प्रदेश ७ ले भोलि मुख्यमन्त्री पाउने, ग्रहण छल्न शपथ २ दिनपछि - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रदेश ७ ले भोलि मुख्यमन्त्री पाउने, ग्रहण छल्न शपथ २ दिनपछि



धनगढी , कैलाली ।।  प्रदेश नम्बर ७ ले बिहीबार मुख्यमन्त्री पाउने भएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लको अध्यक्षतामा बुधबार भएको छलफलले नेकपा (माओवादी केन्द्र)बाट सिफारिस गरिएका त्रिलोचन भट्टको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय गरेको हो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेश सांसद भट्ट डोटीबाट निर्वाचित भएका हुन् ।

छलफलमा सहभागी माओवादी सांसद वीरमान चौधरीले भोलि (फागुन ३ गते) मुख्यमन्त्री नियुक्त गर्नेे कार्यक्रम तय भएको जानकारी दिए । त्यस्तै उनले फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम पनि तय भएको बताए ।

फागुन ४ गते सूर्यग्रहण लाग्ने हुँदा शुभ साइतलाई मध्यनजर गरी ५ गते शपथ ग्रहण कार्यक्रम तोकिएको बताइएको छ । वाम घटक एमाले र माओवादीले प्रदेश प्रमुख मल्ललाई मुख्यमन्त्री नियुक्तिसम्बन्धी लिखित पत्र बुझाउने बुधबार नै बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्रीको नियुक्तिमा ढिलाई हुन थालेपछि प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसंग छलफल गरेका हुन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार दलसंग प्रदेश प्रमुख मल्लले छलफल गरेका थिए ।

निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । आयोगले माघ ५ गते परिणाम बुझाएको थियो ।

निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र प्रदेश सभामा बहुमतप्राप्त दलको नेता वा दुई वा दुई भन्दा बढी दलको समर्थनप्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कुनै पनि दलको बहुमत नभए वा निर्धारित अवधिमा दलहरुले बहुमत पुर्‍याएको पत्र प्रदेश प्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रदेश नंं. ७ को प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् । साभार :- लोकान्तर