार्यसूची तयार पार्न छिटै नै सर्वदलीय बैठक बस्ने र सोही अनुसार बैठक अघि बढ्ने सहसचिव अर्यालले बताए।

 

उनका अनुसार दलले तोकेको व्यक्तिसहितको अर्को बैठकले संसद् बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधिको मस्यौदा तयार पार्नेछ। संघीय संसद्को निर्देशनअनुसार तयार हुने सोही कार्यविधिको मस्यौदा प्रदेशसभाको २१ गते बस्ने पहिलो बैठकबाट स्वीकृत हुनेछ।

 

प्रदेश सरकार निर्माण नभएसम्मका लागि शुन्य समय र विशेष समय रहनेछैन। ‘पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलका एकजना प्रतिनिधिलाई बोल्न दिने व्यवस्था भने हुनेछ, सहसचिव अर्यालले भने।