प्रदेश राजधानीका लागि आन्दोलन गर्न आवश्यक छैन  : एमाले उपाध्यक्ष रावल - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रदेश राजधानीका लागि आन्दोलन गर्न आवश्यक छैन  : एमाले उपाध्यक्ष रावल



कैलाली ।। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बुधवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश राजधानीको लागि आन्दोलन गर्न आवश्यक नरहेको बताउनु भएको छ ।

उहाँले राजधानीका लागि विभिन्न स्थानमा भइरहेका आन्दोलन फिर्ता लिन नागरिकलाई आग्रह गर्नुभएको छ । रावलले अहिले मुलुकलाई समृद्धिको पथमा लैजानु पर्ने बेला राजधानी यता कि उता भनेर आन्दोलन गर्न नहुने बताउनुभयो ।

सरकारले अस्थायी रुपमा मात्रै राजधानी तोकेकोले यहि नै अन्तिम निर्णय नहुने रावलले स्पष्ट पार्नुभयो । रावलले सरकारले प्रदेश प्रमुख तोकेर काम अगाडि बढाएको र एमाले अध्यक्ष ओली स्वदेश फर्किएपछि सरकार निर्माण गरेर विकासको काम सुरु गर्ने बताउनु भएको छ ।

यसअघि एमालेका नेताहरुले वर्तमान सरकारले तोकेका प्रदेश प्रमुखहरुबाट सपथ नखाने बताएका बेला नेता रावलले भने सरकारले आफ्नो अधिकार प्रयोग गरी प्रदेश प्रमुख तोकेकोले संविधान अनुसार यिनै प्रदेश प्रमुखबाट सपथ लिने बताउनुभयो ।

सरकारले बुधबार नै प्रदेशको अस्थायी राजधानीसहित प्रदेश प्रमुख तोकेको छ । सरकारले एक नम्बर प्रदेशमा डाक्टर गोविन्द सुब्बा, प्रदेश दुईमा रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनमा अनुराधा कोइराला, प्रदेश चारमा बाबुराम कुँवर, प्रदेश पाँचमा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाप्रसाद खनाल र प्रदेश नम्बर सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ ।

त्यस्तै सरकारले एक नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर, प्रदेश नम्बर दुईको जनकपुर, प्रदेश नम्बर तीनको मकवानपुर, प्रदेश नम्बर चारको पोखरा, प्रदेश नम्बर पाँचको बुटवल, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढी तोकेको छ ।