संस्मरण : रेडियो नेपालको चौतारीमा
– प्रदीप नेपाल
२०५१ सालको मङ्सिर महिनामा म नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री भएँ । अहिले मन्त्रालय नै भाँचिने कुचिने भएका छन्, कार्यालयका नाम फेरिएका छन् – तर सूचना तथा सञ्चार मन्त्रालय र त्यस मातहत रहेका कार्यालयहरू यताउता भएका छैनन् । ती मध्यको एउटा कार्यालय हो रेडियो नेपाल ।
रेडियो नेपालको महानिर्देशक हुनुहुन्थ्यो शैलेन्द्रराज शर्मा । काङ्ग्रेसको क्याडर भएको हुनाले उहाँलाई हटाउनु पर्छ भन्ने सुझाव साथीभाइले दिनु भएको थियो । तर पहिलो भेटमै उहाँले मेरो मन जित्नु भयो । आफ्नो प्रस्तुतीकरणमा उहाँले आधाघण्टाको राष्ट्रिय गान र आधा घण्टाको जागरण गानको कार्यक्रम राख्ने प्रस्ताव ल्याउनु भयो । मान्छे फेरेर संस्था चलाउन गाह्रो हुन्छ भन्ने त मेरो सोच त्यतिबेला पनि थियो । म सकभर आफ्नो मातहतका प्रमुखलाई चलाउने मनस्थितिमा थिइनँ । त्यसमाथि शैलेन्द्रजीले त पहिलो भेटमै मन जित्नु भयो । नेकपा (एमाले) को सरकारले रेडियो नेपालबाटै जनताका गीतहरू बजाउने औसर पाएको थियो । यस्तो अवस्थामा उहाँलाई चलाउने कुरो त्यत्तिकै हरायो । शैलेन्द्रजीलाई नै नछोएपछि मैले अरूलाई चलाउने कुरो पनि भएन । म एक्कैचोटि छलाङ परिवर्तनको पक्षमा पनि थिइनँ । रेडियो नेपालले नेपालको शासन फेरिएको सन्देश दिनु पर्छ तर जबरजस्ती होइन भन्ने सोचमा थिएँ म । त्यतिबेला नेपालको सबैभन्दा बलियो सम्प्रेषण केन्द्र रेडियो नेपाल नै थियो । आजको हिसाबले हेर्दा सञ्चार जगत धेरै साँघुरो थियो । अहिलेजस्तो बग्रेल्ती फ्रिक्वेन्सी मोड्युलेसन (एफ.एम), हात हातमा मोबाइल फोन छँदै थिएनन् । त्यसैले रेडियो नेपाल सबैभन्दा शक्तिशाली सम्प्रेषण केन्द्र थियो । नेकपा (एमाले) सरकारले ल्याएको त्यो परिवर्तन रेडियो नेपालबाटै सुनाउन सकियोस् भन्ने योजना बनाइरहेको थिएँ म ।
त्यसैले मैले रेडियो नेपालबाट, चलन चल्तीमा रहेका विभिन्न भाषामा समाचार प्रसारण गर्ने निर्णय गरेँ । सायद सात भाषामा समाचार बजे होलान् । त्यसमा एउटा संस्कृत पनि थियो । संस्कृत समाचार प्रसारण गरे बापत मैले बवाल भोग्नु पऱ्यो । असनमा मेरो पुत्ला जल्यो । जिल्लातिर कार्यक्रममा जाँदा मैले धेरै काला झण्डाहरूको अभिवादन स्वीकार गर्नु पऱ्यो । तर मैले संस्कृत समाचारको प्रसारण रोकिनँ । पछिल्ला दिनमा देखिएका घटनाक्रमहरूले भनिरहेका छन्– संस्कृत रेडियो नेपालबाट अनिवार्य बजाइनु पर्ने, प्रवर्द्धन गर्नु पर्ने भाषा रहेछ । किनभने सम्पूर्ण ज्ञानको श्रोत वेद, त्यसमाथि पनि ऋग्वेद प्रदत्त ज्ञान नै अहिलेसम्मको सबैभन्दा सही, वैज्ञानिक ज्ञान सङ्ग्रह रहेछ भन्ने सत्य नेपालमा पनि बोध हुन थालेको छ । जर्मनी, फ्रान्स, बेलायत जस्ता मुलुकमा दुई सय वर्ष अगाडि नै यो सत्य स्थापित भएको रहेछ । त्यता सँस्कृत विश्वविद्यालयहरू पनि रहेछन् ।
नेपालको पहिलो एफ. एम. रेडियो नेपालले नै आरम्भ गरेको हो । रेडियो नेपालको आवाज देशभरि पुऱ्याउने सपना थियो मेरो । तर मसँग यो एफ. एम. का बारेमा कुनै ज्ञान थिएन । रेडियोको टिमले नै मुलुकका विभिन्न जिल्लामा १०० वाटको एफ. एम. जोड्ने हो भने मेची महाकाली सबैतिर रेडियो नेपाल सुनिन्छ भन्ने ज्ञान पाएपछि मैले फटाफट व्यवस्थापनलाई त्यो काममा लगाएको थिएँ ।
