प्रदेश नं ७ को  पहिलो अधिवेशनको चौथो बैठक २० गते बस्दै - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

प्रदेश नं ७ को  पहिलो अधिवेशनको चौथो बैठक २० गते बस्दै



धनगढी ,कैलाली  । लामो समय देखि अनिश्चित रहेको  प्रदेश नम्बर सातको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक फागुन २० गते बस्ने भएको छ ।

सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन २० गते आइतबार दिउँसो २ बजे अधिवेशनको मिति तोकेको सात नम्बर प्रदेशका संसद सचिवालयका सचिव बालाराम शर्माले बताए ।

बैठकमा उपसभामुख निर्मला जोशी पडाल, सामाजिकमन्त्री समेत रहेका नेकपा (एमाले) का दीर्घबहादुर सोडारी, बलदेव रेग्मी, पूर्णा जोशी, दुर्गा विक, नेकपा माओबादी केन्द्रका अक्कल रावल, नेपालीका काँग्रेसका टेकबहादुर रैका, राष्ट्रिय जनता पार्टीका मालामति रानाको उपस्थिति रहेको थियो ।

फागुन २० गतेको बैठकले नियमावली मस्यौदा र कार्यब्यवस्था परामर्श समिति अनिवार्यरूपमा गठन गर्ने बताइएको छ । यस्तै सोही दिन संसदको बैठकले विभिन्न चारवटा संसदीय समिति गठन गर्ने प्रस्ताव अनुमोदन गर्ने सम्भावना रहेको छ ।

सात नम्बर प्रदेशमा सार्वजनिक लेखा समिति, बिधायन समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समिति गठन हुने सम्भावना रहेको छ ।

सभामुख अर्जुनबहादुर थापाले फागुन २० गतेको बैठकबाट अनुमोदन गर्नुपर्ने प्रस्तावहरू फागुन १९ वा २० गते बिहानसम्म तय हुने बताए । चौथो बैठकमा स्थायी राजधानी र प्रदेशको नाम बारे छलफल नहुने भएको छ ।

सभामुख थापाले राजधानी र प्रदेशको नामबारे अहिले कुनै छलफल नभएको बताए । सात नम्बर प्रदेश सभाका यसअघिका तीनवटा बैठकले सभामुख, उपसभामुख चुन्ने काम गरिसकेको छ ।

यसअघि माघ २१ गते पहिलो, फागुन २९ गते दोस्रो र फागुन ६ गते तेस्रो संसद  बैठक बसे पनि अनिश्चितकालका लागि स्थगित भएको थियो ।