निजगढमा प्रभु शाहले प्रचण्ड र विष्णु पौडेललाई र्‍याखर्‍याख्ती पारेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

निजगढमा प्रभु शाहले प्रचण्ड र विष्णु पौडेललाई र्‍याखर्‍याख्ती पारेपछि…



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार निजगढको आमसभामा उपस्थित भए । प्रचण्डले सधैझैं तराईसँग ‘डिप लभ’ परेको भन्दै तराई मधेसको विकास गर्न आफै आन्दोलन गर्न तयार रहेको पनि बताए ।

सोहि कार्यक्रममा उपस्थित नेकपा प्रदेश अध्यक्ष प्रभु शाह पनि उपस्थित थिए । जब प्रभु शाह कार्यक्रममा बोल्न थाले प्रचण्ड र उनीसंग कार्यक्रममा उपस्थित केन्द्रीय नेताहरूको अनुहारको रङ्ग नै फेरियो । शाहले केन्द्रले मधेसलाई सधै हेपेको भन्दै सुरू गरेको भाषणमा दर्जनौँ प्रश्नको वर्षा गरे, कतिपय प्रश्न गर्दा प्रचण्ड मुसुक्क मुस्कुराउँथे त कतिबेला गम्भीर बन्थे ।

प्रदेश नम्बर २ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाबकिताब बाट प्रश्न सुरू गरेका शाहले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित उपस्थित अतिथिहरूमाथि प्रश्नको वर्षा गरे। निरङ्कुश शासन व्यवस्थाविरुद्ध लामो समय सङ्घर्षमा बिताएको जनताको प्रतिनिधिको रूपमा आफू उपस्थित भएको बताउँदै अध्यक्ष साहले यसको अब भरपाई गर्नुपर्ने बताए ।

बाराको निजगढस्थित सहिद हिरालाल रङ्गशालामा नेकपा प्रदेश नम्बर २ कमिटीद्वारा आयोजित राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरूप राखिएको कार्यक्रम निकै रोचक बनेको थियो ।

कार्यक्रममा शाहले भने, ‘पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत उपस्थित मन्त्रीज्यूहरूलाई सोध्न चाहन्छु कि यस प्रदेशको विकासको लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दैछ?, विकासको सम्भावना नै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरूले किन गति लिन सकेको छैन? हामी जवाफ चाहन्छौं।’

‘फास्ट ट्र्याकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने? कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो? म उपप्रधानमन्त्री ईश्वर पोखरलज्यूलाई सोध्न चाहन्छु’ उनले अगाडि प्रश्न गरे, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी प्लेन चढ्ने पनि हो कि कथा मात्र सुन्ने हो? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेस विकासको कस्तो सपना देखाउनुभएको हो? हामीले बुझ्न सकेका छैनौं।’

हुलाकी राजमार्गको चौडाई घटाउने काम भएकोप्रति साहको असन्तुष्टी थियो। ‘कम्तीमा ५० मिटर सडकसीमामा निर्माण गर्नुपर्छ, होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र? म सोध्न चाहन्छु,’ सुनकोसी-मरिन-कमला डाइभर्सनलगायत प्रदेश २ मा जारी राखिएका राष्ट्रिय गौरवका आयोजनाका बारेमा साहले अध्यक्ष दाहाल र सबन्धित मन्त्रीहरूलाई प्रश्न गरेका थिए।

मधेससँग आफ्नो ‘लभ’ परेको पुनः दोहोर्‍याउँदै अध्यक्ष दाहालले निजगढ विमानस्थलको शिलान्यास हुने र फास्ट ट्र्याकमा गुड्ने दिन आइसकेको बताए। हुलाकी राजमार्गको चौडाई नघट्ने तथा पूर्व–पश्चिम रेलमार्गको काम धमाधम भइरहेकाले यही सरकारको कार्यकालमा रेल चढ्न पाइने प्रतिबद्धता जनाए।

‘यदि बेलामा नै ठेकेदारले काम सम्पन्न गरेनन् भने म आफै अनसन बसेर भए पनि काम समयमा नै पूरा गराउँछु,’ अध्यक्ष प्रचण्डको भनाइ थियो। तराई मधेसको विकासका लागि सरकार गम्भीर भएको र वामपन्थीहरूको सरकार बन्नेबितिक्कै काम धमाधम भइरहेको स्मरण गर्न पनि दाहालले आग्रह गरेका थिए।