असाध्यै चर्को अविश्वास थियो नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को बीचमा । सजिलै जितिन्छ भन्ने विश्वाससहित गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावको घोषणा गर्नु भएको थियो । जनमत उहाँले सोचेजस्तो हुन सकेन । पहिलो पार्टी भयो नेकपा (एमाले) । त्यसैले सरकार बनाउने अवसर नेकपा एमालेले पाएको थियो । सरकार गठन भएको तीन हप्तामै नेपाली काङ्ग्रेसले हाम्रा विरुद्ध चौतर्फी आक्रमण थाल्यो । उतिबेलाको दूरसञ्चार संस्थाबाट आरम्भ भएको यो विरोध रेडियो नेपालमा पनि छिऱ्यो । मैले दुई जना माथि कारबाहीको कागत उठाउनु पऱ्यो । एक हुनुहुन्थ्यो यज्ञनिधि दाहाल । उतिबेला म जत्तिको चर्को एमाले थिएँ, उहाँ त्यत्तिकै चर्को काङ्ग्रेस हुनु हुन्थ्यो । कृष्ण के.सी.को अवस्था पनि त्यस्तै थियो । तर कृष्ण के.सी.ले सरकारका मन्त्रीहरूलाई जिम्मेवार बनाउने रेडियो कार्यक्रम ल्याउनुभयो – जनता र मन्त्रीबीच दोहोरो कुराकानी गराउने । त्यसपछि सप्रिएको उहाँ र म बीचको मित्रता अहिलेसम्म यथावत छ । यज्ञनिधि दाहालसँगको तिक्तता पनि समयक्रममा हराउँदै गयो ।
वास्तवमा नेपालमा राजनीतिले संवेदना माथि प्रहार गरेको काल थियो त्यो । त्यतिबेलाको राजनीतिक चेतना समाप्त भएपछि आत्मियता सुरु भैहाल्यो ।
मैले पुरुषोत्तम दाहालजीलाई नै रेडियो नेपालको सबैभन्दा लोकप्रिय कार्यक्रम ‘घटना विचार’ लाई निरन्तरता दिनुस् भने । म त्यहाँ जानु अघिसम्म उहाँले त्यो काम चलाइरहनु भएको थियो । उहाँले धन्यवाद सहित ‘आस्थाका कारण आफू उक्त कार्यक्रम चलाउन नसक्ने’ जानकारी गराउनु भयो । नेपाल सरकारले चलाएको रेडियो नेपाल राज्यको साझा सम्पत्ति हुनु पर्थ्यो । तर त्यो भएको थियो रेडियो नेपाली काङ्ग्रेस । म त्यसलाई रेडियो एमाले बनाउन चाहन्नथेँ । जनताले रेडियोबाट हाम्रो कुरो बोलिन थालिएछ भन्ने परिवर्तनको बीउ मात्र रोप्न चाहेको थिएँ । त्यसैले मैले रेडियोको सञ्चालक समितिमा रामेश दाइ र डा. राजेश गौतमलाई ल्याएको थिएँ । त्यो सञ्चालक समितिले नराम्रो केही गरेन, जति गऱ्यो राम्रै काम गऱ्यो भन्ने मलाई अहिले पनि लागिरहेछ । सन्तुलित राजनीतिक नियुक्तिको पहिलो अभ्यासले मन्त्रीको रूपमा मलाई ठूलो सहयोग पुऱ्याएको थियो ।
रेडियो नेपालसँगको एउटा तीतो सम्झना अहिले पनि म भित्र जमेर बसेको छ । शान्ता श्रेष्ठ र रेडियो व्यवस्थापनबीच के झमेला भयो मैले बुझ्न पनि पाएको थिइनँ । एक्कासी शान्ताजी मैदानमा उत्रिनु भो, ‘मन्त्री प्रदीप नेपालले मेरो पैसा खायो’ भन्ने आरोप बोकेर । त्यो बेलाको इमानको राजनीति । पैसा खायो भन्नुको अर्थ भ्रष्टाचार गऱ्यो भन्ने नै थियो । यद्यपि म सञ्चार मन्त्री हुँदा उहाँ रेडियो नेपालबाट बाहिरिइसक्नु भएको थियो । तैपनि मैले हतारहतार शैलेन्द्रराज शर्मालाई मन्त्रालयमा बोलाएर शान्ताजीको आरोपको जाँचबुझ गर्नुस् भनेँ ।
तर उहाँले रुचि देखाउनु भएन । उहाँ बितेर जानु भो । मृतकलाई साक्षी राख्न मिल्दैन । उतिबेला मैले ‘शान्ताजी कस्तो मान्छे हो ? सुझनबुझ बोल्नु हुँदो रहेछ’ भनेर मैले जानकारी मागेँ । शैलेन्द्रजीले ‘उहाँ त्यस्तै मान्छे हो हजुरले एक कानले सुनेर अर्को कानले उडाइदिनु पर्छ’ भनेर कुरा टार्नु भो । मैले पनि उहाँलाई च्यापिनँ ।
अहिले पनि शान्ताजी परपर गर्नु हुन्छ । त्यतिबेला उहाँ सायद काङ्ग्रेस हुनुहुन्थ्यो । पछि उहाँ माओवादी हुनु भयो । हामी बीचको दूरी झन्झन् बढ्दै गयो ।
अरू नियमित कामको चर्चा गर्नु आवश्यक छैन । जति एफ.एम. आए पनि, रेडियो नेपाल, नेपाली सञ्चार क्षेत्रको प्राण हो भन्न मलाई गाह्रो लाग्दैन । म स्वयम् बीस वर्षदेखि सप्तकोशी एफ.एम. को अध्यक्ष छु । तर पनि आफूले नयाँ नयाँ कार्यक्रम थपेको रेडियो नेपाल प्रति मेरो मोह छ । मेरो विश्वास छ ।
मेरो एउटा मात्र चाहना हो – राज्यले रेडियो नेपाललाई नियमित सहयोग गरोस्, तर रेडियो नेपालबाट राजनीति नगरोस् ।
अस्तु ।
२६ फागुन ०७३
काठमाडौँ