निकटस्थलाई प्रचण्डको निर्देशन : एमसीसीमा कुरा नमिल्न सक्छ, सरकार छोड्न तयार रहनु ! - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

निकटस्थलाई प्रचण्डको निर्देशन : एमसीसीमा कुरा नमिल्न सक्छ, सरकार छोड्न तयार रहनु !



एमसीसीका विषयमा सत्ता गठबन्धनमा आज निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसी पास गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका शीर्ष नेताहरूबीच आज दिउँसो ३ बजे छलफल हुने भएको छ । उत्त छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ ।

प्रधानमन्त्री देउवाले यसअघि बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका थिए । तर गठबन्धनमा रहेका दलहरुले स्वीकार नगर्दा जसरी नि एमसीसी टेबल गर्ने देउवाको योजना सफल हुन सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बिहीवार बिहानैदेखि नेताहरूको आउजाउ बाक्लो छ । प्रचण्डले एमसीसी टेबल गर्न आफ्नो सहमति नरहेको र कुरा नमिले सरकार छोड्नुपर्ने हुनाले तयार हुन आग्रहसमेत गरेका छन् ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जोरजबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । अर्को दल एकीकृत समाजवादीले भने कुनै ठोस निर्णय गरेन संशोधनपछि मात्रै पारित गर्नुपर्ने उसको अडान भने कायम रह्यो ।

प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका थिए । त्यसक्रममा उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पार्टीका अधिकांश नेता तथा कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लैले निर्णय गर्न नसक्ने प्रचण्डले देउवालाई बताए थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्ने प्रयास गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने प्रचण्डको सो प्रस्तावमा सहमत जनाएनन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने तर्क गरेका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दल नै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाई थियो । त्यस्पछि गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गर्ने देउवाको प्रस्तावलाई प्रचण्डले सहमत जनाएका थिए ।